अध्ययन अनुसन्धानबाट हिमतालहरू फुटेर नेपालमा अकल्पनीय क्षति हुनसक्ने जोखिम देखिएकै बेला सरकारको ध्यान भने विश्वकै प्राचीनमध्येको एउटा किराँत संस्कृतिमा पवित्र मानिने ‘खुवालुङ’ फुटाएर पहाडी नदीमा ‘पानीजहाज’ चलाउनमा केन्द्रित भएको छ । विज्ञका अनुसार दोलखाको च्छोरोल्पा, सोलुखुम्बुको इम्जा र मनाङको ठुलागीलगायतका विभिन्न हिमताल कुनै पनि बेला फुट्न सक्ने जोखिममा छन् ।
संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडीपी) र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय केन्द्र (इसिमोड)ले गरेको अध्ययनमा कोसी, नारायणी र कर्णाली जलाधारका हिमशृंखलामा पर्ने ४७ वटा हिमताल फुट्ने जोखिममा देखिएका छन् । तीमध्येमा २१ वटा नेपालमा, एउटा भारतमा र २५ वटा चीनमा पर्छन् । त्यस्ता हिमताल फुटे भने नदी किनारका भौतिक संरचना र बस्तीमा ठूलो जनधनको क्षति हुनसक्छ ।
सार्वजनिक भएको जानकारीअनुसार अति जोखिममा रहेको भए पनि मनाङमा पर्ने ठुलागी हिमतालमा सूचना प्रणालीसम्म पनि जडान गरिएको छैन । दोलखाको च्छोरोल्पा, सोलुखुम्बुको इम्जामा भने तालको अवस्थाको जानकारी दिने सूचना प्रणालीसम्म जडान गरिएको छ । यस्तो सूचना प्रणालीबाट तालमा हुने हलचल र जोखिमको जानकारी पाइने हुनाले जनधनको क्षति कम गर्न सकिन्छ ।
एकातिर मर्स्याङ्दी नदीमा जलविद्युत् आयोजना निर्माण गर्ने होड नै लागेजस्तो छ भने अर्कातिर ठुलागीको हिमताल अकस्मात फुट्यो भने बनिसकेकै संरचना बाढीको जोखिममा परेका छन् । केही वर्षयता ठुलागी हिमतालमा पानी अत्यास लाग्दो गतिमा बढ्दै गएको बताइएको छ । यसरी पानी बढ्दै गए तालले चाप धान्न नसकी हिमताल फुटेर हालै भारतको उत्तराखण्डको धौली गङ्गामा आएजस्तै बाढी आउनसक्छ ।
खुवालुङ फुटाइयो भने सांस्कृतिक सम्पदाको अपरणीय क्षति हुन्छ नै नदीको बहाव पनि पक्कै प्रभावित प्रभावित हुन्छ । यसैबाट हुने क्षतिको अहिले अनुमान पनि लगाउन सकिँदैन । उता हिमताल फुटेमा सम्बन्धित जलाधार क्षेत्रमा पर्ने भौतिक संरचना र मानव बस्तीमा बाढीले ताण्डव मच्चाउने सहजै अनुमान गर्न सकिन्छ ।
विश्व तापमानमा भएको वृद्धिका कारण हिउँ पग्लन रोक्न नसकिएला तर अन्तर्राष्ट्रिय सहयोगसमेत जुटाएर हिमताल फुट्दा हुने जोखिम कम गर्न भने सकिन्छ । यसैले पवित्र खुवालुङ फुटाउन होइन जोखिमपूर्ण हिमतालहरूको व्यवस्थापन गर्न सरकारले प्राथमिकता दिनुपर्छ । बिस्तारै पहिले नै फुटाएर तालको पानी घटाउर जाेखिम कम गर्दै लैजानेलगायतका उपायहरू अपनाउने र जोखिम क्षेत्रका बासिन्दालाई सावधान गराउने कार्य तत्काल सुरु गर्नु आवश्यक देखिन्छ । जनताको जिउधनको रक्षा गर्ने सरकारको पहिलो काम हो भने जानजान यस्ता समस्याको उपेक्षा गर्नु जनविरोधी अपराध हो ।