दिनहुँ प्रकाशित हुने प्राकृतिक विनाशको समाचारमा धेरैले ध्यानै दिन छाडिसके । कतिपयलाई लाग्दो हो यस्ता विषय वातावरणवादी वा जलवायु परिवर्तनसम्बन्धी अभियन्ताहरूको मात्र चासोको विषय हो । परन्तु, मानव जीवनसँग अभिन्नरूपमा जोडिएका यस्ता विषयहरू वास्तवमा जीवनमरणका सवाल हुन् ।
चैतका उराठलाग्दा दिनमा वनमा न्याउली चरीको विरहलाग्दो स्वरमात्र सुनिदैन वनमा गुराँस पनि फुल्छ । काफल, चुत्रो, गुएँलीजस्ता स्वादिला र गुनिला फल पनि फल्छन् । सबैभन्दा चिन्ताको विषय भने वनमा लाग्ने डँडेलो हुन्छ । डँडेलो निकै विनाशकारी हुन्छ ।
ओखलढुंगाको चिसंखुगढी –४ का केही वन क्षेत्रमा लागेको डढेलो डँडेलाको पछिल्लो घटना डरलाग्दो घटना हो । वन क्षेत्रबाटबाट सुरु भएको डँडेलो बस्तीसम्म आइपुग्दा पनि सुरक्षाकर्मी तथा स्थानीयले रोक्न सकेका छैनन् । पक्कै पनि चुनिबोटेका बासिन्दा त्राहिमाम् भएका होलान् ।
विश्व जलवायु परिवर्तनका कारण नेपालीले नगरेको अपराधको सजाय भोगिरहेका छन् । कतिपय उच्च र मध्य पहाडी क्षेत्रको हावा तातो हुने, पानी सुक्ने र मौसमअनुसारको फल नफल्ने अनि फूल पनि नफुल्ने हुन थालेको छ ।
म्याग्दीको मध्य र पश्चिमी क्षेत्रका वनमा यस वर्ष अहिलेसम्म लालीगुराँस फुलेन भने काफल, चुत्रोजस्ता फल पनि फलेका छैनन् । यसैले चैत लागिसक्ता पनि ऋतुराज वसन्त आएजस्तै भएको छैन । फूल र फलविनाको वन रमाइलो हुँदैन । यसैले वनमा विचरण गर्न जाने आन्तरिक र वाह्य पर्यटकको चहलपहल पनि छैन ।
ओखलढुंगाको वनमा लागेको डँडेलो वा म्यादीका वनमा परेको जलवायु परिवर्तनको दुष्परिणाममा स्थानीय बासिन्दाको दोष भने नगण्य छ । मूलतः विश्व जलवायु परिवर्तनको दुष्प्रभावका रूपमा यस्ता असर संसारभर देखिन थालेका छन् । लाभ प्रदूषकले पाउने तर क्षति प्रदूषण फैलाउन कुनै हात नभएकाले पनि सहनुपर्ने यस प्रकरणमा सबैभन्दा चिन्ता र आक्रोशको विषय हो ।
विश्व तापक्रम बढ्ने कारणमध्येको एउटा हो कार्बन डाइअक्साइडकोे उत्सर्जन । अहिले कार्बन डाइअक्साइड उत्सर्जन गर्ने सबैभन्दा ठूलो मुलुक चीन हो । चीनपछिका तीनवटा ठूला प्रदूषकहरू अमेरिका, युरोपेली संघ र भारतको जोड्दा भन्दा पनि चीनले वायु मण्डलमा बर्सेनि धेरै कार्बन डाइअक्साइड फाल्छ । तर। त्यसको दुष्परिणाम भने संसारले नै भोग्नुपर्छ ।
चीन, अमेरिका, युरोप, भारतलगायतका मुलुकहरूको कथित विकासको होडका कारण नेपालका वनमा चरा कराउन, फूल फुल्न र फल फल्न छाडेको हो । यसको अर्थ तिनले अपनाएको विकासको ढाँचा नै गलत र अरूलाई पनि पिर्ने शैलीको रहेछ भन्ने नै हो । दुर्भाग्य, नेपालका शासक र विज्ञ, विशेषज्ञ भनिनेहरू पनि अझै पनि त्यही आत्मघाती ढाँचाकै विकासको पक्षमा छन् । सम्भवतः चरम भौतिकवादी सोच, अज्ञान, महत्त्वाकांक्षा तथा केही हदसम्म सत्ताको उन्मादले पनि शासकहरूको सोच बिग्रेको हुनुपर्छ ।
प्राकृतिक कमल फुलाउनुको साटो कमलपोखरीमा सिमेन्टको कमल बनाउने काठमाडौं महानगरपालिका प्रमुखको हठ वा किराँत सभ्यताको अमूल्य निधि ‘खुवालुङ’ फोर्ने प्रधानमन्त्रीको हुँकार यस्तै आत्मघाती सोचको उदाहरण हो । यसैले सचेत नेपालीहरूले बेलैमा विवेक प्रयोग नगरे नेपालको सभ्यताका साथै प्रकृति पनि सङ्कटमा पर्नेछ । बेलैमा बुझाैँ !