site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मेलम्चीको पानीले पुग्ला राजधानीवासीलाई ? 

काठमाडौं । लामो प्रतीक्षापछि राजधानीका बासिन्दाले मेलम्चीको पानी उपभोग गर्न पाउने भएका छन् । यसका लागि मेलम्चीको पानी काठमाडौंको सुन्दरीजल झारिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २२ गते मेलम्चीको पानी सुन्दरीजल आयो भन्दै उद्घाटन गरे । अहिले आएको पानी राजधानीका बासिन्दालाई पर्याप्त नहुने देखिए पनि सर्वसाधारणमा भने खुसी छाएको छ । राजधानीका बासिन्दाले मेलम्चीको पानी उपभोग गर्न पाएपछि मात्रै अरू पानीका स्रोत खोजिने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।
 
मेलम्चीको पानीले दुई प्रशोधन केन्द्र भर्न थालियो
मेलम्ची खानेपानी आयोजनाका अनुसार सुन्दरीजलमा साढे आठ–आठ करोड पानी प्रशोधन गर्न सकिने दुईवटा प्रशोधन केन्द्र बनाइएका छन् । आयोजना प्रमुख तिरेशकुमार खत्री केन्द्रको क्षमताअनुसार प्रत्येक दिन पानी प्रशोधन गरी धारामा पठाउन सकिने बताउँछन् । फागुन २८ गते शुक्रबारदेखि प्रशोधन केन्द्रमा पानी खसालिएको उनले बताए । ‘‘प्रशोधन केन्द्र भरिन तीनदेखि चारदिन लाग्छ । भरिएपछि केन्द्रको पानी परीक्षण गरिनेछ । त्यसपछि मात्र पाइपलाइनबाट प्रणालीमा पानी पठाइनेछ,” उनले भने ।

पाइपलाइन परीक्षणका लागि चैत १५ देखि पानी पठाइने
आयोजना प्रमुख खत्रीका अनुसार मेलम्चीको पानी चैत १५ देखि परीक्षणका लागि धारामा पठाइने भएको छ । “परीक्षण अवधि करिब तीन महिना छ । सुन्दरीजलको सुरुङ सफा गर्न वाग्मतीमा पानी पठाएका थियौँ । वाग्मतीमा पठाइएको पानी रोकेर धारामा परीक्षणका लागि पठाउने तयारी गरेका छौं,” उनले भने, ‘‘पहिलो एक साता साढे आठ करोड लिटर पानी पठाइन्छ । त्यसैगरी अर्को साता साढे आठ करोड गरी दैनिक १७ करोड लिटर पानी धारामा पठाइने योजना छ ।” उनले पुरानो पाइपलाइनमार्फत १७ करोड लिटर पानी वितरण हुने जनाए । “चैत अन्तिमदेखि असार अन्तिमसम्म तीन महिनाका लागि १७ करोड लिटर पानी प्रणालीमा पठाएर परीक्षण गर्नेछौं,” उनले भने ।

माग : ४३ करोड लिटर, आपूर्ति १६ करोड लिटर
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का अनुसार राजधानीका बासिन्दालाई करिब ४३ करोड लिटर पानी चाहिन्छ । केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईका अनुसार मेलम्चीको सुरुङबाट उपत्यकाका धारामा निरन्तर पानी आए पनि पुग्नेछैन । ‘‘मेलम्चीको पानीले करिब ४० प्रतिशत माग धान्नेछ । उपत्यकामा प्रतिव्यक्ति सयदेखि १३५ लिटर पानी खपत हुन्छ,” उनले भने, ‘‘वर्षायाममा दैनिक १६ करोड लिटर पानी आपूर्ति भइरहेको छ, भने हिउँदमा करिब नौ करोड लिटर पानी आपूर्ति हुँदै आएको छ । अहिले आउने पानीबाट १७ करोड लिटर पानी थप हुन्छ । यो पहिलाको भन्दा चार गुणा बढी पानी हो ।” 

१२ सय किलोमिटर नयाँ पाइप बिच्छ्याइयो
आयोजना प्रमुख खत्रीले उपत्यकाभर करिब १२ सय किलोमिटर नयाँ पाइप बिछ्याइसकेको बाह्रखरीलाई जानकारी दिए । ‘‘अब करिब १० किलोमिटर पाइप बिच्छ्याउन मात्रै बाँकी छ,” उनले भने । चैत १५ देखि पुरानै पाइपलाइनबाट पानी पठाउने र सँगसँगै नयाँ पाइपको पनि परीक्षण थाल्ने खत्रीले बताए । आयोजनाले एक महिनामा करिब ५० किलोमिटर पाइपको परीक्षणको तयारी गरेको छ । “मेलम्चीबाट आउने पानीको १० प्रतिशत नयाँ पाइप परीक्षणमा लाग्नेछ,” उनले भने, “नयाँ पाइप बिच्छ्याउँदा जमेको फोहोर परीक्षणका क्रममा सफा हुन्छ ।”

दश रिजर्भ ट्यांकीको काम हुँदै
आयोजना प्रमुख खत्रीका अनुसार अहिले उपत्यकाभित्र दश वटा रिजर्भ ट्यांकी बनाउनुपर्ने थियो । “नौवटा ट्यांकीको काम भइरहेको छ,” उनले भने, ‘‘उपत्यकाभरका यी सबै ट्यांकीको क्षमता ६४ हजार घनमिटर छ ।” 

याङ्ग्री र लार्केको पानी ल्याउने प्रक्रिया थाल्छौं : आयोजना
मेलम्चीको पानी आएसँगै आयोजनाले सिन्धुपाल्चोकको याङ्ग्री र लार्के खोलाको पानी उपत्यकामा ल्याउन प्रक्रिया थाल्ने योजना रहेको खत्री बताउँछन् । “मेलम्चीको पानी उपत्यका पुर्याएसँगै याङ्ग्री र लार्केको पानी ल्याउन पहल गर्नेछौं । सहयोगका लागि एसियाली विकास बैंक सकारात्मक छ,” उनले भने, “मेलम्चीको पानी उपत्यकामा आइसकेपछि मात्र हामीले याङ्ग्री र लार्के खोलाबाट १७–१७ गरी ३४ करोड लिटर थप पानी ल्याउने योजना अघि सार्छौं ।”
 
खत्रीका अनुसार मेलम्ची खानेपानी आयोजनाको कुल लागत ३१ अर्ब हो । जसमध्ये अहिलेसम्म २९ अर्ब ५० करोड रुपैयाँ खर्च भइसकेको छ । पानी सुन्दरीजलमा झारेसँगै वितरण गर्ने अन्तिम तयारीमा पुगेको पनि आयोजनाले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १, २०७७  १३:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro