काठमाडौं । वीरगन्जका अविनाश जोशीले दुई वर्षअघि नेपाली सेनाको जागिर छोडे । जोशी राम्रो कमाइ गर्ने आशामा युरोपियन मुलुक क्रोएसिया जाने योजनामा छन् । प्रक्रिया अघि बढिसकेको तर कोभिड–१९ को कारणले अड्केको उनी बताउँछन् ।
सेनामा काम बढी तर तलब थोरै हुँदा परिवार पाल्नै गाह्रो भएकोले सेवा छाड्नुपरेको उनले बताए । जोशी त प्रतिनिधि पात्र मात्रै हुन् । विगतदेखिको तथ्यांक हेर्ने हो भने नेपाली सेनामा सेवा अवधि नपुग्दै जागिर छोड्ने र भागेर जानेको संख्या बढ्दो छ । पछिल्लो तीन वर्षमा एक हजार ८४९ जनाले बीचमै जागिर छाडेको तथ्यांक छ । सैन्य भाषामा उनीहरुलाई ‘भगौडा सैनिक’ भनिन्छ । उनीहरु कसैलाई सूचना नदिई भागेका हुन् ।
सोही अवधिमा चार हजार ९३४ जवान सेवामा आबद्ध भएका छन् । उपदान अर्थात् १० वर्ष सेवा अवधि पूरा गरेर एकमुुष्ट रकम लिएर जानेमा दुई हजार ११४ जना छन् । उनीहरुले पेन्सन पाउँदैनन् ।
सेनामा यसरी जागिर छाड्नुमा तीनवटा प्रमुख कारण देखिएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेल बताउँछन् । उनका अनुसार खोजेअनुसारको सेवा–सुविधा नपाउनु, बाबु–आमाको करबलमा जागिर खानु र विदेशमा राम्रो अवसर पाउने प्रलोभनमा जागिर छाड्ने गरेको दृष्टान्त छन् ।
उनी भन्छन्, “कुनै सिपाहीले जागिर किन छोड्छ, त्यसको सामाजिक, आर्थिक र मनोवैज्ञानिक अध्ययन गर्न जरुरी छ । खालि विदेशको अवसरको लागि छाड्छन् भन्नु उपयुक्त नहोला ।” सिपाहीले जागिर छोड्ने कारणबारे सेनाले बेला–बेलामा अध्ययनसमेत गर्ने गरेको उनले बताए ।
सुरक्षा मामिला विश्लेषक इन्द्र अधिकारी सैनिकले सेवा छोड्ने थुप्रै कारण भएको बताउँछिन् । बाहिर सोचजस्तो सेनाको जागिर आकर्षक नहुनु, सिपाहीदेखि अधिकृत तहको काममा धेरै कठिनाइ हुनुु र कामअनुसार तलब नहुँदा छोड्नेको संख्या बढ्दै गएको उनको भनाइ छ । उनी भन्छिन्, “सिपाहीलाई भुत्ते बनाएर राख्नु भएन । त्यसैले केही न केही काम दिइराख्छन् । अनि, काम गरेअनुुसार तलब हुँदैन । परिवार पाल्न नपुग्ने र परिवारसँग बस्न नपाउने भएपछि छाड्छन् ।”
सेनाको तालिमप्राप्त जवानले विदेशमा आठ घण्टा गार्डको काम गर्दा राम्रो पारिश्रमिक पाउने हुँदा त्यतातर्फ आकर्षण बढेको उनी औँल्याउँछिन् ।
यस्तै, सेनामा तल्लो स्तरका कर्मचारीलाई माथिल्लो स्तरका कर्मचारीले व्यक्तिगत तथा घरायसी काममा लगाउने र उनीहरुको परिवारको समेत सेवा गर्नुपर्ने हिनता बोधका कारण पनि जागिर छाड्ने गरेको विज्ञहरु बताउँछन् ।
एउटा सिपाही तयार पार्न नौ महिना लाग्छ । ती सिपाहीलाई तालिम दिँदा चाहिने खाना, लत्ताकपडा र बन्दोबस्तीका सबै सामान जोड्दा न्यूनतम साढे तीन लाख रुपैयाँ खर्च हुने गरेको छ । सिपाहीले यसरी सेवा छोडी भाग्ने गर्दा देशलाई ठूलो धनराशि क्षति हुने गरेको विज्ञ बताउँछन् ।
अशक्त निवृत्तिभरण, निवृत्तिभरण, उपदान राजीनामा, उमेरहद अवकाश र भगौडा गरी हाल वार्षिक रूपमा करिब पाँच हजारको संख्यामा विभिन्न तहका जनशक्ति सैनिक सेवाबाट बाहिरिने गरेको पछिल्लो तथ्यांकले देखाउँछ ।
पछिल्लो समय सैनिक नियमावली २०६९ संशोधन भएको छ । संशोधित नियमावलीले पेन्सन अवधि १६ वर्षमा सीमित गरेको छ । १८ वर्षकै उमेरमा सेनामा जानेले छिट्टै पेन्सन पकाएर उपदान लिएर विदेश जानेदेखि अन्य काम गर्न सक्छन् । यसले सेनामा भर्नाको संख्या मात्र बढाउने विश्लेषक अधिकारी बताउँछिन् । तर, राज्यको लगानीको हिसाबले भने कुनै फाइदा नहुने उनको बुझाइ छ ।
हाल सेनामा ९२ हजार दरबन्दी रहे पनि कुल सैनिक ८५ हजार हाराहारीमा छन् ।