site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
मण्डलामा ‘अर्को अर्थ नलागेमा’ 
तस्बिरहरु : हरिशजंग क्षेत्री/बाह्रखरी ।

काठमाडौं । मंगलबार साँझ करिब ५ बजेदेखि नै अनामनगरस्थित मण्डला नाटकघरमा चहलपहल बाक्लो थियो । सम्भवतः कोरोनाकालपछि मण्डलामा यति बाक्लो चलहपहल यो नै पहिलो थियो । नाट्यकर्मी सुनील पोखरेल, निशा शर्मा, लेखक/भाषाविद् शरच्चन्द्र वस्ती, साहित्यकार कुमार नगरकोटीलगायत त्यहाँ थिए ।

घडीले साढे ५ बजेको संकेत नगर्दै उपस्थित सबै कालो पर्दा भएको नाटकघरभित्र प्रवेश गरे । साढे ५ बजे दुई भर्‍याङ र त्यसको अघिल्लतिर उभिएका अग्ला टावरजस्ता केही रंगकर्मीहरु कृत्रिम प्रकाशमा देखिए ।

“देशको भविष्य भ्युटावरमा निर्भर छ । देशैभरि भ्युटावर बनेपछि कुनै पनि कुराहरु भुइँबाट हेर्नु पर्दैन । हरेक भ्युटावरमा देश–विदेशबाट पर्यटक ओइरिने छन् । भ्युटावरमा देशको समृद्धि लुकेको छ । यो भ्युटावरको आँखाबाट कोही पनि बच्न सक्दैन,” मञ्चमा उपस्थित एक कलाकार बोले ।

यस्तैमा सिन्धुपाल्चोकका ६२ वर्षीय श्यामलाल देखा पर्छन् । उनी २० वर्षको कलिलो उमेरमा रोजगारीका लागि मुग्लान गएका थिए । २० वर्षपछि आफ्नो जन्मथलो आएका श्यामलाललाई आफ्नै भाइले मृत घोषित गरिदिइसकेका छन् । कारण, सम्पत्ति ।

श्यामलाल जिँउदै छन् । तर, विडम्बना कागजी कुरालाई मात्रै आधार मान्ने हाम्रा सरकारी कार्यालयहरुले श्यामलाललाई आफू ज्यूँदै भएको प्रमाण ल्याउन भन्छन् । श्यामलाल आफू ज्यूँदै भएको कागजी प्रमाण जुटाउन सरकारी कार्यालयदेखि धेरै ठाउँको चक्कर लगाउँछन् । धेरै हन्डर र दुई लाखभन्दा धेरै रुपैयाँ खर्च गरेपछि श्यामलाल आफू ज्यूँदै भएको कागजात लिन सफल हुन्छन् । मण्डला नाटकघरमा मञ्चन भएको ‘अर्को अर्थ नलागेमा’ नाटकको अंश हो यो ।

यसरी एकपछि अर्को प्रसंग जोडिँदै नाटकले गति लिन्छ । करिब १० वटा भिन्न–भिन्न प्रसंग ‘अर्को अर्थ नलागेमा’मा समेटिएको छ । लेखक तथा भाषाविद् शरच्चन्द्र वस्तीको कान्तिपुर दैनिकमा हरेक शनिबार प्रकाशन हुने स्तम्भ ‘अर्को अर्थ नलागेमा’लाई नाट्य रूपान्तरण गरिएको हो । रंगकर्मी/निर्देशक सुनील पोखरेलको परिकल्पना र संयोजन रहेको यस नाटकलाई ‘ज्ञ’का १० जना विद्यार्थीहरुले निर्देशन गरेका हुन् । नवीनचन्द्र अर्याल, सुरज तमू, चन्द्र नेपाली, राज न्यौपाने, जयराम ढकाल, अकिल बजगाईं, आर्जेश रेग्मी, सञ्जीप योगी, निशांश पोखरेल र नीता राई निर्देशनमण्डलमा रहेका छन् । १० जनाले १० छुट्टाछुट्टै अंश निर्देशन गरेका हुन् । उनीहरुसहित ज्ञकै अरु विद्यार्थीहरुले अभिनय गरेका छन् ।

सामाजिक र राजनीतिक उथलपुथललाई कलममार्फत व्यंग्यात्मक शैलीमा उतार्ने शरच्चन्द्रको लेखमा आधारित यस नाटकमा कोरोनाकाल र त्यसपछिको राजनीतिक घटनाक्रम दर्शाइएको छ ।

नाटकबारे यसो भन्छन् वस्ती
स्तम्भकार शरच्चन्द्र वस्ती आफ्नो लेखन नाटकमा हेर्न पाउँदा खुसी देखिन्थे । “एक वर्षदेखि लेखिरहेको कति कुराहरु त आफैँले पनि बिर्सिसकेको थिएँ । आज नाटकमा क्रमबद्ध रूपमा हेर्न पाउँदा एकदम राम्रो लाग्यो । सबैले राम्रो काम गर्नुभएको छ,” उनले भने ।

वि.सं. २०३२/३३ सालतिर उनी ‘अर्को अर्थ नलागेमा’ शीर्षकमा गोरखापत्रमा स्तम्भ लेख्थे । बीचमा धेरै समय उनको यो स्तम्भले निरन्तरता पाएन । गएको वैशाखदेखि भने हरेक शनिबार कान्तिपुरमा यही शीर्षकमा लेख्दै आएका छन् ।

सुनील पोखरेलले वस्तीको यो स्तम्भ सबै पढिरहेका थिए । उनीहरुको चिनजान पनि पुरानै हो । सुनीलले यसलाई नाट्य रूपान्तरण गर्ने प्रस्ताव ल्याउँदा वस्तीले खुसी हुँदै अनुमति दिए । “सुनीलले यसलाई नाट्य रूपान्तरण गर्दा अलि–अलि थपघट वा यताउति गर्नुपर्ने हुन्छ भन्नुभएको थियो,” उनले भने, “मैले उहाँलाई ढुक्क भएर गर्नुहोस् भनेँ । किनभने, मलाई उनको काम–कौशलबारे ज्ञान थियो र पूर्ण विश्वास पनि छ । त्यसैले मैले केही कुरामा पनि रोकतोक गरिनँ ।”

नाटक र लेखन दुवैको आ–आफ्नै गुण हुने भएकाले लेखन र नाटकमा कुन राम्रोभन्दा पनि नाटक नाटककै रूपमा राम्रो भएको उनले बताए ।

यो नाटक चैत ७ गतेसम्म हरेक दिन साँझ ५ः३० बजे मण्डलामा मञ्चन हुँदै छ । शनिबार भने दिउँसो १ बजे पनि मञ्चन हुनेछ ।

रंगकर्मी पोखरेलले यो नाटकले वर्तमान समयको भद्रगोल चित्रण गर्ने बताए । “शरच्चन्द्रजीको स्तम्भले वर्तमानको राजीतिक अस्थिरतालाई समेटेको छ । यो सबै कुरालाई समेटेर हामीले नाटकमा सामाजिक, कोरोनाकाल र राजनीतिक अस्तव्यस्तको चित्रण गरेका छौँ ।”

नाटकका युवा निर्देशकहरु दिग्गज रंगकर्मी पोखरेलसँग सहकार्य गरेर नाटक निर्देशन गर्न पाउँदा खुसी र गौरवान्वित महसुस गरेको बताउँछन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७  १७:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro