site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
पर्यटकीयस्थलमा फोहर व्यवस्थापनको चुनौती

दाङ, फागुन १८ । दाङमा पछिल्लो समय चर्चामा रहेको पर्यटकीयस्थल हो, ज्यामिरे दह । घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दह भएर जान सकिने ज्यामिरे दह घोराही बजारदेखि करिब सात–आठ किलोमिटर टाढा रहेको छ ।

बाह्रकुने दहबाट पैदल हिँडेर त्यहाँ पुग्न सकिन्छ । ज्यामिरे तालमा डुंगा चढ्नदेखि घुमफिरका लागि मानिस जाने गरेका छन् । प्रदेश सरकारले डिभिजन वन कार्यालयमार्फत पहाडमा सिँढी निर्माण र रेलिङको व्यवस्था गरेपछि ज्यामिरे पैदलयात्रादेखि बोटिङसम्मका लागि चर्चामा छ । आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण भइरहेका बेला उक्त ठाउँमा फोहर व्यवस्थापनको समेत चुनौती देखिएको छ ।

Argakhachi Cement Island Ad

बाह्रकुने दह हुँदै ज्यामिरे पुग्ने मानिसले लैजाने प्लास्टिकजन्य फोहरका कारण प्रदूषणसमेत बढेको घुम्न जाने मानिसले बताउने गरेका छन् । उक्त स्थानमा बाटैभरि फोहर बढ्दै गएको ज्यामिरेमा व्यवसाय गर्दै आएकी राधा गिरीले बताइन् ।

दाङको अर्को महत्वपूर्ण धार्मिक पर्यटकीयस्थल घोराही उपमहानगरपालिका–५ स्थित पाण्डवेश्वर महादेव मन्दिर हो । यहाँ ‘विश्वको सबैभन्दा अग्लो’ त्रिशूल हेर्न, घुमफिर गर्न साथै मन्दिरमा पूजापाठका लागि मानिसको दिनहुँ भिड लाग्ने गर्छ । मानिसको आउजाउसँगै चाउचाउ, बिस्कुटलगायतका प्लास्टिकजन्य फोहर तथा पिकनिक खान आउनेहरुले गरेको फोहर व्यवस्थापनमा समस्या हुने गरेको पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले बताए ।

“मन्दिर क्षेत्रमा फोहर नहोस् भनेर सचेतनामूलक बोर्डहरुसँगै ठाउँ–ठाउँमा डस्टबिन राखेका छौँ,” सचिव आचार्यले भने, “त्यही पनि विभिन्न स्थानमा फोहर देखिने गरेको छ ।” मन्दिर क्षेत्रमा सरसफाइका लागि चारजना कर्मचारीहरु समेत राखेको आचार्यले जानकारी दिए ।

लमही नगरपालिका–३ मा स्थित जखेरा तालमा पनि फोहर व्यवस्थापन समस्याका रूपमा रहेको जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानका कार्यालय सचिव सरिता चौधरीले बताइन् । तालमा डुंगा चढ्न आउने, मन्दिर घुम्नेसँगै पिकनिक खान आउने मानिसले जथाभावी रूपमा फोहर फाल्ने गर्ने गरेको उनको भनाइ छ ।

“पर्यटकीयस्थललाई सफा र सुन्दर बनाउनका लागि नियमित सफाइसँगै फोहर राख्नका लागि ड्रमहरु राखिएका छन्,” उनले भनिन्, “तर पनि मानिसहरु चाउचाउ, बिस्कुट, पानीका खाली बोतल फोहर राख्ने ड्रममा नराखेर बाहिरै फाल्ने गरेका छन् ।”

प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७  १०:००
प्रतिक्रिया दिनुहोस्