site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सेयर बजार बढेको हो कि नयाँ कम्पनीले उचालेको हो ‘इन्डेक्स’

काठमाडौं । पछिल्लो समय सेयर बजारमा एकपछि अर्को नयाँ रेकर्ड बनिरहेको छ । कोभिड १९ को कारण २०७६ चैत ११ गतेबाट सरकारले गरेको लकडाउनले गर्दा सेयर बजार लामो समय बन्द हुन पुग्यो । तर लकडाउन ३ महिनाभन्दा बढी समय बन्द भएर असार १५ गतेपछि खुलेको सेयर बजारले कारोबार रकम तथा सूचक दुवैमा नयाँ-नयाँ रेकर्ड बनाइरहेको छ ।

साढे ३ वर्षभन्दा बढी समयको वियरिस ट्रेन्ड अन्त्य गर्दै बुलिस ट्रेन्डमा गएको सेयर बजारमा अहिले कारोबार रकम पनि उच्च भइरहेको देखिन्छ । कोभिडको कारणले लामो समयदेखि बैंकमा कर्जाको माग घट्न पुग्यो जसले गर्दा बैंकिङ प्रणालीमा बढेको तरलताले गर्दा सहज रुपमा सेयर कर्जा पाइनुको साथै घटेको ब्याजदरले गर्दा नै सेयर बजारमा बुल देखिएको हो ।

बजार परिसूचक बढ्दै जाँदा जोखिम पनि बढेको चर्चा चलिरहेको छ । अर्कोतर्फ बजारमा अल्पकालीन लगानीकर्ता रहेकाले उनीहरू बाहिरिने हो भने बजार घट्नेसक्ने तथा बैंकमा तरलता कम हुँदै जाँदा त्यसको प्रभाव पनि हुनसक्ने टिप्पणी भइरहेको छ ।

कतिपयले बजार पुँजीकरणलाई जीडीपीसँग तुलना गरिरहेका छन् । बजार पुँजीकरण यति पुग्यो भनेर विश्लेषण गर्दै गर्दा सीमित प्रतिशत सेयर सर्वसाधारणमा जारी गरेर त्यसैको कारोबार मूल्यका आधारमा गणना भएको बजार पुँजीकरण कति वास्तवित छ त्यो प्रश्न पनि महत्त्वपूर्ण रहेको छ ।

के सेयर बजार उच्च विन्दुमा पुगेकै हो ?

सेयर बजारका जानकारहरू भने अहिले ‘इन्डेक्स’ माथि जानुमा सबै कम्पनीको मूल्य बढेको मान्न तयार छैनन् । बजारमा ठूलो पुँजीकरण भएका भएका कम्पनीहरू नेप्सेमा सूचीकरण भएका छन् भने उनीहरूको सेयर मूल्य लगातार बढिरहेको छ । जसले बजार परिसूचकलाई बुस्ट गरिरहेको छ ।

यसो भन्दैमा नयाँ सूचीकृत कम्पनीले मात्रै बजार मूल्य बढ्यो भन्ने होइन । केही सूचीकृत कम्पनीबाहेक सबै कम्पनीको मूल्य बढेका छन् । यद्यपि सूचीकृत कम्पनीहरूमा केहीको मूल्य रिटर्नको तुलनामा उच्च रहेको देखिन्छ भने केही कम्पनीको मूल्य अझै पनि न्यून नै छ । तसर्थ, लगानीकर्ताले ‘इन्डेक्स’ भन्दा पनि सूचीकृत कम्पनीको आधारभूत पक्ष र वित्तीय अवस्थालाई हेर्न हो भने बजारमा तुलनात्मक रुपमा कम जोखिम भएका कम्पनीहरू प्रशस्त छन् ।

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका पुँजीबजार फोरमका सभापतिसमेत रहेका सेयर लगानीकर्ता अम्बिका पौडेल भने अहिलेको बजार उच्च नभएको बताउँछन् । उनी भने इन्डेक्स होइन कम्पनी हेरेर लगानी गर्नुपर्ने बताउँछन् । “इन्डेक्स नहेरीकन कम्पनी हेरेर आजको मितिमा लगानी गर्दा पनि राम्रो हुन्छ,” उनले बाह्रखरीसँग भने, “इन्डेक्स कति पुग्यो भन्नेभन्दा पनि आफूले खरिद गर्न चाहेको कम्पनी कस्तो छ त्यसको अध्ययन गरेर लगानी गर्नुपर्छ ।”

इन्डेक्स २५/२६ सय हुँदै चार हजार पुग्दा पनि कतिपय कम्पनी किन्न उपयुक्त हुन सक्ने र इन्डेक्स ११ हुँदा पनि कतिपय कम्पनी खरिद गर्न उपयुक्त नहुने उनको बुझाइ छ । कम्पनी छनोट गर्न सक्ने हो भने अझै पनि बजारमा जोखिम कम रहेको उनको दाबी छ । सेयर बजार अहिले पनि सकारात्मक नै भएको उनी बताउँछन् । “इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा साढे १५ लाख लगानीकर्ता आएका छन्, जसको माध्यमबाट देशभर सेयर बजारको पहुँच पुगेको छ,” उनले भने, “बैंक तथा वित्तीय संस्थाले सहज किसिमले कर्जा दिएका छन् भने, बजारमा सबैभन्दा ठूलो हिस्सा रहेको बैंकिङ क्षेत्रको सेयर मूल्य धेरै बढेको छैन भन्ने बढ्ने पर्याप्त सम्भावना छ ।” कोभिडपछि सेयर बजार विश्वव्यापी रुपमा बढेको भन्दै बजारमा राम्रो कम्पनी छान्ने हो भने अहिले पनि लगानी उपयुक्त समय रहेको उनको दाबी छ । 

नयाँ सूचीकृत कम्पनीले बढाउँदै छ सूचक

अम्बिका पौडेल मात्रै नभएर धितोपत्र दलाल व्यवसायी भरत रानाभाट पनि इन्डेक्स नभएर कम्पनी हेरेर लगानी गर्नुपर्ने बताउँछन् । कम्पनी रहेर लगानी गर्ने हो भने अहिलेको बजार उच्च नभएको उनको दाबी छ । उनी इन्डेक्स बढ्यो भन्दैमा सेयर मूल्य माथि गयो भनेर विश्लेषण गर्न नहुने बताउँछन् । नेपाल इन्फ्रास्ट्रक्चर बैंक उदाहाण दिँदै उनले भने, “२० अर्ब पुँजी भएको इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य दिनमा १० प्रतिशतको दरले माथि जाँदा इन्डेक्सलाई नै धेरै प्रभाव पर्छ,” उनले भने, “यस्तै कम्पनी २/४ वटा आउने हो भने अरु सबै कम्पनीको मूल्य घट्दा पनि नयाँ आउने कम्पनीले नै इन्डेक्स बढाउँछ ।” त्यसैले इन्डेक्स हैन कम्पनी हेरेर लगानी गर्नुपर्ने उनको बुझाइ छ ।

अहिले वाणिज्य बैंकको सेयर मूल्यको उदाहारण दिँदै उनी भन्छन्, “वाणिज्य बैंकहरूमा एउटा मात्रै सेयर मूल्य एक हजारमाथि छ,” उनले भने, “नेप्से २०७३ मा १८८१ हुँदा ७० प्रतिशत कम्पनीको सेयर मूल्य एक हजारमाथि थियो तर अहिले ३० प्रतिशत कम्पनीको मात्रै सेयर मूल्य एक हजारमाथि छ ।” इन्डेक्स भनेको औसत भएकाले नयाँ कम्पनी आएर मूल्य बढ्दा बढेको देखिने उनले बताए ।

तर, यसो भन्दैमा सूचीकृत कम्पनीका सेयर मूल्य बढेको छैन भन्ने हैन । नयाँ सूचीकृत कम्पनीसँगै पहिले नै सूचीकृत भएका कम्पनीहरूले पनि बजार परिसूचक बढाउन भूमिका खेलेका छन् । बजार बढ्नु भनेको लगानी पनि बढ्नु हो । नयाँ लगानीकर्ताको प्रवेश विदेशबाट समेत बढ्दो कारोबार तथा कोभिड १९ ले गर्दा व्यापार व्यवसाय प्रभावित हुँदा उनीहरूले समेत लगानीका विकल्पका रुपमा सेयर बजार रोज्न बजार बढ्नुको कारणका रुपमा लिुनपर्ने देखिन्छ ।
अहिलेको बुल बजारमा नयाँ लगानीकर्ता पनि प्रशस्त मात्रामा प्रवेश गरेको धितोपत्र दलाल व्यवसायी रानाभाट बताउँछन् । त्यस्तै कोभिडका कारण अन्य लगानीकर्ता वातावरण असहज हुँदा सेयर बजारमा बढेको लगानीले गर्दा पनि मागसँगै कारोबार रकम बढेको सरोकारवालाको बुझाइ छ ।

त्यति मात्रै नभएर विदेशमा रहेका नेपालीले पनि सेयर बजारमा राम्रो लगानी गरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउँद बताउँछन् । “अहिले कुरा कारोबारमध्ये करिब १५/२० प्रतिशत कारोबार विदेशबाट भइरहेको छ,” उनले भने, “विदेशमा पनि खाडी मुलुकभन्दा कोरिया तथा युरोप र अमेरिकाबाट बढी कारोबार भइरइहेको देखिन्छ ।”

धितोपत्र दलाल व्यवसायी संघका निवर्तमान अध्यक्ष भरत रानाभाट पनि विदेशबाट हुने कारोबार उल्लेख्य बढेको बताउँछन् । अनलाइनकै माध्यबाट कारोबार हुने र सीधै रकम भुक्तानी पनि अनलाइन माध्यमबाटै हुने भएको तथा ब्रोकरमा पनि अनलाइन केवाईसी भर्न सकिने भएकाले अहिले विदेशबाट हुने कारोबार बढेको उनले बताए । 

कतिको दिगो हुनसक्छ अहिलेको बुल

विगतमा हाम्रो बजारमा व्यापार व्यवसाय अवरुद्ध हुँदा अल्पकालीन लगानीकर्ताले बजारमा उतारचढाव गराउने प्रवृत्ति भए पनि अहिले त्यस्तो अवस्था नरहेको दलाल व्यवसायी रानाभाटको दाबी छ । “विगतमा व्यापारी व्यवसायीले केही समयका लागि लगानी गरेर बाहिरिने भए पनि अहिले भने अनलाइन कारोबार गर्न सक्ने भएकाले व्यापार र सेयर बजार दुवैतिरको लगानी व्यवस्थापन गर्न सक्नछन्,” उनले भने, “अहिले उनीहरूले विगतमा जस्तो ब्रोकर अफिस धाउनुपर्ने अवस्था छैन । तत्काल नयाँ लगानीको वातावरण पनि बनेको छैन त्यसैले उनीहरूले गरेको लगानी तत्काल बाहिरिन्छ जस्तो लाग्दैन । उनीहरूले आफ्नो अफिसमै बसेर सेयर बजारमा पनि लगानी गर्न अवस्था छ ।”

अर्कोतर्फ सेयर बजार पारदर्शी बन्दै जाँदा यसबाट भएको कमाइको पाँच प्रतिशत कर तिरेपछि पारदर्शी हुने तथा व्यापार व्यवसायमा रहेको झन्झटिलो अवस्थाले गर्दा पनि उद्योगी व्यवसायीले अहिले गरेको लगानी विगतमा जस्तो बाहिरिने सम्भावना नरहेको रानाभाट बताउँछन् ।

नेपाल पुनर्बिमा र इन्फ्रास्ट्रक्चर बैंकको आईपीओले बढाएको ऊर्जा

पछिल्लो समय नयाँ लगानीकर्ता पनि उल्लेख्य रुपमा प्रवेश गरेको रानाभाट बताउँछन् । ब्रोकर अफिसमा दोस्रो बजार प्रवेश गर्न ‘ट्रेडिङ खाता’ (केवाईसी) भर्नेको मेला नै लागेको देखिन्छ । अनलाइनबाट केवाईसी भर्नेको संख्या पनि त्यतिकै रहेको दलाल व्यवसायी रानाभाट बताउँछन् । “ब्रोकर अफिसमा केवाईसी भर्ने नयाँ लगानीकर्ता र सेयर बजार के रहेछ भनेर बुझन् आउनेको मेला लागेजस्तो भिड हुन्छ,” उनले भने, “नेपाल पुनर्बिमा कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंकजस्ता कम्पनीको आईपीओले पनि सेयर बजारमा छुट्टै ऊर्जा थपेको देखिन्छ ।”

आईपीओ भर्नेको संख्या सँगै दोस्रो बजार प्रवेश गर्ने पनि बढेको उनको बुझाइ छ । नेपाल पुनर्बिमा कम्पनी र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा आवेदन दिने सबैले आईपीओ पाएको र छोटो अवधिमै राम्रो प्रतिफल प्राप्त गर्दा नयाँ लगानीकर्तालाई सेयर बजारमा आकर्षण गरेको उनको बुझाइ छ ।

उनले भनेजस्तै नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ६० कित्ता सेयर पर्ने लगानीकर्ताले १ महिना बितेको केही दिनमै सेयर मूल्य ६६० पुगिसकेको छ । ६ बैंकको सेयरमा ६ हजार लगानी गर्नेले यस अवधिमा साढे ३ हजारभन्दा बढी नाफा बुक गरिसकेको छ । नेपाल पुनर्बिमा कम्पनीको पनि आईपीओ खुलेको ७/८ महिनामै सेयर मूल्य १७/१८ सयसम्म पुग्यो । उक्त कम्पनीको सेयर मूल्य बढेको देखेर सर्वसाधारणमा सेयरबजारप्रतिको आकर्षण बढेको देखिन्छ । नेपाल पुनर्बिमा कम्पनीमा चार लाखको हाराहारीमा रहेको आईपीओ आवेदक नेपाल इन्फ्रास्ट्रक्चर बैंकसम्म आउँदा १५ लाख नाघेका छन् ।

यसरी आईपीओमा लगानी गर्ने लगानीकर्ता विस्तारै दोस्रो बजारमा प्रवेश गर्ने र ऊ नै दोस्रो बजारको लगानीकर्ता बन्ने धितोपत्र दलाल व्यवसायी रानाभाटको दाबी छ । आईपीओमा लगानी गर्ने लगानीकर्ताहरूलाई विस्तारै उक्त सेयर बिक्री गर्न पनि दोस्रो बजार प्रवेश गर्ने र आईपीओबाट भएको नाफाले गर्दा उसलाई थप लगानीतर्फ प्रेरित गरेको उनको बुझाइ छ । उनले भनेजस्तै पछिल्ला दिनमा दोस्रो बजार कारोबारका लागि केवाईसी भर्नेको संख्यासमेत उल्लेख्य बढेको नेप्सका सीईओ साउँद बताउँछन् ।

यसरी बढ्दो लगानीकर्ताको आकर्षण पनि अहिले सेयर बजार बढ्नुको कारण रहेको सेयरलगानीकर्ता पौडेल दाबी गर्छन् । उनको भनाइमा धितोपत्र दलाल व्यवसायी रानाभाट पनि सहमत छन् । “पछिल्लो समय बजारमा नयाँ लगानीकर्ताको प्रवेशसँगै लगानी पनि उल्लेख्य बढेको छ,” उनले भने, “अहिलेको कारोबार रकमले पनि त्यसको पुष्टि गर्छ, अन्यथा पुरानै लगानीले मात्रै दैनिक औसत आठ अर्बमाथिको कारोबार हुन सक्दैन ।”

बैंकहरूको सेयर धितो कर्जामा पनि सहज रुपमा प्रशस्तै मात्रमा कर्जा लगानी गरिरहेको उनी बताउँछन् । “अहिले पनि बैंकहरूले सेयर धितो कर्जाको लागि मान्छे पठाइदिनुपर्‍यो, कर्जा चलाइदिनुपर्‍यो भन्ने गरेका छन्,” उनले बाह्रखरीसँग भने । सहज कर्जा नयाँ लगानीकर्ताको प्रवेश, ठूलो पुँजीसहितका नयाँ कम्पनीको बजार प्रवेश, विदेशबाट समेत भइरहेको कारोबारजस्ता कारण अहिले बजारमा बुल देखिएको हो ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  ०८:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro