काठमाडौं । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीले लोकतन्त्र समाप्त पार्न चुनाव घोषणा गरेको दाबी गरेका छन् । चुनाव त संविधानअनुसार हुने भन्दै संविधान समाप्त पार्न चुनावको प्रपञ्च रचेको बताएका हुन् ।
“हामी चुनाव चाहन्छौं, हरेक राजनीतिक दल लोकतन्त्रमा चुनाव नै चाहन्छन्,” श्रेष्ठले प्रश्न गरे, “आदरणीय जनसमुदाय तपाईंले चाहेको कस्तो चुनाव ? संविधानअनुसारको चुनाव कि संविधान समाप्त पार्ने चुनाव ? लोकतन्त्रको रक्षा गर्ने चुनाव कि लोकतन्त्र ध्वस्त पार्ने चुनाव ?”
उनले ओलीले आफ्नो फाँसिवादी सोचको ढाकछोपका लागि मात्र चुनाव घोषणा गरेको भन्दै त्यसलाई असफल पार्नु हरेक नागरिकको कर्तव्य भएको बताए । प्रतिगमन र फाँसिवादलाई असफल पार्न सबैले आन्दोलन गरिरहेको भन्दै संयुक्त आन्दोलनको प्रयास भने सफल नभइसकेको बताए ।
“कांग्रेस र जसपा पनि प्रतिगमनका विरुद्ध आन्दोलनमै छन् । हामीले उहाँहरुसँग कुरा पनि गरेका छौं तर संयुक्त आन्दोलन घोषणा हुन सकेको छैन,” श्रेष्ठले भने, “संयुक्त आन्दोलन मात्र नभएको हो । कांग्रेसले पनि प्रतिगमनविरुद्ध आन्दोलन गरिरहेको छ । जसपाले पनि आन्दोलन गरिरहेको छ । हामी फाँसिवादलाई असफल पारेर छाड्छौं ।”
उनले जनताको मुद्दामा सरकारलाई हटाउन नसकेपछि समयमा विकल्प दिन नसक्नु आफूहरुको कमजोरी भएको भन्दै जनतासँग माफीसमेत मागेका थिए ।