उमेर १८ वर्ष । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पाएको पदक संख्याः १६ स्वर्ण, ४ रजत र ३ कांस्य ।
कलिलै उमेरमा पाएका यी पदकको संख्याले नेपाली जुडोकी उदीयमान खेलाडी मनिता श्रेष्ठ प्रधानबारे धेरै थोक भन्छन् ।
तर, मनिताको परिचय यत्तिमा सीमित छैन । दक्षिण एसियाली खेलकुद (साग)की पदक विजेता मनिताको नाममा अर्को कीर्तिमान थपिएको छ– ‘एसियन जुडो च्याम्पियनसिप’मा ‘बाउट’ जित्ने पहिलो नेपाली महिला खेलाडी । मनिताले यो उपलब्धि गत जेठमा हङकङमा हासिल गरेकी थिइन् ।
पछिल्लो समय नेपाली महिला जुडोको आलोकमा ओलम्पियन फुपुल्हामु खत्रीपछि सर्वाधिक सुनिने र परिचित नाम पनि हो, मनिता श्रेष्ठ प्रधान । अहिलेको स्थितिमा आउन उनले धेरै उतारचढाव पार गरेकी छन्– केही दुःखद, केही सुखद ।
मनिताको जुडो खेलजीवनको सुरुआत बन्दी सहायता नियोग (प्रिजनर एसिस्टेन मिसन– ‘पाम’)बाट भयो । काठमाडांैको रानीवनस्थित एकलटारमा रहेको गैरनाफामूलक सामाजिक संस्था ‘पाम’ पारिजातले स्थापना गरेकी हुन् ।
हुन त ‘पाम’ जुडो खेलका लागि खोलिएको संस्था भने थिएन । विभिन्न कारणले जेलमा परेका व्यक्तिका सन्तानलाई शिक्षा दिने, हेरचाह गर्ने र समाजमा पुनःस्थापित गराउने काम यो संस्थाले गर्छ । अहिले यो संस्थाले त्यस्ता सन्तानलाई जुडो खेल्न पनि सिकाउँछ । त्यहाँ जुडोका पूर्वखेलाडी तथा प्रशिक्षक सूर्यनारायण श्रेष्ठले जुडो सिकाउँछन् । त्यही संस्थाबाट हांगुम–५ पाँचथरकी मनिताको जुडोयात्रा सुरु भयो ।
“‘पाम’ आएको २–३ वर्षदेखि जुडो खेलेँ । सुरुमा त अनौठो लाग्यो तर पछि खेलमा भिज्दै जाँदा रमाइलो हुन थाल्यो,” मनिताले भनिन्, “अहिले त्यही जुडो मेरो परिचय बनेको छ । नामदाम सबै कमाएकी छु ।” ५७ किलो तौलमुनिको समूहबाट प्रतिस्पर्धा गर्ने मनिता भाइ उत्तमसँगै १० वर्षअघि ‘पाम’ आएकी थिइन् ।
‘पाम’ आउनुअघि मनिता र उनका भाइ आफ्ना बाबुसँगै झापास्थित चन्द्रगढी जेलमा थिए । आमाले छाडेर गए पनि मनिता र उनका भाइ बुबासँगै जेलमा बस्दै थिए । बुबाले के अपराध गरेका हुन्, उनलाई अहिलेसम्म थाहा छैन । तर, आमाले छाडेपछि आफू बुबासँग जेलमा गएको चाहिँ उनलाई याद छ ।
“बुबा जेल जानुभएपछि ममी कता जानुभयो । त्यसपछि बुबासँग जेलमा बस्यौं । पछि बुबाले यता सम्पर्क गरेर हामीलाई पठाउनुभयो । म ८ वर्षकी हुँदा यहाँ (‘पाम’) आएकी हुँ,” मनिताले सम्झिइन् ।
हाल मनिताका बुबा जेलबाट निस्किसकेका छन् । बेलाबेला उनीसँग कुरा हुन्छ । तर, बुबा कहाँ छन्, मनितालाई त्योसमेत अहिले थाहा छैन । किनकि ‘पाम’ नै मनिताका लागि अहिले सबथोक बनेको छ । ‘पाम’को पारिवारिक माहोलले आफ्नो बुबाआमाको याद त्यति धेरै नआउने बताउँदै मनिताले थपिन्, “उहाँहरूले जन्म दिनुभयो, यहाँ हामीले कर्म पाएका छौं ।”
सानै उमेरमा परिवारबाट टाढा हुँदा र आमाबाबुको माया पाउने उमेरमा कुनै संस्थामा आश्रित भएर बाँच्नु पर्दा कसलाई पो दुःख नलाग्दो हो र ! तर, त्यो पीडा भोगे पनि मनिताको बालमस्तिष्कले त्यसलाई पचाउँदै लगेको छ । उनलाई सुरुवातमा त नरमाइलो नै लागेको थियो, ‘पाम’को माहोल । एकै ठाउँमा धेरै मान्छे देख्दा अचम्म लागेको थियो । तर, अहिले यो माहोल केही समयका लागि मात्र छाड्नुपर्दा पनि मनिताको आँखामा आँसु रसाउँछ ।
“यहाँ समयसँगै घुलमिल हुँदै गइयो । अहिले हामी एक परिवार भएर बसेका छाँै । यहाँको माहोल र भाइबहिनीको मायाले आफ्नो परिवारसँग बस्न नपाएकोमा केही पीडा छैन मलाई,” मनिताले थपिन् ।
मनिता कलिलै उमेरमा राष्ट्रिय टोलीबाट खेल्ने खेलाडीका रूपमा छानिएकी हुन् । ८ कक्षामा अध्ययन गर्दा नै उनलाई राष्ट्रिय टोलीबाट खेल्ने अवसर मिल्यो । ‘पाम’ नजिकै रहेको बालविकास माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत मनिताले धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकिन् । पढाइमा समेत अब्बल मनिता छात्रवृत्तिमा पढिरहेकी छन् ।
मनिताले राष्ट्रियस्तरमा ‘नेकोस जुनियर जुडो च्याम्पियनसिप’, ‘सीडब्लूसीएन जुडो च्याम्पियनसिप’ र ‘कनसिन कप क्याडेड जुडो च्याम्पियनसिप’ लगायतका थुप्रै प्रतियोगितामा धेरै स्वर्णपदक हात पारेकी छन् । अन्तर्राष्ट्रियस्तरको ‘आईजेफ दक्षिण एसियाली क्याडेट जुडो’, ‘दक्षिण एसियाली क्याडेट जुडो’ लगायत प्रतियोगितामा पनि पदक जितिसकेकी छन् ।
मनिताले राष्ट्रिय स्तरमा भएका अधिकांश प्रतियोगितामा ‘बेस्ट प्लेयर’ पुरस्कार र स्वर्ण पदक पाउने गरेकी छन् । आफूले खेलेका मध्ये केहीमा मात्र उनी दोस्रो र तेस्रो भएकी छन् ।
मनिताले सन् २०११ बाट पदक जित्न थालेकी हुन् । सन् २००९ बाट जुडो खेल्न सुरु गरेकी मनिताले त्यसको दुई वर्षपछि नै सन् २०११ मा त्रियोग स्कुलद्वारा आयोजित ‘अन्तर स्कुल जुडो च्याम्पियनसिप’मा स्वर्ण ल्याउँदै जुडो खेलमा सुनौलो यात्रा सुरु गरेकी थिइन् । त्यसपछि उनले राष्ट्रिय प्रतियोगितामा आफ्नो तौल समूहमा पछाडि फर्किएर हेर्नु परेको छैन ।
त्यससँगै मनिताले सन् २०१२ मा बंगलादेशको ढाकामा आयोजित ‘दोस्रो साउथ एसियन क्याडेट जुडो च्याम्पियनसिप’मा रजत पदक जित्दै आफू अन्तर्राष्ट्रिय खेलमा पनि अब्बल रहेको प्रमाणित गरेकी थिइन् ।
आफू जुडो खेलमा अगाडि बढ्न र अहिलेको स्थानमा आइपुग्न प्रशिक्षक सूर्यनारायण श्रेष्ठको महत्त्वपूर्ण हात रहेको मान्छिन् उनी । सूर्यकै निगरानीमा जुडो खेल्दै हुर्किएकी मनिता कलिलै उमेरमा सफल खेलाडी बन्न पुगेकी छन् ।
“मेरा प्रशिक्षक सूर्य गुरु र नारायण सर (‘पाम’का सहयोगी, समाजसेवी डा. नारायणकाजी श्रेष्ठ) लगायत सम्पूर्णको मायाले म यहाँसम्म आइपुगेँ,” मनिता भन्छिन्, “यो ठाउँलाई म भगवान् मान्छु । मेरो सफलताको सम्पूर्ण श्रेय सूर्य गुरु, जुडो संघ र अन्य गुरुहरूलाई जान्छ ।”
मनिताले जुडोमा सफल हुन् कम्ता मेहनत गरेकी छैनन् । कहिलेकाहीँ त उनलाई समय मिलाउन निकै गाह्रो पर्छ । मनिता बिहान ५ बजे उठेर राष्ट्रिय टिमको प्रशिक्षणका लागि रंगशाला वा सातदोबाटो पुग्छिन् । प्रशिक्षण सकेर ९ बजे स्कुल आइपुग्छिन् । त्यसपछि पुनः ‘पाम’कै जुडो प्रशिक्षण हल जान्छिन् । समयाभावका कारण उनी खानासमेत क्लासको ब्रेक टाइममा खाने गर्छिन् ।
“पहिलेभन्दा अहिले समय मिलाउन केही समस्या भएको छ । स्कुलमा ठूलो क्लास गएसँगै पढाइलाई पर्याप्त समय दिनुपर्ने भएको छ । त्यससँगै प्रशिक्षणलाई पनि समय दिनुपर्छ,” मनिताले भनिन्, “बिहान ट्रेनिङमा समय बित्छ र दिउँसो स्कुलमा । खानासमेत स्कुलमा खानुपर्छ । मलाई खाना स्कुलमै भाइबहिनीले ल्याइदिन्छन् र ब्रेक टाइममा खान्छु ।”
यस्तो मेहनतको फल मनिताले बिस्तारै पाउँदै गरेकी छन् । यो मेहनतकै कारण दुई वर्षअघि भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग)मा मनिताले रजत पदक जित्न सफल भइन्, जतिबेला उनी केवल १६ वर्षकी थिइन् ।
“मैले सागमा स्वर्ण जित्छु जस्तो लागेको थियो तर रजतमात्र जितें,” मनिताले सम्झिइन्, “गुरुले सधैं जित्नका लागि खेल्नुपर्छ भन्नुहुन्थ्यो । मेरो अन्तर्राष्ट्रिय प्रतियोगितामा खासै राम्रो प्रदर्शन हुन सकेको थिएन । १६ वर्षको उमेरमा सागमा रजतपदक हात पारेपछि गुरु एकदमै खुसी हुनुभएको कुरा भाइबहिनीहरूले सुनाए मलाई । त्यो सुनेर निकै खुसी लाग्यो । स्वर्ण जित्न असफल भएपछि मलाई अझै मेरो खेलमा सुधार गर्नुपर्छ भन्ने थाहा भयो ।”
मनिता साग गेम्समा पदक जित्दा जति खुसी भइन्, त्योभन्दा बढी गत जेठमा हङकङमा सम्पन्न एसियन जुडो च्याम्पियनसिपमा ‘बाउट’ जित्ने पहिलो महिला खेलाडी बन्दा भइन् । च्याम्पियनसिपमा मनिताले महिला ५७ किलो तौलमुनिको समूहमा आयोजक राष्ट्रकी के क्वोकलाई पराजित गर्दै यो ऐतिहासिक उपलब्धि हात पारेकी हुन् ।
“पहिलो खेल जितेँ । यो ऐतिहासिक थियो भन्ने थाहा थिएन,” आफ्नो जितबारे उनले भनिन्, “दोस्रो खेल हारेपछि गुरुहरूले तिमी नेपालबाट महिलामा पहिलोपटक कुनै ‘बाउट’ जित्ने पहिलो बन्यौ भन्नुभयो । मलाई पत्यार लागेको थिएन तर सबैखाले पत्रपत्रिकामा आएपछि एकदमै खुसी लाग्यो । गुरुहरू पनि खुसी हुनुभएको देखेँ ।”
पहिलो चरणमा जित हात पारेकी मनिता अर्को चरणमा भने मंगोलियन खेलाडी एस दोर्जसुरेनसँग पराजित भइन् । तर, मनिताको यो जित नेपाली खेलाडीले एसियन च्याम्पयनसिपमा ‘बाउट’ हासिल गरेको २९ वर्षयताको पहिलो कीर्तिमान थियो । यसअघि सन् १९८८ मा ऋषिराम प्रधानले सिरियामा भएको च्याम्पियनसिपमा मकाउका खेलाडीलाई हराएका थिए ।
अब मनिताको लक्ष्य एसियाली खेलकुद (एसियाड)मा पदक जित्नु र ओलम्पिक खेल्नु छ, जसका लागि उनले आफ्नो मेहनत जारी राखेकी छन् । हङकङमा सम्पन्न एसियन जुडो च्याम्पियनसिपमा एक ‘बाउट’ जितेर बनाएको कीर्तिमानले उनलाई ऊर्जा थपिदिएको छ ।
“मेरो लक्ष्य ओलम्पिक खेल्ने हो । एसियाडमा समेत पदक जित्ने लक्ष्य लिएकी छु,” मनिताले भनिन्, “यसका लागि मैले अहिलेबाटै मेहनत गर्दै छु । गुरुहरू सबैले मेहनत गरिरहनुभएको छ । सबैको मेहनत खेर जान दिन्नँ ।”
तर, मनितालाई नेपालमा राम्रो प्रशिक्षण केन्द्र र खेल सामग्री नभएकोमा चिन्ता छ । भन्छिन्, “मेहनत गरे पदक जित्नु ठूलो कुरा हैन तर हाम्रोमा राम्रो प्रशिक्षण हल छैन । हामीसँग राम्रा खेल सामग्री छैनन् । त्यो उपलब्ध भए हामीलाई सहज हुने थियो ।”