काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आयोजना गर्ने एनएनआईपीए स्पोर्ट्स अवार्ड आउँदो फागुन ८ गते हुने भएको छ ।
एनएनआईपीएले मंगलबार पत्रकार सम्मेलन गरेर मध्यपुर ठिमी नगरपालिकामा अवार्ड कार्यक्रम आयोजना गर्ने जनाएको हो । एनएनआईपीएका अध्यक्ष दीपक श्रेष्ठले अवार्ड मध्यपुर ठिमी नगरपालिकामा हुन लागेको बताए ।
संघले यसपटक ‘राइजिङ प्लेयर अफ दी इयर’ अवार्ड विधा थप गरिएको बताएको छ । यस विधालाई स्काई ब्रान्डले प्रायोजन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । जनही ५० हजार रुपैयाँ पुरस्कार राशिको विधाबाट एक महिला र पुरुष खेलाडी सम्मानित हुने बताइएको छ ।
गत वर्ष खेलाडीले गरेको प्रदर्शनका आधारमा सम्बन्धित संघले गरेको सिफारिसका आधारमा विभिन्न खेलका खेलाडीलाई एनएनआईपीए वर्षको उत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित गरिँदै आएको छ ।
यसअघि, संघले भक्तपुर, टोखा, पाटन, वसन्तपुरमा स्थानीय निकायको सहयोगमा अवार्डको आयोजना गरिसकेको छ । सम्मानित खेलाडीले जनही १० हजार रुपैयाँ प्राप्त गर्दै आएका छन् । सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीलाई जनही एक लाख रुपैयाँसहित संघले सम्मान गर्दै आएको छ । अवार्डमा १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा समावेश भएका खेलाडीलाई समावेश गरिएको आयोजक खेलाडी संघले जनाएको छ ।
संघको सिफारिस उत्कृष्ट घोषित हुने खेलाडीबाहेक अन्य विधाको विजेताका छनोट दीपक विष्ट संयोजकत्वको छनोट समितिले चयन गर्ने आयोजक संस्थाले जनाएको छ । एनएनआईपीएले अवार्ड कार्यक्रममा एकजना खेलकर्मीलाई गजराज जोशी आदर्श खेलाडी र एकजना खेल पत्रकार वा फोटो पत्रकारलाई एनएनआईपीए खेल पत्रकारिताबाट पुरस्कार प्रदान गर्दै आएको छ ।