
काठमाडौं । सरकारले हालै सिकाइ निरन्तरता अभियान सुरु गरेको छ । दुई महिनाअघि नै अभियान उद्घाटन गर्ने भनिए पनि विविध कारणले स्थगित भएको थियो । कोभिड १९ को महामारीबीच १० महिनापछि उपत्यकाका विद्यालय भौतिक रुपमै सञ्चालनमा आएका छन् । उपत्यकाबाहिर भने ७ महिनापछि विद्यालय खुल्ने र बन्द हुने क्रम चलेको थियो । अहिले भने अभियानले निरन्तरता पाएको अभियानका संयोजक टीकाराम खतिवडाले बताए ।
यसबीच सरकाले सिकाइ सहजीकरणका लागि विभिन्न निर्देशिका पनि जारी गर्यो । वैकल्पिक सिकाइ निर्देशिका जारी गर्दै अनलाइन माध्यममा पढाइने विधिलाई पनि मान्यता दियो । तर, अनलाइन माध्यममा जम्मा २२ प्रतिशत विद्यार्थी मात्र सहभागी हुन सकेको युनिसेफले सन् २०२० अक्टोबरमा गरेको सर्वेक्षण मन्त्रालयकै कार्यक्रममा प्रस्तुत गरेको थियो ।
सरकारले पाँचवटा माध्यमबाट पढाउन सकिने भनेर निर्देशिका जारी गरे पनि अभियानले ११ वटा पढाइका ढाँचा निर्माण गरेको छ । जसमा अनलाइनमा आधारित शिक्षा, टेलिभिजनमा आधारित शिक्षा, रेडियोमा आधारित, टोल समुदायमा आधारित शिक्षण, टेलिफोनमा आधारित शिक्षा, स्वअध्ययन सामग्री, अपांगताका भएका विद्यार्थीका लागि शिक्षा, अभिभावक शिक्षा, सिकाइ सहयोगका लागि अभिभावक संगठन, वैकल्पिक शिक्षासम्बन्धी कार्यढाँचा र वैकल्पिक सिकाइको मूल्यांकन ढाँचा छन् । ११ वटा माध्यममा पढाइने भनिए पनि टेलिफोनबाट पढाइने माध्यमलाई बढी जोड दिइएको छ । यसका लागि अभियानका तर्फबाट एक लाख र गाउँपालिकाका तर्फबाट एक लाख रुपैयाँ खर्च गरी कल सेन्टर बनाउने तयारीमा सरकार छ ।
नेपाल शिक्षक महासंघ, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघलगायत संस्थाको सहकार्यमा संयुक्त राष्ट्रसंघीय बाल विकास कोष (युनिसेफ) र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको समन्वयमा अभियान सुरु भएको हो ।
"अभियानले शैक्षिक सत्र सफल पार्न र विद्यार्थीको पढाइको गुणस्तर वृद्धि गर्न ठूलो भूमिका खेल्ने पक्का छ," शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीले भने ।
अवैज्ञानिक कार्यढाँचा
११ वटा माध्यममा पढाउने भने पनि कार्यढाँचामा क्रियाकलापहरु सबै टेलिफोनमा आधारित बनाइएको छ । पूर्व प्राथमिक कक्षादेखि कक्षा ८ सम्मलाई टेलिफोनको माध्यमबाट पढाउन र गराउन सकिने क्रियाकलाप कार्यढाँचामा उल्लेख छ । विशेषगरी बाल विकासको कक्षादेखि कक्षा ८ सम्मका चारवटा विषय विज्ञान, नेपाली, गणित र सामाजिक विषयमा क्रियाकलापहरु तयार पारिएका छन् । बाल विकास कक्षाका बालबालिकालाई कार्यढाँचामा स-साना ढुंगा, सिसी, मकैका दाना, छेस्का, पात पतिङ्गरलगायत बटुल्न, पत्रिका च्यातेर परिवारको आकृति बन्नेगरी कापीमा टाँस्न लगाउने बताइएको छ ।
अभिभावकले नै धेरै अभ्यास गराउनुपर्ने यस्ता सिकाइ सिकाउन अभिभावक तयार होलान् ? मुख्य प्रश्न हो । कक्षा १ का विद्यार्थीलाई टेलिफोनबाट नेपाली, अंग्रेजी, गणित र सामाजिक विषय पढाउन कार्यढाँचामा पाठ्यक्रम र पाठ्यक्रम सम्बन्धित क्रियाकलाप तोकिएको छ । यो पनि वैज्ञानिक देखिँदैन । चन्द्रविन्दु, शिरविन्दु, अंग्रेजीमा प्रश्न सोध्ने र गणितका त्रिभुज र चतुर्भुजजस्ता कुरा फोनमा भनेकै आधारमा विद्यार्थीले सिक्न सक्दैनन् । प्रत्यक्ष रुपमा कक्षा पढाउँदा त कठिन हुने यी विषयहरु फोनमा कसरी सम्भव होला ? तर अभियानका संयोजक टीकाराम खतिवडा शिक्षकले अभिभावकलाई सिकाउने र अभिभावकले बालबालिकालाई सिकाउने माध्यमबाट टेलिफोन सिकाइ प्रभावकारी हुने दाबी गर्छन् । भन्छन्, “यो उत्तम उपाय त होइन, तर केही नहुनुभन्दा यो पनि ठीक हो । यो सरकारकै पाठशाला सीयूजीको बृहत्तर रुप हो ।”
यस्तै, कक्षा २ देखि ५ सम्मको पाठ्यक्रमसम्बन्धी क्रियाकलाप हेर्दा विद्यार्थी आफैंले सिक्न सक्ने देखिँदैन । अभिभावकले विद्यार्थीलाई सिकाउन अभिभावक एक त साक्षर हुनुपर्यो, दोस्रो अभिभावकसँग समय चाहियो । सरकारी आँकडामा १५ देखि ६० उमेरका मानिसको साक्षरता प्रतिशत ९५ प्रतिशत नाघे पनि व्यवहारमा नभएको विज्ञले बताउँदै आएका छन् । अभिभावकमा निर्भर टेलिफोन पढाइ अभिभावकले नमाने के हुन्छ ? यसको चित्त बुझ्दो जवाफ न त केन्द्रसँग छ, न त महासंघसँग नै ।
अभिभावकमा निर्भर पढाइ
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष कृष्ण थापाले सामुदायिक विद्यालयका अभिभावक कमजोर आर्थिक अवस्थाका भएकाले केटाकेटीको पढाइमा कमै ध्यान जाने गरको स्वीकार्छन् । उनी भन्छन्, “अभिभावकमा विद्यालय व्यवस्थापनबारे ज्ञान कम छ । केटाकेटीको पढाइ कमै प्राथमिकतामा पढ्छ ।” अभिभावकलाई जागरुक बनाएर अभियान सफल बनाउन स्थानीय तह र विद्यालय बढी जिम्मेवार हुनुपर्ने उनको धारणा छ ।
४० प्रतिशतभन्दा बढी मानिस नेपालमा गरिबीका रेखामुनि छन् । सामुदायिक विद्यालयमा अधिकांश पढ्ने विद्यार्थी न्यून आए भएका, ज्याला मजदुरी गरेर पेट पाल्ने, अर्काका घरमा बालश्रमिक भई काम गर्ने विद्यार्थीको जमात बढी छ ।
नामका लागि मात्र विद्यालय पठाउने अभिभावक धेरै छन् । पेट पाल्नकै चिन्ता भएका अभिभावकलाई छोराछोरीको पढाइको चिन्ता लिन कतिबेला भ्याउनु ? पछिल्लो सरकारी तथ्यांकअनुसार ५ देखि ९ वर्ष उमेर समूहका करिब ९१ हजार बालबालिकाहरु विद्यालयबाहिर छन् । सामान्य दिनमा त विद्यार्थीले विद्यालय छाड्ने दर बढेकामा कोभिडको १९ को प्रकोपसँग शैक्षिक सत्र सुरु नहुनु र भर्ना अभियान पनि नहुनुले लकडाउनमा धेरै विद्यार्थीले विद्यालय छाडेको सरोकारवालाहरु बताउँछन् ।
बहुसूचक सर्वेक्षण, २०१९ अनुसार नेपालका ९६.२ प्रतिशत घरधुरीमा टेलिफोनको पहुँच रहेको हुँदा वैकल्पिक शिक्षामा पहुँच तथा प्रभावकारी बनाउन टेलिफोनमा आधारित शिक्षण सिकाइ महत्त्वपूर्ण हुने कुरा ‘टेलिफोनमा आधारित शिक्षण सिकाई’मा उल्लेख छ । साथै दैलेखका केही पालिकामा प्रभावकारी रूपमा प्रयोग हुँदै आएको बताइएको छ । तर, प्रभावकारी हुनेमा शंका व्यक्त गर्छन् विज्ञहरु नै ।
चारवटा प्रदेशमा मात्रै अभियान सीमित
कार्यढाँचामा टेलिफोनमार्फत शिक्षण सिकाइ, टेलिफोनमार्फत शिक्षण सिकाइ, टेलिफोन कार्यशाला गरी शिक्षण सिकाइ र मोबाइल मिसकलमा आधारित शिक्षण सिकाइ छन् । शिक्षकले पहिला अभिभावकलाई र अभिभावकले बच्चालाई पढाउने कार्यढाँचामा उल्लेख छ । यस्तै शिक्षकले पहिला पाँचजना अभिभावकलाई पढाउने अनि ती पाँच अभिभावकले सिकिसकेपछि अन्य पाँच जनालाई पढाउने बताइएको छ ।
क्रियाकलापहरु नेपाल सरकारले बनाएको पाठ्यक्रममा आधारित छ । अहिले चारवटा प्रदेशहरु लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र प्रदेश २ का मुख्यगरी २० वटा गाउँपालिका तथा नगरपालिकाकालाई ध्यान केन्द्रित गरी अभियान सञ्चालन गर्न लागिएको छ ।
सरकारले नि:शुल्क सिमकार्ड बाँडेर पाठशाला सीयूजी सुरु गरेकाले त्यसैको विस्तृत रुप टेलिफोनमा आधारित शिक्षण सिकाइ हो । पाठशाला सीयूजीमा जम्म ४३ विद्यालय मात्रै आबद्ध भएको अवस्थामा टेलिफोनमा आधारित पढाइ कसरी होला ? तर, शिक्षक महासंघ र सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नै सहकार्यमा लागेकाले अभियान प्रभावकारी हुने संयोजक खतिवडाको तर्क छ ।
यस्तै, केन्द्रले टेलिफोन पढाइका लागि टोल फ्री नम्बर नेपाल टेलिकमसँग छिटो लिने तयारीमा लागेको छ । यो साताभित्रै नम्बर पाउने अपेक्षा संयोजक खतिवडाले राखेका छन् । १७ माघसम्म प्रदेशमा कल सेन्टर राख्ने र त्यो चलाउन फोकल पर्सन राखिने भएको छ । एकपटकमा कल सेन्टरमा दुईजनाले फोन गर्न मिल्छ । पाँच मिनेटसम्म कुरा गरेपछि फोन काटिन्छ । पुन: फोन गर्नुपर्छ । प्रदेशमा फोन नलागे केन्द्रमा फोन जाने व्यवस्था गरिएको छ । बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म कल सेन्टरमा फोन गर्न मिल्छ । अभियान वैशाख ०७८ सम्म चल्नेछ ।
यो अभियान अनलाइनमा जोड्न नसकिएको ७८ प्रतिशत विद्यार्थीका लागि हो । अभियान चरम गरिबीमा रहेका र सामान्य रेडियो र टेलिभिजन नभएका विद्यार्थीका लागि हो ।