site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘हतारमा स्कुल किन खोल्ने ?’

काठमाडौं । कोभिड रोकथामसम्बन्धी उच्चस्तरीय निर्देशक समिति (सीसीएमसी) ले चैतदेखि बन्द भएको विद्यालय खोल्न निर्देशन दिएसँगै कोभिड संक्रमणका बीच बालबालिकालाई विद्यालय पठाउने कि नपठाउने भन्नेमा अभिभावक अलमलमा छन् ।

काठमाडौं उपत्यका कोभिडको लागि रेड जोन अर्थात् अति प्रभावित क्षेत्र भएकाले असोज १ मा शिक्षा मन्त्रालयले विद्यालय सञ्चालन कार्यढाँचा सार्वजनिक गरे पनि यहाँ विद्यालय खुल्न सकेका थिएनन् । एक त जाडो महिना, त्यसमाथि प्रदूषणले वातावरण बिग्रिएका बेला १० महिनापछि विद्यालय खोल्न सरकारलाई कस्तो बाध्यता पर्‍यो बुझ्न नसकेको अभिभावक संघका अध्यक्ष केशव पुरी बताउँछन् ।

सबै परिस्थितिको आकलन गरेर माघ १५ गतेपछि विद्यालय खोल्नु ठीक हुने उनको भनाइ छ । “कोभिड सकिएको छैन । स्वास्थ्य मन्त्रालयले कोभिड सक्यो भनेर कुनै विज्ञप्ति निकालेको छैन । बेलायतमा कोभिडको दोस्रो लहर सुरु भयो भनेर हवाईजहाज रोक्ने काम हामीकहाँ नै भयो । सीसीएमसीले कुन आधारमा विद्यालय खोल्न आदेश दियो बुझ्‍न सकिएन,” उनले भने ।

उच्च माध्यमिक र विश्वविद्यालय खुलाउँदा हुने तर साना बालबालिकालाई विद्यालय पठाउने वातावरण नभएको उनले बताए । तर, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख एवं वरिष्ठ जनस्वास्थ्यविद् बाबुराम मरासिनी भने फरक मत राख्छन् । उनले भारतमा संक्रमितको दर कम र नेपालमा पनि पछिल्लो समय संक्रमितको दर घटेकोले विद्यालय खोल्न उपयुक्त हुने बताए । “टेस्टको संख्या बढाउनुका साथै स्वास्थ्यको मापदण्ड पूरा गरी संक्रमित न्यून भएको ठाउँमा विद्यालय खोल्दा हुन्छ,” उनले भने ।

तर, अवस्था सहज नरहेको त्रिवि शिक्षण अस्पतालका श्वासप्रश्वास तथा छाती विशेषज्ञ डा. नीरज बम बताउँछन् । उनले सीसीएमसीले विद्यालय खोल्नभन्दा आफू पनि अचम्मित भएको भन्दै अझै पनि सरकारी अस्पतालका आईसीयू भरिभराउ नै रहेको बताए । उनी भन्छन्, “नयाँ खालको कोरोना भाइरसको कुरा आएको छ । लक्षण भएकालाई मात्र जाँचेर कोरोना छैन भन्न मिल्दैन । सबैलाई जाँच्नुपर्‍यो । हतारमा स्कुल किन खोल्ने ?”

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले सीसीएमसी मन्त्रालयभन्दा माथि रहेकाले उसले गरेको निर्णयमा प्रश्न गर्न नमिल्ने भन्दै ‘आफ्नो व्यक्तिगत मत राख्न नमिल्ने’ प्रतिक्रिया दिए । उनले सीसीएमसी सरकारले गठन गरेको र विभिन्न विषयका विज्ञहरु त्यसमा रहेकाले सबै कुरा बुझेर नै विद्यालय खोल्न निर्देशन दिएको होला भन्दै निर्णयको बचाऊ पनि गरे ।

१० महिनासम्म मन्त्रालयले पाँच वैकल्पिक माध्यम, दूरशिक्षा प्रणाली, अनलाइन, रेडियो, टेलिभिजनबाट पढाइ गर्न लबिइङ गरिरह्‍यो । गत वर्ष चैतमा कोरोना संक्रमित फाट्टफुट्ट मात्र हुँदा नै सरकाले देशभरि लकडाउन गर्‍यो । चैतको पहिलो सातापछि विद्यालय बन्द भए । त्यसपछि अहिलेसम्म विद्यालय राम्ररी खुल्न सकेका छैनन् ।
-फाइल तस्बिर : सुनील प्रधान/बाह्रखरी

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, पुस २४, २०७७  ०६:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro