काठमाडौं । पर्यटन व्यवसायीले ठमेल क्षेत्र खुला गर्नुपर्ने र रात्रिकालीन व्यवसायलाई रातभर सञ्चालन हुने वातावरण बनाउनुपर्ने माग गरेका छन् । कोभिड–१९ को संक्रमण सुरु भएयता यो क्षेत्र ठप्प छ ।
दिवाकालीन व्यवसाय सञ्चालनमा आए पनि व्यापारिक लाभ लिन नसकेको ठमेल पर्यटन परिषद्ले जनाएको छ ।
बिहीबार ठमेल पर्यटन विकास परिषद्द्वारा आयोजित छलफलमा व्यवसायीले यस्तो माग गरेका हुन् ।
छलफलमा महानगरीय प्रहरी परिसरका प्रमुख अशोक सिंहले ठमेल क्षेत्रमा रातभर व्यवसाय खुला गर्ने विषयमा जिल्ला हुँदै केन्द्रीय विपद् संकट व्यवस्थापन केन्द्रसम्म छलफल चलाउनुपर्ने बताए । आपसी समझदारीमा रातको ११ बजेसम्म व्यवसाय सञ्चालन गर्न सकिने उनको भनाइ छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर–२६ का अध्यक्ष ख्यामराज तिवारीले व्यवसाय निरन्तरताको विषयमा मापदण्डको पालना गर्ने गरी अघि बढ्न घरधनी र व्यवसायीको एउटै मत हुनुपर्ने धारणा राखे ।
ठमेल बन्द भएपछि नेपालको पर्यटन उद्योगमा ठूलो धक्का लागेको ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणा बताउँछन् ।
परिषद्का महासचिव भविश्वर शर्माका अनुसार सिजनमा ठमेलमा दैनिक ३० देखि ३५ करोड र अफसिजनमा १८ देखि २० करोड रुपैयाँसम्म कारोबार हुने गरेको थियो । अहिले त्यो कारोबार शून्य छ । शर्माले भने, ‘‘व्यवसायी व्यापार घाटा सहन नसक्ने अवस्थामा पुगेर तुरुन्त व्यवसाय खोल्नुपर्ने अवस्थामा पुगेका छन् । व्यवसायबाट आम्दानी छैन । बैंकले ऋण दिँदैन । दिए पनि कसरी तिर्ने ?’’
व्यवसायीहरुले पार्टी प्यालेस, सार्वजनिक यातायात, न्युरोड, इन्द्रचोक खुलिसकेको अवस्थामा ठमेल मात्र बन्द हुँदा आफूहरुमाथि अन्याय भएको बताएका थिए ।
छलफलमा सहभागी घरधनीहरुले भने ठमेलमा रातको समयमा हुने जमघट, चर्को आवाज र सडकमा देखिने अश्लील गतिविधिले परिवारसँग बस्ने र आनन्दसँग सुत्ने वातावरण नभएको गुनासो गरेका थिए ।