काठमाडौं । सिन्धुपाल्चोक, इन्द्रावतीकी पार्वती माझी ०६४ सालमा घर छोडेर हिँडिन् । काठमाडौं जान भन्दै हिँडेकी उनी परिवारसँग सम्पर्कविहीन बनिन् । यता आएपछि गाउँ फर्किनन् । आफन्त, छोरा–छोरीले खोजी गरे । तर, भेट्टाएनन् । लामो समयसम्म नभेटिँदा परिवारका सदस्यलाई लागेको थियो, अब उनी जीवित छैनन् ।
दिउँसोको २ः०० बजेको थियो । २६ वर्षीय पुन्टे माझी घरको काम गर्दै थिए । १३ वर्षअघि हराएकी आमा टुप्लक्क आँगनमा आइपुगिन् । पुन्टे आँखामा टिलपिल आँसु पार्दै एकोहोरो हेरिरहे । उनलाई सपनाजस्तै लाग्यो । उनको मुखबाट शब्द निस्किएन ।
पार्वती बेपत्ता भएको १३ वर्षपछि शनिबार घर पुगिन् । पुरानो घर ०७२ को भूकम्पबाट भत्किई नयाँ घर निर्माण भएकोले सुरुमा त उनलाई घर चिन्न गाह्रो भयो ।
माया मारिसकेको मान्छे घर पुग्दा घर नै उज्यालो भयो । उनलाई हेर्न गाउँभरिका मानिस भेला भए ।
आमा भेटिँदा छोराहरु भावुक भए । ‘‘हामी सानै हुँदा आमा हराउनुभएको थियो,’’ छोरा पुन्टे माझीले भने, ‘‘हामीले कताकता पो आमालाई खोजेनौँ र । तर, कतै पनि नभेटेपछि आमाको माया मारिसकेका थियौँ । आमा अब जीवित छन् भन्ने लागेको थिएन ।’’
पार्वतीले छोडेर हिँड्दा जेठो छोरा पुन्टे १३, माइलो सन्तोष १२ र कान्छो सेतुराम १० वर्षका थिए । अहिले जेठो छोराको बिहे भइसकेको छ । उनकी छ वर्षीया छोरी छिन् ।
‘‘घारमा रानी हराएको माहुरीजस्तै भएका थियौँ,’’ उनका श्रीमान् पूर्णबहादुर माझीले भने, ‘‘लामो समयपछि श्रीमती घर आउँदा खुसीको सीमा छैन ।’’
पार्वतीको आगमनले परिवारका सबै सदस्यका आँखाबाट आँसु बगिरहेको थियो । ‘‘अब आमाको विशेष रेखदेख गरी पालनपोषण गर्छौँ,’’ पुन्टेकी श्रीमतीले भनिन् ।
‘‘१३ वर्ष आमाबिना बस्नु पर्दाको पीडा कसरी व्यक्त गरुँ,’’ गहभरि आँसु पार्दै पुन्टेले भने । पार्वतीको अनुहार १३ वर्षअघिको जस्तो छैन । गाला चाउरी परेको छ । हेरचाह नपाएकाले शरीर निकै कमजोर भयो । ‘‘आमा घर छोडेर जाँदा सामान किन्न जानुभयो होला सोचेका थियौँ । तर, कुर्दाकुर्दै राति भएको थियो । आमा फर्केर आउनु भएन । त्यही दिनदेखि हामी आमाबिना घरमा बस्न बाध्य थियौँ,’’ पुन्टेले भने, ‘‘बीचमा कसैले आमाको मानसिक सन्तुलन गुमेको सुनाइदिए । आफन्तले खोज्ने प्रयास गरे पनि कतै पत्ता लगाउन सकेका थिएनन् ।’’
वर्ष बित्दै जाँदा पार्वतीले पनि आफन्त भुल्न थालिन् । परिवारबाट छुट्टिएपछि सडकको शरणमा पुगिन् । पाटीपौवा, मठमन्दिर, सडक किनारामा सुत्थिन् । सन्तानबाट अलग बस्दा उनले मानसिक सन्तुलन गुमाइन् ।
धादिङ सदरमुकाममा होटल व्यवसाय गर्ने उषा श्रेष्ठले सडकमा फालेको फोहोर टिपेर खाँदै गरेको देखेपछि केही दिन आफैँसँग राखेर पार्वतीको पालनपोषण गरिन् । पछि काठमाडौंका विभिन्न आश्रमबारे बुझेर नवजीवन परोपकार समाजको जिम्मा लगाइन् ।
काठमाडौंको तारकेश्वरस्थित परोपकार समाजको टोली उनलाई लिन धादिङ पुगेको थियो । धादिङबाट ल्याएर सो आश्रममा १५ दिन राखियो । त्यसपछि उनको घर सोधखोज गरियो । पार्वतीले आफ्नो घर सिन्धुपाल्चोक बताइन् । खोज्दै जाँदा घर इन्द्रावतीमा रहेको अभियन्ताले जानकारी पाए ।
समाजका संस्थापक अध्यक्ष तथा सामाजिक अभियन्ता दुर्गानाथ दाहाल उनको घर खोज्दै सिन्धुपाल्चोक पुगे । घर पत्ता लगाए । पार्वतीलाई छोराहरु र श्रीमान्को जिम्मामा छोडे । ‘‘पार्वतीको मानसिक अवस्था बिग्रिएको छ । छोराहरुले उपचार गर्ने भनेका छन्,’’ दाहालले भने, ‘‘संस्थाले उपचारको लागि पहल गर्नेछ । उनलाई निकै दयनीय अवस्थामा भेट्टायौँ । खोज्दै जाँदा घर पत्त्ता लगायौँ । र, पुनर्मिलन पनि गराइयो । अन्यन्तै खुसी लागिरहेको छ ।’
उनको उपचारका लागि वडा सदस्य तारा माझीले वडाबाट पहल गरिने बताएकी छन् । समाजका संस्थापक दाहालले डेढ वर्षको अवधिमा १६ जनालाई परिवारसित पुनर्मिलन गराएको उनी बताउँछन् । नवजीवन परोपकारमा अहिले २० जना वृद्धवृद्धा आश्रित छन् ।