site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भर्चुअल कक्षामा पोख्त नेपाल खुला विश्वविद्यालय !

काठमाडौं । गत वर्ष डिसेम्बरदेखि संसारभरि फैलिएको कोरोनाभाइरसको महामारीले संसारलाई ‘न्यू नर्मल’मा बाँच्न सिकाइरहेको छ । विकसित देशमा डिजिटल माध्यम पठनपाठनको महत्वपूर्ण पाटो बन्दै आएकोमा हामीकहाँ परम्परागत पठन संस्कृतिमा बल्ल परिवर्तन भएको छ ।

शिक्षा मन्त्रालयले वैकल्पिक विधिमा अनलाइन माध्यमबाट पठनपाठन र परीक्षालाई मान्यता दिएपछि विद्यालय र विश्वविद्यालय र तिनका आंगिक क्याम्पसमा अनलाइनमा पढाइ भइरहेको छ ।

विद्यालयस्तरमा कतिपयले परीक्षासमेत लिइसकेका छन् भने कति विद्यालय भौतिक संरचनाको अभाव, डिजिटल साक्षरताको कमी र प्रविधिमाथिको विश्वासको कमीले गर्दा अझै परम्परागत सिकाइ या अन्य वैकल्पिक माध्यम रेडियो र टेलिभिजनमै भर पर्न बाध्य छन् ।

जो अनलाइनमा पढिरहेका छन्, त्यहाँ पनि प्रभावकारी हुन नसकेको चौतर्फी चिन्ता र चासो देखिन्छ । अधिकांश विद्यार्थी र शिक्षक अनलाइनमा अझै तालमेल मिलाउन सकिरहेका छैनन् । डिजिटल साक्षरताको कमीले शिक्षकहरु अनलाइनमा प्रभावकारी कक्षा दिन सकिरहेका छैनन् भने विद्यार्थीहरु दूरशिक्षा प्रणालीमा रम्न सकेका छैनन् ।

कतिपय विद्यार्थीले प्रविधिको कमजोरीको फाइदा उठाइरहेको गुनासोहरु अभिभावक र शिक्षकबाट सुन्नमा आइरहेको छ । शिक्षकले पढाइरहँदा भिडियो र आवाज दुवै ‘म्युट’ गरेर इन्टरनेटमा भिडियो गेम र अन्य भिडियो हेर्ने विद्यार्थी पनि उत्तिकै छन् । अनलाइन कक्षा बस्दा–बस्दा आँखा सुख्खा भएर आँखाका रोगी भएका विद्यार्थी पनि छन् ।

परम्परागत शिक्षण शैलीमा अभ्यस्त शिक्षकहरु एकाएक जुम र टिम्सजस्ता माध्यममा अभिभावककै निगरानीमा पढाउन प्रयासरत् देखिन्छन् ।

तर, कोभिड–१९ नआउँदै नेपाल खुला विश्वविद्यालयले विगत तीन वर्षदेखि नै अनलाइनबाट प्राध्यापन गराउँदै आएको छ । विश्वविद्यालयले भोकेसन, मानविकी, व्यवस्थापन र विज्ञान संकायका २३ वटा विषयमा डिप्लोमा, स्नातकोत्तर र एमफिलसम्मका कक्षाहरु सञ्चालन गरिरहेको छ । अधिकांश कक्षा भर्चुअल सञ्चालन गर्ने खुला विश्वविद्यालय सुरुका दिन भने निकै चुनौतीपूर्ण भएको विश्वविद्यालयका उपकुलपति प्रा. लेखनाथ शर्माले सम्झिए ।

उनी भन्छन्, “मलाई सरकारले नियुक्तिपत्र दिँदा विश्वविद्यालयको कार्यालयसमेत थिएन । धेरैले यसलाई अन्य विश्वविद्यालयसँग आबद्ध संस्थाको रुपमा हेर्थे ।”

अहिले यहाँ तीन हजार विद्यार्थी पढिरहेका छन् भने विश्वविद्यालयले फेब्रुअरीमा सातवटा नयाँ विषय थप्दै छ । मानभवनमा कार्यालय रहेको विश्वविद्यालयले भौतिक पूर्वाधारको विकास गरेको छ । कोभिडअघिसम्म विश्वविद्यालयले प्रत्यक्ष र अनलाइन दुवै शैलीमा प्राध्यापन गराइरहेको थियो । तर, अहिले विश्वविद्यालयले अनलाइन कक्षामात्र सञ्चालन गरिरहेको छ ।

परम्परागत विश्वविद्यालय, क्याम्पस र विद्यालय अनलाइनमा प्राविधिक गडबढीबिना कक्षा कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विभिन्न उपाय खोजी गरिरहेका बेला खुला विश्वविद्यालयमा भने निर्वाध सेवा दिइरहेको उपकुलपति शर्मा बताउँछन् । विश्वविद्यालयले लर्निङ म्यानेजमेन्ट सिस्टमबाट टिममा साँझ ६ बजेदेखि १० बजेसम्म कक्षा लिइरहेको छ ।

अनलाइनमा कक्षा सञ्चालन गर्न सुरुका दिनमा शिक्षकलाई तालिम दिइएको थियो । विश्वविद्यालयको आफ्नै ‘फ्याकल्टी मेम्बर’ नहुँदा सधैँ गुणस्तरीय शिक्षा दिन चुनौती रहेको शर्मा सुनाउँछन् । उनी भन्छन्, “अनलाइन पढाउनको लागि चाहिने प्रविधिको संरचना, इन्टरनेट सञ्जाल, डेटा पावर ब्यांक, डिजिटल लाइब्रेरीलगायत दक्ष जनशक्ति र यही विश्वविद्यालयप्रति पूर्ण समर्पित प्राध्यापकहरु आवश्यकता छ । तर, विश्वविद्यालयको बजेट निकै कम छ ।”

विश्वविद्यालयले सरकारबाट मात्र सवा सात करोड बजेट पाउँदै आएको छ । उक्त रकम एउटा क्याम्पस राम्ररी सञ्चालन गर्नसमेत अपुग हुने शर्माको भनाइ छ ।

पढ्न नभ्याउने रोजगारमूलक समूह, बीचैमा पढाइ छाडेकाका लागिमात्र लक्षित विश्वविद्यालयले वर्तमान परिस्थितिमा प्रत्यक्ष भौतिकरुपमै कक्षा बसेरमात्र ज्ञान पाइने परम्परागत घेरालाई हटाइसकेको छ । अब विश्वविद्यालय आफूले पढाएका विद्यार्थी बजारमा प्रतिस्पर्धा गर्न सक्ने गुणात्मक शिक्षामा ध्यान दिन अघि सरेको शर्माले बताए ।

यसका लागि विश्वविद्यालयले केही समयअघि अन्तर्राष्ट्रिय भचुर्अल सम्मेलन गरेको र नोम चम्स्कीजस्ता विश्वप्रख्यात वक्ता ल्याई कार्यक्रमको मोडरेट सबै विद्यार्थीलाई नै गर्न लगाएको उनले जिकिर गरे ।  यस्तै, विश्वविद्यालयले अनलाइनबाट भर्खरै भचुर्अल परीक्षा लिएको छ । टिम्समार्फत् परीक्षा लिई लेखेका उत्तरपुस्तिकालाई स्क्यानिङ गरेर अपलोड गर्न लगाइएको थियो । एकपटकमा २५ जना विद्यार्थीलाई टिम्समा रुम क्रिएट गरेर निगरानीका साथ परीक्षा लिइएको उनले बताए ।

तर, विद्यार्थीको ध्यान पढाइमा मात्र केन्द्रित गराउन अन्य क्याम्पसलाई जत्तिकै चुनौती भएको शर्मा स्वीकार्छन् । उनले लामो समयपछि अध्ययन गर्न विद्यार्थी आउने हुँदा उनीहरुको ध्यान पढाइ र अतिरिक्त क्रियाकलापभन्दा बाहिर नजाओस् भनेर सिकाइलाई रचनात्मक र अन्तरक्रियात्मक बनाउन शिक्षकलाई जोड दिएको बताए ।

विश्वविद्यालयले विद्यार्थीलाई गृहकार्य समयमै बुझाउन प्रेरित र नियमन पनि कडा गरेको छ । अनलाइनमा बुझाउनुपर्ने भएकाले शिक्षकलाई छल्न पाउँदैनन्, भनेकै समयमा बुझाउनुपर्छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, पुस १५, २०७७  ११:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro