काठमाडौं । वीरगञ्जबाट आएका तेजनारायण यादवको दिनचर्या केही दिनयता बदलिएको छ । पुसको जाडोमा उनी त्रिभुवन विश्वविद्यालय (त्रिवि) धाइरहेका छन् । किताब, नोट्स मार्कर बोक्ने हातले नारा लेखेका पोस्टर समातेका छन् । अनि, नारा लगाउँछन्, त्रिवि उपकुलपतिको कार्यालय परिसरमा ।
यादव मात्र होइन, सयौँ संख्यामा देशभरबाट प्राध्यापकहरु पुस २ गतेदेखि दिनहुँ त्रिवि धाइरहेका छन् । समान कामको समान ज्याला र सम्मानको माग गर्दै उनीहरु आन्दोलन गरिरहेका छन् ।
त्रिभुवन विश्वविद्यालयमा आंशिक प्राध्यापकको यो आन्दोलन पहिलो होइन । यसअघि पनि पटक–पटक आन्दोलन गरे । उनीहरुको सधैँको एउटै माग छ, समान कामको समान ज्याला ।
त्रिवि र त्रिविका आंगिक क्याम्पसमा दशकौँदेखि पढाउँदै आएका पार्टटाइम उर्फ अतिरिक्त कक्षा लिने शिक्षक त्रिविका आंशिक प्राध्यापक हुन्, जसलाई त्रिविको नियमावलीले चिन्दैन । बौद्धिक मजदुरका रुपमा काम गरिरहेका यी प्राध्यापकहरुले विश्वविद्यालयको ६० प्रतिशतभन्दा बढी कक्षाभार सम्हालिरहेका छन् । आंशिक प्राध्यापकले हप्तामा ३५/३६ सम्म कक्षाभार लिने गरेका छन् ।
तर, एउटा विषयको ९० पिरियडका दरले तीन महिनामा कोर्स सकाउनुपर्ने बाध्यताले गर्दा उनीहरुले वर्षको ५४ हजार मात्र पाउँछन् । जबकि, स्थायी प्राध्यापकसँग कक्षाभार एकदम न्यून हुन्छ र मासिक ४२ हजार ५०० पाउँछन्, त्यो पनि १३ महिनाको । अनुसन्धान, रिसर्च गर्दा भत्ता र पीएचडी गर्दा स्थायी प्राध्यापकले छुट्टी पाउँछन् । तर, आंशिकले रिसर्च गर्न विद्यार्थीबाहिर लगे उल्टै पैसा तिरेर जानुपर्ने स्थिति छ ।
ठाकुरराम बहुमुखी क्याम्पसमा भौतिक विज्ञान पढाइरहेका यादव ११ वर्षदेखि कक्षाभार लिइरहेका छन् । पहिले हप्तामा २४ पिरियड लिइरहेका उनी अहिले हप्तामा १५ पिरियड मात्र पढाइरहेका छन् ।
उनी भन्छन्, “यहाँ मात्र पढाएर खान पुग्दैन । किन ढाँट्नु, त्यसैले बाहिर पनि पढाउँछु । क्याम्पसको कोषमा पैसा नहुँदा कमाएको पूरा पारिश्रमिक पनि दिँदैनन्, पेश्की मात्र पाइन्छ ।”
ठाकुरराम बहुमुखी क्याम्पसमा ८० प्रतिशत प्राध्यापकले अवकाश पाइसके । तर, कक्षा सञ्चालन गर्न आंशिक प्राध्यापककै भर छ ।
२०७४ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा आंशिक प्राध्यापक र सरकाबीच सम्झौता भएपछि आंशिक प्राध्यापकलाई १,४२० दरबन्दी खुलाई व्यवस्थापन गर्ने भनियो । तर, प्रस्ताव अर्थ मन्त्रालयमा गएपछि अड्कियो । प्राध्यापकहरु हेरेको हेर्यै भए ।
यसपटक पनि आन्दोलनकै बीच आंशिक प्राध्यापकका प्रतिनिधिहरु पुस १० मा राष्ट्रपति विद्यादेवी भण्डारी, नेता सुवास नेम्वाङलाई भेट्न गए । तर, समस्या भनेको ज्युँका त्युँ रहेको त्रिवि आंशिक प्राध्यापक संघका सचिव ईश्वरचन्द्र पौडेलले बताए ।
चैतदेखि तलबविहीन
लकडाउनका बेलामा स्थायी प्राध्यापकले काम नगरी तलब पाए । तर, आंशिक प्राध्यापकले अनलाइनमा पढाउँदासमेत चैतदेखि अहिलेसम्म तलब पाएका छैनन् । क्याम्पस प्रशासन बन्द भएकाले हाजिर नगरी पार्टटाइम शिक्षकले तलब पाउँदैनन् भने स्थायीका लागि कुनै कर छैन ।
केही महिनाअघि पनि नेपाल आंशिक प्राध्यापक संघले आन्दोलन गरेको थियो । त्यही समूहबाट छुट्टिएर त्रिवि आंशिक प्राध्यापक संघ केहीअगाडि मात्र बनेको हो । तर, दुवै संघको मुद्दा उही रहेको नेपाल आंशिक प्राध्यापक संघका महासचिव केशव चन्द बताउँछन् ।
पाटन क्याम्पसमा १२ वर्षदेखि अर्थशास्त्र पढाउँदै आएका रिमप्रसाद हुमागाईं आफूले पढाएका विद्यार्थी मन्त्रालयमा सहसचिव भइसके भन्दै क्याम्पसले आफ्नो योग्यताको सम्मान नगरेकोमा गुनासो पोख्छन् । तीनवटा विषयमा स्नातकोत्तर गरेका उनी अहिले पीचडी गर्दैछन् ।
उनी भन्छन्, “त्रिविले उखु चुसेझैँ चुस्यो हाम्रो श्रम । कि त विश्वविद्यालयले भनिदिनुपर्यो, तिमी योग्य छैनौ भनेर । यसो गर्दा हामीले पढाएका विद्यार्थी जो देशका विभिन्न क्षेत्रमा काम गरिरहेका छन्, ती पनि अयोग्य हुनुपर्यो । हैन भने न्याय त दिनुपर्यो ।”
त्रिवि सेवा आयोगमा छ÷छ महिनामा जागिरको विज्ञापन खोल्नुपर्ने नियम छ । तर, विश्वविद्यालयले यो नियमलाई बेवास्ता गर्दै आएको छ । ०४६ देखि ०५४ सम्म आंशिक भएर आएका दुई वर्ष काम गरेकाले मात्र त्रिवि शिक्षा आयोगमा आवेदन दिन पाउँथे । जब आफ्नो मान्छे राख्न पाउने भए अनि नियम बदलिएको हुमागाईंको आरोप छ ।
उनले भने, ‘‘अवकाशप्राप्त व्यक्तिलाई रजिष्टार बनाउने, स्वास्थ्यमा काम गर्नेलाई उपकुलपति बनाएपछि असली समस्या कसरी बुझोस् ! विज्ञापन निकाल्दा आफ्नै आसेपासेलाई राख्ने हिसाबले निकाल्ने, प्रश्नपत्र बनाउँदा धाँधली गर्ने यस्तो ठाउँमा हामीले परीक्षा राम्रो गरे पनि पास हुँदैनौँ ।’’
यस्तै, आन्दोलनरत् प्राध्यापकहरुले अतिरिक्त कक्षाको लागि बनाएको कार्यविधि खारेज गर्न माग गरेका छन् ।
सचिव पौडेलले कार्यविधिले आंशिक प्राध्यापकलाई स्थापितभन्दा पनि विस्थापित गर्ने भएकाले खारेजीको माग गरेको बताए । उनले भने, “स्थायीले अझ एक पिरियड बढी लिनु भनेको छ । अवकाश भएपछि पनि उहाँहरुलाई पढाउन प्राथमिकता दिने अनि हामी पढाइरहेकालाई वास्ता नै छैन ।”
०६९ देखि क्याम्पस पढाउन थालेका पौडल भन्छन्, “आगामी नीति–नियम नयाँ आउनेको लागि बन्ने हो । ०७७ मै जागिरे भएकालाई ०७७ को नियमले बाँध्ने हो, ०६३ मा जागिरे भएकालाई होइन ।”
त्रिविमा प्राध्यापकको दरबन्दी कति हो, त्रिविको प्रशासनलाई थाहा छैन । बर्षेनि प्राध्यापक अवकाश लिइरहेका छन् । तर, थप्ने संयन्त्र बनेको छैन । १५ वर्षमा त्रिवि सेवा आयोगमा तीनपटक मात्र दरबन्दी खुलेको छ । समस्या समाधान गर्न अहिले त्रिवि र आन्देलनरत् प्राध्यापकबीच चरण–चरणमा वार्ता भइरहेको छ ।
छिट्टै नै दरबन्दी खोलिने त्रिवि वार्ता समूहका संयोजक विष्णु खनालले बताए । उनले त्रिविले ल्याएको नयाँ कार्यविधि परिमार्जन गरी अतिरिक्त कक्षाभार लिएका शिक्षकलाई व्यवस्थापन गरिने बताए । तर, उपकुलपतिसँग वार्ता नभई समस्या समाधान हुने देखिँदैन ।
एकातिर त्रिविमा आंशिक प्राध्यापकले पढाइ स्थगन गरेका छन् भने अर्कोतिर कोरोना महामारीले भौतिकरुपमा कक्षा सञ्चालन गर्न कठिन छ । २६ अर्बको बेरुजु र कोरोना महामारीका बीच त्रिविले आन्दोलनरत् प्राध्यापकको समस्या समाधान गर्ला ?