site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पुसको चिसोमा पनि तात्दै छ काठमाडौंको सडक 

काठमाडौं । पुसको मध्य । काठमाडौंमा बिहान तुसारो पर्न थालेको छ । छोटो दिन ५ बजे नै अँध्यारो भइसक्छ । दिउँसै घाम अस्ताउँदै गर्दा चिसो उकालो चढ्छ । विस्तारै चिसो बढ्छ । उसो त काठमाडौंमात्र होइन, देशैभर चिसो छ ।

तर, काठमाडौंको सडक भने अहिले तातिँदो छ । पुस ५ गते संसद् विघटन भएपछि त्यसको विरुद्धमा दैनिकजसो प्रदर्शन भइरहेको छ । अझै केही दिन काठमाडौंको सडक आन्दोलनको रापले तात्ने देखिएको छ ।

आइतबार जनता समाजवादी पार्टीले प्रदर्शन गर्‍यो । सोमबार नेपाली कांग्रेसले १६५ निर्वाचन क्षेत्रमै विरोधसभा गर्‍यो । मंगलबार नेकपा प्रचण्ड–माधव नेपाल समूहको विरोधसभा भृकुटीमण्डपमा भयो । साझा विवेकशील पार्टीले पनि सडकमा आउने घोषणा गरिसकेको छ ।

संसद् विघटनको मुद्दामा फैसला हुन केही समय लाग्ने देखिँदा अझै सडक प्रदर्शन लम्बिने निश्चित छ । “संसद् पुनःस्थापना नभएसम्म हामी आन्दोलनमै हुन्छौँ,” भृकुटीमण्डपमा आयोजित सभामा बोल्दै नेकपा प्रचण्ड–माधव समूहका एक अध्यक्ष माधवकुमार नेपालले भने । नेपालको भनाइले पनि संसद् विघटनको मुद्दा छिनोफानो नभएसम्म सडकमा प्रदर्शन नरोकिने प्रष्ट संकेत गर्छ ।

संवैधानिक इजलासले संसद् विघटनबारे लिखित जवाफ मागेको छ । त्यस्तै, इजलासले नेपाल बार एसोसिएसन र सर्वोच्च बारबाट एमिकस क्युरी मगाएको छ । संवैधानिक इजलासले पुस १९ देखि लगातार सुनुवाइ गर्नेछ । यी सबै प्रक्रिया पूरा गरेर संसद् विघटनको मुद्दामा फैसला गर्दा छिटोमा पनि केही साता लाग्ने जानकारहरु बताउँछन् ।

अदालतले संसद् विघटनको टुंगो नलगाउँदासम्म सडकबाट दबाब दिइरहनुपर्नेमा संसद् विघटनको विपक्षमा रहेका दलहरु देखिएका छन् । जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद् विघटनको विपक्षमा जनता छन् भनेर देखाउन पनि सडक छाड्न नहुने बताइसकेका छन् ।

कांग्रेसभित्र पनि वरिष्ठ नेता रामचन्द्र पौडेल समूह एकदिने कार्यक्रमले नपुग्ने भन्दै चरणबद्ध आन्दोलन गर्नुपर्ने पक्षमा देखिएको छ ।

मंगलबार भृकुटीमण्डपमा आयोजित सभामा नेकपाका अध्यक्ष प्रचण्डले अर्को चरणको आन्दोलनको कार्यक्रम ल्याउने भन्दै सडक नछाड्ने बताएका छन् ।

लेखक, बुद्धिजीवीहरु पनि चरणबद्धरुपमा सडक प्रदर्शनमा छन् । बृहत् नागरिक आन्दोलन नाम दिइएको सो अभियानले संसद् विघटनविरुद्धमा माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिरहेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, पुस १४, २०७७  १६:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro