
काठमाडौं । प्रतिनिधिसभा विघटनको विषयलाई लिएर नेपाली कांग्रेसभित्र दुईधार देखिएको छ । संसद विघटनको विरोधमा १ सय ६५ वटै निर्वाचन क्षेत्रमा आयोजित विरोधसभामा कांग्रेसमा प्रष्ट दुई धार देखिएको हो । प्रतिनिधिसभा विघटन असंवैधानिक र प्रतिगामी कदम भन्नेमा एकमत भए पनि संसद पुनःस्थापनाको विषयमा भने कांग्रेसभित्र ध्रुवीकरण देखियो ।
कांग्रेस केन्द्रीय समिति बैठकमा जस्तै सरकारविरुद्ध आयोजित विरोधसभामा पनि पौडेल समूह संसद पुनःस्थापनाको पक्षमा देखियो भने संस्थापन समूह निर्वाचनको पक्षमा । संस्थापन समूह निर्वाचनमा जाँदा कांग्रेसलाई फाइदा हुने विश्लेषणमा छ भने पौडेल समूह ओली निर्वाचन नगराउने भन्दै संसद पुनःस्थापनाकै पक्षमा उभिनुपर्नेमा देखिएको छ ।
सोमबार आयोजित विरोध सभामा सभापति शेरबहादुर देउवासहित उनी पक्षधर नेताहरुले संसद पुनःस्थापनाको पक्षमा बोलेनन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरूले भने संसद पुनःस्थापनाको माग गरेका छन् ।
संसद पुनःस्थापना कि निर्वाचन ?
सभापति देउवा प्रमुख वक्ताका रुपमा थिए– भक्तपुरमा आयोजित विरोध सभामा । केन्द्रीय सभापतिनै प्रमुख वक्ता भए पनि विरोध सभामा कुनै रौनक थिएन । करिब तीनसय कांग्रेस कार्यकर्ताबीचमा उनले सम्बोधन गरे । विरोधसभा नाम दिइए पनि उनले प्रतिनिधिसभा विघटन असंवैधानिक भन्नेबाहेक विरोधमा शब्द खर्च गरेनन् ।
करिब १० मिनेट सम्बोधन गरेका उनले पटक–पटक संसद विघटनबारे अदालतको निर्णय मान्ने, विचाराधीन मुद्दामा नबोल्ने बताए ।
सरकारले घोषणा गरेको निर्वाचनमा जानेतर्फ संकेत गर्दै उनले संसद विघटनको पक्षमा अदालतको फैसला आए पनि कांग्रेसलाई स्वीकार्य हुने धारणा राखे ।
प्रतिनिधिसभा पुनःस्थापना उच्चारणै नगरेका देउवाले अदालतको फैसला जे आए पनि कांग्रेस त्यसपछिको अवस्थाका लागि तयार हुने भन्दै कार्यकर्तालाई सांकेतिक रुपमा निर्वाचनका लागि तयार रहन सन्देश दिए । “अदालतको निर्णय जे हुन्छ हामी स्वीकार्छौं । जस्तो निर्णय हुन्छ त्यसमा तयार हुनुपर्छ । आफ्नो संगठन गर्ने, जनसम्पर्क बढाउने काम गर्नुपर्छ,” उनले भने ।
काठमाडौं ५ मा आयोजित सभालाई सम्बोधन गर्दै देउवा निकट सहमहामन्त्री डा. प्रकाशशरण महतले पनि संसद पुनःस्थापनाभन्दा निर्वाचनमै जोड दिए । वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै संसद विघटनको चर्को विरोध गरे । उनले कम्युनिष्टहरूको राष्ट्रवादको नारा लगाएर राष्ट्रको चरित्रमाथि सरकारले गम्भीर प्रश्न उठाएको बताए ।
“सरकारनै दिन नसक्ने प्रतिनिधिसभा भयो भने मात्रै प्रतिनिधि सभा विघटन हुन्छ । त्योभन्दा कुनै पनि अवस्थामा प्रतिनिधिसभा विघटन गर्ने संविधानमा कहीँ लेखेको छैन,” उनले भने, “सर्वोच्च अदालतले सरकारको गल्ती सच्याउनैपर्छ, अब भरोसा भनेको अदालतसँग मात्र छ ।”
देशलाई संकटबाट जोगाउन प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्नेमा पौडेलको जोड थियो । पौडेल समूहकै नेता डा. मिनेन्द्र रिजालले प्रधानमनत्री केपी ओलीकै निर्वाचन क्षेत्र झापा पुगेर संसद पुनःस्थापना गरेरै छाड्ने दाबी गरे । लोकतन्त्रमा विश्वास गर्ने सबैले संसद पुनःस्थापनाको पक्षमा उभिनुपर्ने उनको भनाई थियो ।
नेपालगञ्ज पुगेका अर्का नेता गगन थापाले पनि संसद् पुनःस्थापनामा जोड दिएका छन् ।
“केपी ओलीले शानदार ढंगले कांग्रेस जित्ला र संसदमा ताली बजाएर स्वागत गरौँला भनेर चुनाव घोषणा गरेका होइनन्,” थापाले निर्वाचन हुनेमा संशय व्यक्त गर्दै भने ।