
काठमाडौं । ट्रेडर (कारोबारी)हरु हाबी हुँदा पछिल्लो केही समययता सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । कोभिड १९ को प्रभावले गर्दा चैतयता अन्य आर्थिक गतिविधि सुस्ताएको छ । लगानीको अन्य वातावरण प्रतिकूल हुँदा उद्योगी व्यवसायीदेखि संस्थागत लगानीकर्ताको लगानीको एकल क्षेत्रको रुपमा पूँजीबजार देखिएको छ ।
कोभिड १९ को कारणले गर्दा बैंक आर्थिक गतिविधि कमजोर बन्न पुग्यो भने कर्जा लगानीमा सुस्तता आउँदा बैंकिङ प्रणालीमा भएको अधिक तरलता र घटेको ब्याजदरले गर्दा धितोपत्र बजार पछिल्लो समय गुल्जार बनेको छ । नयाँ लगानीकर्ताको प्रवेशसँगै उद्योगी व्यवसायीले अन्यत्र लगानीको प्रतिकूल वातावरण हुँदा अल्पकालीन लगानीको विकल्पको रुपमा धितोपत्र बजारमा लगानी बढाएका छन् ।
जसले गर्दा धितोपत्र बजारमा गुल्जार देखिएको सरोकारवाला निकायकै दाबी छ । अर्कोतर्फ बैंकहरुले पनि प्रणालीमा अधिक तरलता हुँदा अल्पकालीन लगानीको विकल्पको रुपमा धितोपत्र बजारमा लगानी गरेको छन् । उद्योगी व्यवसायीले लिएको ‘वर्किङ क्यापिटल लोन’ का साथै ओभरड्राफ्ट कर्जा पनि धितोपत्र बजारमा गएको राष्ट्र बैंकका अधिकारीहरुको दाबी छ ।
“उद्योगी व्यवसायीले भन्सारमा आफ्नो कति सामान रोकिएको छ भन्ने भन्दा पनि नेप्से कतिले घट्यो र बढ्यो भनेर त्यतै केन्द्रित भएको अवस्था छ,” स्रोतले भन्यो । स्रोतको उक्त भनाइलाई अघिल्लो साता संसद्को एक समितिमा उद्योगी व्यवसायीले देखाएको व्यवहारले पुष्टि गरेको छ । संसद्को उद्योग समितिको बैठकमा उखु किसानको अन्दोलनको विषयमा छलफल गर्न बोलाएका चिनी उद्योगीले छलफलमा आफ्ना धारणा राख्नुभन्दा पनि नेप्सेको अवस्थाका बारेमा जानकारी लिने कोसिस निरन्तर गरेका थिए ।
अहिले गुल्जार देखिएको बजारमा यस्तै छोटो समयमा नाफा बुक गर्न लगानी गर्नेहरु हाबी भएको देखिन्छ । यस्ता लगानीकर्तालाई ट्रेडरको रुपमा समेत व्याख्या गरिन्छ । इन्भेष्टरकै कारण बजारमा तीव्र उतारचढाव देखिने जानकारहरु बताउँछन् । नेपालको धितोपत्र बजार सामाजिक सञ्जालमा चलेको हल्लाको भरमा प्रभावित हुने गर्छ ।
यस्तो हल्लाको आधारमा बजारमा प्रवेश गरेका नयाँ लगानीकर्ताले लगानी बढाउने र सोही मौकमा अल्पकालीन लगानीकर्ता बाहिरिने जोखिम हुने बजारका जानकारहरु बताउँछन् । यस्तो अवस्थामा बजारमा अल्पकालीन लगानीकर्ताललाई नै बढी जोखिममा हुने धितोपत्र दलाल व्यवसायीहरु बताउँछन् । नीतिगत तहमा नै भएको एक अधिकारी भन्छन्, “धितोपत्र बजारमा स्थिरता ल्याउने हो भने, अल्पकालीन लगानीकर्ता (ट्रेडर) र दीर्घकालीन (वास्तविक) लगानीकर्ताको लागि लाभकरको दर फरक हुनुपर्छ ।”
तीन महिनाभन्दा छोटो अवधिमा नै नाफा बुक गरेर बाहिरिने लगानीकर्तालाई आएको नाफाबाट ३६ प्रतिशतसम्म लाभकर लिँदा फरक नपर्ने ति अधिकारीको तर्क छ ।
नेपालको धितोपत्र बजारलाई नजिकबाट हेरिरहेका अधिकारी भन्छन् “तीन महिनाभन्दा कम अवधिमा नै धितोपत्र बजारमा लगानी गर्छ र नाफा लिएर बाहिरिन्छ भने उ अवसरको आधारमा मात्रै लगानी गर्ने लगानीकर्ता हो त्यस्ता लगानीकर्तालाई व्यक्तिगत आयकरका सीमा बराबर लाभकर लगाउनुपर्छ, त्यसबाट राज्यमा भएको आम्दानी अन्य समाजिक क्षेत्रमा खर्च गर्न सकिन्छ ।”
यस्तै दीर्घकालीन लगानीकर्तालाई भने प्रवर्द्धन गर्नुपर्ने उनको भनाइ छ ।
कुनै लगानीकर्ताले ६ महिना अथवा एक वर्षपछि धितोपत्र बेच्न खोज्छ भने उसको आवश्यकता हुन सक्ने त्यस्तो अवस्थामा अहिलेको व्यवस्थाको वरिपरी लाभकर उपयुक्त हुने र पाँचवर्ष सम्म होल्ड गरेर लाभांश खाएर बेच्छ भने उसलाई एकप्रतिशतभन्दा कम लाभकर लगाउँदा पनि फरक नपर्ने ति अधिकारी बताउँछन् ।
यसले गर्दा उद्योगी व्यवसायी नेप्से इन्डेक्स के भयो भन्ने भन्दा पनि आफ्नो व्यवसायमा के कमजोरी भयो र के सुधार गर्नुपर्छ भन्नेतिर ध्यान दिने ति अधिकारीको बुझाइ छ । जसले गर्दा बजारमा समेत स्थिरता हुने उनको दाबी छ ।
विघटित राजश्व परामर्श समितिका विभिन्न बैठकमासमेत यस विषयले प्रवेश पाएको थियो । तर यसलाई कार्यान्वयन गर्ने विषयमा सरोकारवालाले अध्ययन भने गर्नुपर्ने जानकारहरु बताउँछन् । राष्ट्र बैंकका अधिकारीहरु पनि बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर बैंकहरुको सेयरमा लगानी गरेर सेयर बजारको विकास हुन नसक्ने बताउँछन् ।
“अहिले लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर बैंक तथा वित्तीय संस्थाकै सेयरमा लगानी गरेका छन्, जबसम्म हाइड्रोपावर अथवा वास्तविक क्षेत्रका कम्पनीहरु बजारमा पर्याप्त मात्रामा आउन र लगानीकर्ताले बैंकबाट लिएको सेयर कर्जा त्यस्ता कम्पनीमा जाँदैनन् तबसम्म धितोपत्र बजारमा अहिलेको अस्थिरता देखिइरहन्छ,” राष्ट्र बैंकका एक उच्च अधिकारीले भने ।
तर अहिले त उद्योगी व्यवसायीले व्यवसाय गर्न लिएको पूँजी कर्जा तथा ओभरड्राफ्ट कर्जाले फुलेको धितोपत्र बजार कतिको स्थिर हुन्छ भन्ने नसकिने ति अधिकारीको दाबी छ । एकातिर उनले भनेजस्तै व्यवसायिक वातावरण राम्रो हुन नसक्दा उद्योगी व्यवसायीले धितोपत्र बजारमा अल्पकालीन लगानी बढाएका छन् ।
अर्कोतर्फ अधिक तरलताले गर्दा बैंकहरुले पनि सहजरुपमा सेयर धितो कर्जा प्रवाह गरिरहेका छन् ।
तर आर्थिक गतिविधि चलायमान हुँदै जाँदा २ वर्ष अगाडिको जस्तो लगानीयोग्य तरलताको अभावको संकट बैंकहरुमा आउन भने समय नलाग्न सक्छ । त्यस्तो अवस्थामा अहिले धितोपत्र बजारमा भित्रिएको लगानी यही अवस्थामा रहन्छ कि पुनः बाहिरिन सक्छ भन्नेमा लगानीकर्ता सचेत हुन आवश्यक छ । नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक तथा अर्थशास्त्री नरबहादुर थापा पनि प्रणालीमा भएको अधिक तरलता, सस्तो ब्याजदर तथा बैंक तथा वित्तीय संस्थाले धितोपत्र बजारमा लगानी बढाएको कारण नै बजारमा गुल्जार देखिएको बताउँछन् ।
‘म्याक्रो इकोनोमिक फन्डामेन्टल’ ले सेयर बजारको आधार तयार गर्ने थापा बताउँछन् । तर अहिले कोभिडको कारणले अर्थतन्त्र राम्रो छैन तर पनि यस्तो अवस्थामा सेयरको मुल्य बढ्नुको कारण के ? भन्ने प्रश्न आएका छन् । “तर पुँजीबजारको फन्डामेन्टल र अर्थतन्त्रको फन्डामेन्टलमा केही फरक छ,” थापाले भने, “अहिले अर्थतन्त्रका समग्र फन्डामेन्टल राम्रो नभएपनि सेयर बजारको लागि आधारको रुपमा रहने फन्डामेन्टल राम्रो छ ।”
सोही कारण सेयरको मूल्य बढेको पुँजीबजारमा गुल्जार आएको उनले दाबी गरे । सेयर बजारको पहिलो फन्डामेन्टल तरलता भएको र तरलतासँगै ब्याजदरको अवस्था के छ भन्ने जोडिएर आउने थापा बताउँछन् । अर्को बैंकिङ प्रणालीमा अधिक तरलता हुँदा बैंकहरुलाई पनि सेयरमा लगानी गर्ने केही छुट रहेकोले बैंकहरुले बैंक तथा वित्तीय संस्था बाहेकका सेयरमा लगानी गर्दा बैंकिङ भन्दा गैर बैंकिङ समूहको सेयर मूल्य बढेको थापाको दाबी छ ।
“बैंकहरुले मुनाफा बढाउन घाटामा गएको, अडिट नभएको कम्पनीको सेयरमा लगानी गरेर मूल्य बढाए, जसले गर्दा राष्ट्र बैंकले बाध्य भएर यस प्रकारका कम्पनीमा लगानी नगर्नू भनेर नीति नै ल्यायो,” थापाले भने । सेयर बजारमा प्रविधिको विकाससँगै अनलाइन कारोबारको कारण पनि बढेको उनको भनाइ छ ।
नरबहादुर थापा पनि अल्पकालीन लगानीकर्ता र दीर्घकालीन लगानीकर्तालाई फरक फरक लाभकरको व्यवस्था गर्न सकिने बताउँछन् । तर त्यसको लागि बजारको गहिराइ कति छ पहिले त्यो निर्क्योल हुनुपर्ने उनको तर्क छ ।
“हाम्रो बजार २५ वर्षभन्दा माथिको भइसकेको भए पनि त्यति विकास हुन सकेको छैन, यद्यपि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सञ्चालनमा आएको दुईवर्षभित्रमा चुक्तापुँजीको न्यूनतम ३० प्रतिशत सर्वसाधारणलाई सेयर जारी गर्नुपर्छ भन्ने नीति ल्यायो जसले गर्दा पुँजीबजार यहाँसम्म आएको हो,” थापाले भने, “हाम्रो धितोपत्र बजारमा विदेशी लगानी छैन, वित्तीय क्षेत्रको बाहुल्यता रहेको बजार छ, देशको अर्थतन्त्र राम्रो छैन, बैंक तथा वित्तीय संस्थाले ग्रोथ गर्यो, राष्ट्रबैंकले चुक्ता पुँजी वृद्धि गर्यो जसको वरिपरी नै बजार विकास भएको न हो ।”
विदेशको लगानीकर्ताको लागि बजार खुला नभएको, अर्थतन्त्र त्यति राम्रो नभएको, निर्यात आयातको अवस्था पनि त्यस सहज नभएको अवस्थामा अर्थतन्त्र ‘भाइब्रेन्ट’ नभइ वित्तीय बजारले पनि ठूलो रुप लिन नसक्ने उनको दाबी छ ।
छिमेकी देशमा पूँजीगत लाभकरको व्यवस्था कस्तो छ ?
दक्षिण एशियाली मुलुकहरु भारत र पाकिस्तानमा अल्पकालीन र दीर्घकालीन लगानीमा फरक लाभकर रहेको देखिन्छ ।
त्यस्तै श्रीलंका र बंगलादेशमा भने पूँजीगत लाभकर फ्लाटमा रहेको छ ।
भारतमा एकवर्ष भन्दा कम अवधि होल्ड गर्नेलाई २० प्रतिशत लाभकर र थप ४ प्रतिशत शिक्षा र स्वास्थ्य कर भनेर २४ प्रतिशतसम्म पुँजीगत लाभकर लाग्ने व्यवस्था छ । आयकर वेशको आधारमा पूँजीगत लाभकर लाग्ने व्यवस्था छ । बंगलादेश र श्रीलंकमा १० प्रतिशत लाभकर रहेको छ । नेपालमा भने व्यक्तिगत लगानीकर्तालाई पाँच प्रतिशत पूँजीगत लाभकर लाग्छ ।