site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संविधानको रक्षाका लागि जसपा सडकमा, ‘न्यायालयको सम्मान गरौं भर नपरौं’

काठमाडौं । ०७२ असोज ३ गते संविधान जारी हुँदा अहिलेको जनता समाजवादी पार्टी ‘ब्ल्याक आउट’मा थिए । संविधानको प्रति जनकपुरमा मात्र जलेन, माइतीघर मण्डलमा पनि जलाइए । संविधानले आफ्ना मागहरु सम्बोधन नगरेकामा उनीहरुको असन्तुष्टि थियो । उनीहरुले संविधानको विरोधमा लामो समय सडक तताए ।

अहिले फेरि जसपा सडकमा आएको छ । तर, यसपटक संविधानको विरोधमा होइन, संविधानमाथि भएको प्रहारको विरुद्धमा । पुस ५ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गर्नु असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगनकारी भएको जसपाको ठहर छ । आइतबार जसपाले काठमाडौंको शान्तिवाटिकामा यही नारासहित विरोध सभा आयोजना गर्‍यो ।

संविधानमा आफ्ना केही विमति रहे पनि संविधानमा धेरै राम्रो कुरा भएको जसपा नेताहरुले धारणा राखे । प्रमुख वक्ता, जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संविधान अपूर्ण भए पनि धेरै राम्रा कुराहरु समेटिएको बताए । 

जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले संविधानमाथि आक्रमण गर्न नपाइने बताए । संसद् विघटनको विरोध गर्दै उनले भने, “अढाइ सय वर्षको राजशाही त जनताले फालिदियो । प्रतिगमन गर्‍यौ भने तिम्रो प्रतिगमन त कति मिनेट टिक्ने हो ? टिक्नेवाला छैन । अहिले पनि होस पुर्‍याएर काम गर जनताको गर्न पाइँदैन यसरी संविधानमाथि आक्रमण गर्न पाइँदैन ।” 

जसपाका वरिष्ठ नेता अशोक राईले पनि संविधानमथिको आक्रमण भन्दै संसद विघटनको विरोध गरे । “हो संविधान पूर्ण थिएन, त्रुटिहरु थिए । संविधानमा गलत व्यवस्थाहरु पनि थिए । त्यसलाई पहिचानसहितको संघीयताअनुकूल बनाउन बाँकी थियो । आदिवासी, जनजाति, मधेसी, मुस्लिम, दलित, थारु, आर्य सबैलाई समान अधिकारयुक्त बनाउन बाँकी थियो,” उनले भने । जसपाका नेताहरुले संसद् विघटन गर्ने, चुनाव घोषणा गर्ने अनि मन्‍त्रिपरिषद् विस्तार गर्न मिल्छ ? भन्दै प्रश्न पनि गरेका थिए ।

प्रतिनिधिसभा जिउँदै छ, सभामुखले बैठक बोलाउनुपर्छ
जसपाका संघीय परिषद् अध्यक्ष भट्टराई र वरिष्ठ नेता राईले संसद् संविधानतः विघटन नभएको बताए । अध्यक्ष भट्टराईले संसद्‌मा रहेका दुईतिहाइ बढी सांसदहरुले संसद जीवित छ भनिरहेको भन्दै अहिलेको संविधानअनुसार प्रधानमन्त्री र राष्ट्रपतिले संसद् विघटन गर्न नसक्ने बताए ।

अहिलेको संविधानमा सार्वभौमसत्ता जनतामा निहित रहेकाले सभामुखले प्रतिनिधिभा बैठक आह्‌वान गर्नसक्ने उनको भनाइ थियो । “संविधानअनुसार प्रतिनिधिसभा जिउँदै छ । हामी जिउँदै छौं । दुईतिहाइ बढी सांसद यो विघटन असंवैधानिक छ भनिरहेका छन्,” भट्टराईले भने, “जनतामा निहित सार्वभौमसत्ताको प्रयोग गरेर सभामुखले बैठक बोलाउनुपर्छ । प्रतिनिधिसभाको बैठक बसेर हामी फैसला गर्छौं ।”

उनले १२ बुँदे सहमति गर्दा गिरिजाप्रसाद कोइरालालाई आफूले कसरी संसद् पुन:स्थापना हुन्छ भनेर सोधेको पनि उनले स्मरण गरे । ०४७ सालको संविधानमा राजकीय र सार्वभौमसत्ता राजसंस्थामा निहित रहेको तर अहिले संविधानमा राजकीय र सार्वभौमसत्ता जनतामा छ भनेर लेखिएकाले त्यो अधिकार प्रयोग गरेर संसद् बोलाउन सकिने उनको तर्क थियो । 

त्यस्तै, जसपाका वरिष्ठ नेता अशोक राईले पनि संवैधानिक हिसाबले प्रतिनिधिसभा विघटन नभएको दाबी गरे । उनले  तत्कालीन राजा महेन्द्र शाहले ०१७ सालमा गरेको भन्दा अहिले ओलीले गरेको ‘कू’ खराब भएको बताए । “संवैधानिक हिसाबले भन्दा ०१७ मा संविधानको धाराअनुसारै संसद् भंग गरिएको थियो । अहिलेको अवस्थामा संसद् भंग संविधानविपरीत हो । जुन धारा उल्लेख गरेर सिफारिस र घोषणा भए ती धारा अर्कै प्रयोजनका लागि हो,” उनले भने, “विवाहमा बजाउनुपर्ने पञ्‍चेबाजा आज मलामीमा बजाइएको छ । एउटा प्रयोजनका लागि प्रयोग गर्नुपर्ने धारा अन्तै प्रयोग गरिएको छ । ”

न्यायालयको सम्मान छ, तर भर छैन !
संसद् विघटन असंवैधानिक भन्दै दायर रिट अहिले सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ । भट्टराईले अदालतमा मुद्दा रहेको सन्दर्भमा पनि सभामा चर्चा गरे । उनले अदालतप्रपित आफ्नो सम्मान रहे पनि भर गर्ने ठाउँ नभएको टिप्पणी गरे ।

उनले भने, “संसद्‍माथि आक्रमण गरियो, यो यत्तिकै रोकिनेवाला छैन । केपी ओलीले राज्यका सबै अंग क्रमश: कब्जा गर्दै गइरहेका छन् । म यहाँ नाम लिन चाहन्न अन्यथा अर्थ लाग्न सक्छ । विभिन्न निकायमा उनले खल्तीबाट मान्छे टिपेर राखेका छन्,” भट्टराईले भने, “अदालतबाट आशा त गरौं । विश्वास र भर गर्ने ठाउँ छैन ।”

उनले कांग्रेसलाई पनि न्यायलयले सत्य र न्यायको पक्षमा फैसला गर्छ भन्नेमा ढुक्क नहुन पनि आग्रह गरे । “कांग्रेसका र अरु साथीहरु म आग्रह गर्न चाहन्छु न्यायालयको सम्मान गरौं । आशा गरौं, तर ढुकक नबनौं । किनकि यसको ढाँचा परम्परागत छ । प्रक्रियामुखी छ,” उनले भने, “त्यसैले सत्य र न्यायको पक्षमा फैसला हुन्छ भनेर ढुक्क हुने अवस्था छैन । सर्वोच्च अदालतका न्यायाधीको कानमा पार्नका निम्ति पनि हामीले यो कार्यक्रम गरेको हो ।” 

ओली, कांग्रेस र माधव-प्रचण्ड निशानामा
भट्टराईले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मात्र आलोचना गरेनन् संसद् विघटनको विपक्षमा रहेको नेपाली कांग्रेस र नेकपा माधव-प्रचण्ड समूहलाई पनि कटाक्ष गरे ।

प्रधानमन्त्री ओली झापा आन्दोलनमा भूमिका खेले पनि ४० को दशकपछि निरन्तर प्रतिगमनको पक्षमा रहेको, गणतन्त्र र संघीयताको विरोधी भएको बताए । “भन्ने कम्युनिस्ट, बनाउने अयोध्यामा मन्दिर । सुकुम्बासी चेपाङको बस्तीमा आगो लगाउने ? त्यस्तो मान्छेलाई हामीले प्रधानमन्त्री बनायौं र इतिहास (प्रतिगमन) दोहोरियो,” उनले भने ।

त्यस्तै, उनले कांग्रेससँग मिलेर जान तयार रहे पनि कांग्रेस अझै ढुलमुल गरिरहेको भन्दै कटाक्ष गरे । संसद् पुन:स्थापनाको कुरा नगरौं भन्दै कांग्रेस सभापति देउवाले भनेकोतर्फ लक्षित गर्दै उनले भने, “केपी ओलीले संसद् विघटन गरिसके । अझै पनि सत्ताको तर मार्न पाइन्छ कि भनेर साथीहरु र्‍याल काढिरहनुभएको छ ।” 

त्यस्तै, उनले संसद् विघटनको विरोधमा रहेको नेकपाको प्रचण्ड-माधव समूहमाथि पनि व्यंग्य गरे । ओली भष्मासुर हो भनेर आफूले गत असारमै भन्दा नसुनेको भन्दै उनले भने, “प्रचचण्ड-माधवजी गिड्गिड् त गरिरहेका छन् । गत असारमै ओलीलाई ठेगान लगाउन सक्नुभएन भने यो भष्मासुर हो, तपाईं हामी सबैलाई हाहाकार पार्छ भनेको उहाँहरुले सुन्नुभएन । अहिले बल्ल जिल्ल परेर सडकमा पलेँटी कस्नुभएको छ ।”
-तस्बिरहरु : हरिशजंग क्षेत्री/बाह्रखरी

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, पुस १२, २०७७  १९:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro