site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अर्थतन्त्रको बाह्‍य परिदृश्य मजबुत, विदेशी मुद्रा सञ्‍चिति १५ खर्ब नाघ्यो

काठमाडौं । अर्थतन्त्रको बाह्‍य परिदृश्य बलियो बन्दै गएको छ । कोभिड-१९ को प्रभावबीच रेमिट्यान्समा वृद्धि भएको छ । आयात घटेको छ । निर्यात बढेको छ ।

मुलुकसँग रहेको विदेशी मुद्रा (विनिमय) को सञ्‍चिति ऐतिहासिक १५ खर्ब नाघेको नेपाल राष्ट्र बैंकले जनाएको छ । कोभिडको कारण पूर्वाधार निर्माण ठप्प हुँदा निर्माण सामग्रीको आयात घट्यो । आयात घटेकै कारण अनौपचारिक माध्यमबाट आउने रेमिट्यान्स घट्दा औपचारिक रेमिट्यान्स बढेको राष्ट्र बैंकका अधिकारी बताउँछन् ।

अर्कोतर्फ वैदेशिक रोजगारीबाट स्वदेश फर्कनेलाई जिन्सी सामान आयातमा प्रतिबन्ध हुँदासमेत रेमिट्यान्स बढेको राष्ट्र बैंकका प्रवक्तासमेत रहेका आर्थिक अनुसन्धान विभाग प्रमुख डा. गुणकर भट्टले बताउँदै आएका छन् । जसको प्रभाव मुलुकको बाह्‍य क्षेत्रमा देखिएको हो ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको चार महिनाको तथ्यांकका आधारमा तयार पारेको देशको वित्तीय स्थितिको प्रतिवेदनमा विदेशी विनिमय सञ्‍चिति १५ खर्ब ६ अर्ब ६ करोड पुगेको उल्लेख छ ।

०७७ असार मसान्तमा १४ खर्ब एक अर्ब ८४ करोड रहेको कुल विदेशी विनिमय सञ्‍चिति कात्तिक मसान्तमा आउँदा ७.४ प्रतिशतले वृद्धि भएको हो । अमेरिकी डलरमा यस्तो सञ्‍चिति ८.६ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

०७७ असार मसान्तमा अमेरिकी डलरमा ११ अर्ब ६५ करोड रहेको यस्तो सञ्‍चिति २०७७ कात्तिकमा बढेर १२ अर्ब ६५ करोड पुगेको छ । कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्‍चितिमा भारतीय मुद्राको अंश २३.२ प्रतिशत रहेको छ ।

१४ महिनाको वस्तु आयात धान्‍न पर्याप्त 
चालु आर्थिक वर्षको चार महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्‍चिति १५.४ महिनाको वस्तु आयात र १४.० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने प्रतिवेदनमा उल्लेख छ ।

यस अवधिमा विदेशी विनिमय सञ्‍चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ४०.० प्रतिशत, ११६.३ प्रतिशत र ३३.४ प्रतिशत रहेका छन् ।

शोधनान्तर बचत करिब एक खर्ब ११ अर्ब, चालु खाता २० अर्बले बचत
रेमिट्यान्स बढेको र आयात घटेको कारण भुक्तानी सन्तुलन (शोधनान्तर) बचत खर्बमाथि पुगेको छ । कात्तिक मसान्तमा शोधनान्तर बचत एक खर्ब १० अर्ब ६५ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर बचत २७ अर्ब २९ करोड थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति ९३ करोड १७ लाखले बचतमा छ ।

यस्तै, गत वर्षको सोही अवधिमा ३४ अर्ब १२ करोडले घाटमा रहेको चालु खाता पनि कात्तिक मसान्तमाा बचतमा छ । चार महिनाको अवधिमा चालु खाता २० अर्ब ४६ करोडले बचतमा छ ।

यस अवधिमा पुँजीगत ट्रान्सफर ९.३ प्रतिशतले कमी आएर चार अर्ब १५ करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, खुद प्रत्यक्ष वैदेशिक लगानी २३.९ प्रतिशतले कमी आई तीन अर्ब ७५ करोड कायम भएको छ ।

असोजको भन्दा मूल्यवृद्धि बढ्यो, निर्माण सामग्रीको थोक मूल्य घट्यो 
असोजको भन्दा कात्तिकमा मूल्यवृद्धि भने बढेको छ । ०७७ असोजमा ३.७९ प्रतिशत रहेको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति कात्तिक मसान्तमा आउँदा ४.०५ प्रतिशत पुगेको छ । यद्यपि, गत आर्थिक वर्षको भन्दा मुद्रस्फीति कम रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.७६ प्रतिशत थियो ।

यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.७३ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति २.७५ प्रतिशत छ । ०७६ कात्तिकको तुलनामा २०७७ कात्तिकमा तरकारी उपसमूहको मूल्यवृद्धि २०.८८ प्रतिशत र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि १३.७० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस अवधिमा काठमाडौं उपत्यकामा ३.३९ प्रतिशत, तराईमा ४.६९ प्रतिशत, पहाडमा ३.६४ प्रतिशत र हिमालमा ४.३२ प्रतिशत मुद्रास्फीति छ । कात्तिक मसान्तमा उपभोक्ता मुद्रास्फीतिभन्दा थोक मुद्रास्फीति दोब्बरभन्दा बढी देखिएको छ । २०७७ कात्तिकमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ९.४१ प्रतिशत छ । जुन गत आर्थिक वर्षको सोही अवधिको भन्दा पनि झन्डै दुई प्रतिशत बिन्दुले बढी हो । गत आवको सोही महिनामा यस्तो मुद्रास्फीति ७.५७ प्रतिशत थियो ।

यस अवधिमा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ७.७२ प्रतिशत, ११.४८ प्रतिशत र ३.४५ प्रतिशत रहेको तथा निर्माण सामग्रीको थोक मूल्य ०.१९ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।

निर्यात १०.८ प्रतिशतले वृद्धि हुँदा आयात १०.६ प्रतिशतले घट्यो 
चालु आर्थिक वर्षको चार महिनामा गत आर्थिक वर्षको सोही अवधिको भन्दा आयात घटेको छ । निर्यात भने बढेको छ । कात्तिक मसान्तसम्म निर्यात १०.८ प्रतिशतले वृद्धि भएर ४० अर्ब २० करोड पुगेको छ । यद्यपि, गत आर्थिक वर्षको भन्दा निर्यातको वृद्धिदर खुम्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा निर्यात वृद्धिदर २३.९ प्रतिशत थियो ।

गत वर्षको तुलनामा वस्तुगत आधारमा अलैँची, जुटका सामान, धागो (पोलिस्टर तथा अन्य), चाउचाउ, आयुर्वेदिक औषधिलगायत वस्तुको निर्यात बढेको छ । पाम तेल, दाल, जस्तापाता, हस्तकलाका सामानहरु, छालालगायतका वस्तुको निर्यात घटेको केन्द्रीय बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको सोही अवधिमा वस्तु आयात भने १०.६ प्रतिशतले घटेर चार खर्ब दुई अर्ब ४९ करोड कायम भएको छ । गत वर्षको सोही अवधिमा ६.९ प्रतिशतले संकुचन देखिएको आयातको दर यो वर्ष झनै बढेको हो ।

वस्तुगत आधारमा चामल, कच्चा सोयाबिन तेल, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, खाने तेल, उपचारका साधन तथा पार्टपुर्जालगायतका वस्तुको आयात बढेको छ । पेट्रोलियम पदार्थ, हवाईजहाज तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुर्जालगायतका वस्तुको आयात भने घटेको छ ।

चार महिनामा कुल वस्तु व्यापार घाटा १२.५ प्रतिशतले घटी तीन खर्ब ६२ अर्ब २९ करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

चालु आवको पहिलो चार महिनामा खुद सेवा आय घाटा ह्‌वात्तै बढेको छ । सेवा आयको प्रमुख स्रोत पर्यटन व्यवसाय कोभिडको कारण ठप्पजस्तै हुँदा सेवा आय घाटा गत वर्षको सोही अवधिमा दुई अर्ब ४९ करोड रहेकोमा बढेर १५ अर्ब ६४ पुगेको छ ।

सेवा खातामा भ्रमण आय ९१.१ प्रतिशले घटेर एक अर्ब ८८ करोड कायम हुँदा भ्रमण व्यय पनि ६८.६ प्रतिशतले घटेर आठ अर्ब तीन करोड कायम भएको छ । सबैभन्दा धेरै शिक्षातर्फको व्यय छ अर्ब ८० करोड रहेको राष्ट्र बैंकले जनाएको छ ।

निजी क्षेत्रको कर्जा ४.९ प्रतिशत र निक्षेप ५ प्रतिशतले बढ्यो 
कोभिडको प्रभावका बाबजुत पनि निजी क्षेत्रमा प्रवाह हुने कर्जा उल्लेख्य रुपमा बढेको छ । चार महिनाको अवधिमा निजी क्षेत्रमा प्रवाह हुने कर्जा ४.९ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५ प्रतिशतले बढेको थियो ।

वार्षिक विन्दुगत आधारमा २०७७ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ११.८ प्रतिशतले बढेको छ ।

चालु आवको चार महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा ७.४ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १.६ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ३.१ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ५.५ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ४.७ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ७.६ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।

समीक्षा अवधिमा कर्जा मात्रै नभएर बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप पनि उल्लेख्य बढेको छ । चार महिनामा बैंकहरुको निक्षेप ५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ३.१ प्रतिशतले बढेको थियो ।

वार्षिक विन्दुगत आधारमा २०७७ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २०.८ प्रतिशतले बढेको छ । ०७७ कात्तिकमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ७.९ प्रतिशत, ३३.४ प्रतिशत र ५०.१ प्रतिशत छ ।

घट्यो ब्याजदर 
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा समीक्षा अवधिमा वाणिज्य बैंकहरुको आधार ब्याजदर करिब २ प्रतिशतले घटेको छ । वाणिज्य बैंकहरुको ०७६ कात्तिकमा औसत आधार ९.५० प्रतिशत रहेकामा ०७७ कात्तिकमा ७.५७ प्रतिशत कायम भएको छ । आधार ब्याजदरमात्रै नभएर निक्षेपको भारित औसत ब्याजदर र कर्जाको भारित औसत ब्याजदर पनि उल्लेख्य घटेको छ ।

कर्जाको भारित औसत ब्याजदर करिब साढे २ प्रतिशतले घट्दा सिंगल डिजिटमान आएको छ । अघिल्लो कात्तिकमा १२.०७ प्रतिशत रहेकामा यो कात्तिक मसान्तमा ९.५२ प्रतिशतमा झरेको छ ।

यस्तै, २०७६ कात्तिकमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.८१ प्रतिशत रहेकामा यो कात्तिकमा ५.३१ प्रतिशतमा झरेको छ ।

सरकारको ब्याज अनुदानमा सहुलियतपूर्ण कर्जा लिने ऋणको संख्या ५६ हजार नाघेको छ । ०७७ कात्तिक मसान्तसम्ममा ४६ हजार ३४३ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई ७९ अर्ब ७५ करोड कर्जा बक्यौता रहेको राष्ट्र बैंकले जनाएको छ । यसमध्ये कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत २८ हजार ७६८ ऋणीलाई प्रवाह भएको ६५ अर्ब ३० करोड कर्जा छ भने सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत १७ हजार ५७५ ऋणीको १४ अर्ब ४५ करोड कर्जा बक्यौता छ ।

चार महिनामा एक खर्ब २१ अर्ब ६५ करोडको धितोपत्र सूचीकृत 
चालु आर्थिक वर्षको चार महिनामा धितोपत्र बजारमा एक खर्ब २१ अर्ब ६५ करोड बराबरको धितोपत्र सूचीकृत भएको छ । जसमध्ये एक खर्बबराबरको विकास ऋणपत्र, नौ अर्ब ४५ करोडबराबरको साधारण सेयर, पाँच अर्ब ५३ करोडबराबरको बोनस सेयर, चार अर्बबराबरको बैंक तथा वित्तीय संस्थानको ऋणपत्र, दुई अर्ब दुई करोडबराबरको हकप्रद सेयर र ६५ करोडबराबरको म्युचअल फन्ड सूचीकृत भएको छ ।

यस्तै, यस अवधिमा नेपाल धितोपत्र बोर्डले तीन अर्ब ४४ करोड बराबरको बैंक तथा वित्तीय संस्थाको ऋणपत्र डिबेन्चर, ९३ करोड ८६ लाखबराबरको साधारण सेयर, ५३ करोड ३७ लाखबराबरको हकप्रद सेयर र ५० करोडबराबरको म्युचअल फन्ड गरी कुल पाँच अर्ब ४१ करोडबराबरको धितोपत्र निष्कासन गर्न अनुमति दिएको छ ।

०७७ असार मसान्तमा बजार पुँजीकरण १७ खर्ब ९२ अर्ब ७६ करोड रहेको धितोपत्र बजारमा २०७७ कात्तिक मसान्तमा बजार पुँजीकरण २३ खर्ब दुई अर्ब ७६ करोड पुगेको छ । नेप्सेमा सूचीकृत चार अर्ब ९४ करोड सेयरको चुक्ता मूल्य चार खर्ब ८४ अर्ब ८० करोडबाट उक्त बजार पुँजीकरण पुगेको छ ।
-फाइल तस्बिर

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, पुस ७, २०७७  १०:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro