काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरलेलले अविश्वास प्रस्तावको चलखेल रोक्न नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्नुपरेको बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री पोखरेलले पार्टीको विधान र मर्मविपरीतको समीकरण, पार्टी विधानको व्यवस्थाविपरीत पहिलो वरीयताका अध्यक्षविरुद्ध अर्का अध्यक्षको एकल प्रस्ताव पनि संसद् विघटनको बाध्यताका रुपमा अर्थ्याएका छन् ।
मुख्यमन्त्री पोखरेलले भनेका छन्, ‘‘पार्टी एकताको मर्मविपरीताको समीकरण, पार्टी विधानको विपरीत पहिलो वरीयताका अध्यक्ष तथा प्रधानमन्त्रीका विरुद्धको संगीन आरोपसहितको अर्का अध्यक्षको एकल प्रस्ताव र दलभन्दा बाहिरबाट अविश्वास प्रस्ताव दर्ताको चलखेल रोक्ने प्रयास असफल भएपछिको बाध्यात्मक कदमका रुपमा ताजा जनादेशमा जाने निर्णय आएको हो ।’’
उनले पुरानो जनादेशको सान्दर्भिकता नभएको भन्दै त्यस्तो अवस्थामा नयाँ जनादेश स्वभाविक हुने तर्क गरेका छन् । ‘‘पुरानो जनादेशको सान्दर्भिकता स्थापित नएको अवस्थामा नयाँ जनादेश खोजी स्वभाविक मानिन्छ,’’ पोखरेलले भनेका छन्, ‘‘चुनावले लोकतन्त्र सुरक्षित र सदृढ हुन्छ ।’’ उनले सडक आन्दोलनले प्रतिक्रियावादी र दक्षिणपन्थीलाई फाइदा पुग्ने भन्दै सजग हुनसमेत आग्रह गरेका छन् ।