काठमाडौं । संसद् विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको चीरहरण गरेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निष्कर्ष निकालेको छ ।
आइतबार बसेको कांग्रेस पदाधिकारी बैठकले प्रधानमन्त्री ओलीले गैरसंवैधानिक र अलोकतान्त्रिक कदम चालेर संसद् विघटन गरेको भन्दै भर्त्सना गरेको हो । बैठकपछि पत्रकारहरुसँग संक्षीप्त कुराकानी गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटन गरेर देशलाई अस्थिरतातिर लैजाने र लोकतन्त्रमाथि संकट पैदा गर्ने काम भएकाले सडकबाट सामना गर्ने निर्णय भएको बताए । उनले भने, ‘‘प्रधानमन्त्री केपी शर्मा ओलीले देशको संविधानको चीरहरण गर्दै अहिले संसद् विघटन गर्नुभयो यो कुनै पनि हालतमा वैधानिक छैन । नेपालको संविधानलाई चीरहरण गरिएको छ । आलोकतान्त्रिक कदम प्रधानमन्त्रीले चाल्नुभएको छ र यसको नेपाली कांग्रेसले घोर भर्त्सना गर्दछ । यसले राष्ट्रलाई अस्थिरतातिर लैजाने लोकतन्त्रलाई संकटतिर लैजानेछ । यो अत्यन्त निन्दनीय काम भयो हामी यसको समाना गर्छौं ।’’
यस्तै नेता रमेश लेखकले संसद् विघटन गरिएकोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताए । बैठकले सरकारको अधिनायकवादी, सर्वसत्तावादी र निरंकुश चरित्रबाट उत्पन्न निन्दनीय कार्य भएको ठहर गरेको पनि नेता लेखकले बताए । उनले भने, ‘‘हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भयो । हामीले यो कदम लोकतान्त्रिक मूल्य र मान्यताका प्रतिकूल, संवैधानिक व्यवस्थाका खिलाप नेपाल कम्युनिस्ट पार्टीको सरकारको अधिनायकवादी, सर्वसत्तावादी र निरंकुश चरित्रबाट उत्पन्न निन्दनीय कार्य हो भन्ने हाम्रो बैठकले ठहर गरेको छ ।’’
आगामी दिनमा पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा संसद्मा रहेका अन्य राजनीतिक दलहरुसँग सल्लाह गरी अगाडि बढ्ने निर्णय गरेको पनि नेता लेखकले बताए ।