काठमाडौं । संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावलाई सत्तारुढ दलकै सांसदहरुले पार्टीभित्रको आन्तरिक संकटको परिणाम भएको बताएका छन् ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भेला भएका सांसदहरुले पार्टीभित्र संकट बढ्दै गएपछि ओलीले प्रस्ताव ल्याएको बताए । सांसद्हरुले प्रधानमन्त्री ओलीलाई यो असंवैधानिक कदमलाई सच्याउन पनि सुझाव दिएका छन् ।
सांसद् कृष्णप्रसाद दाहालले प्रधानमन्त्रीलाई प्रस्ताव फिर्ता लिन आग्रह गरे । प्रस्ताव संविधानअनुसार नभएको उल्लेख गर्दै उनले यसलाई सच्याउन आग्रह गरेका हुन् । उनले भने, ‘‘यो नेकपाभित्रको संकट गहिरिँदै जाँदाको परिणाम हो । यो राम्रो भएन संवैधानिक बाटो समतेको छैन् यसलाई सच्याउनुपर्छ ।’’
अर्का सांसद विमला विकले यो प्रस्ताव जनताको हितमा नभएको बताए । जनताको बलिदानीबाट देशमा स्थिरता आएको उल्लेख गर्दै उनले जनचाहानाविपरीतको काम नगर्न पनि आग्रह गरे ।
उनले भने, ‘‘यो नहुनुपर्ने भयो । जनताको हितमा छैन । जनताको बलिदानीबाट देशमा स्थिरता आएको थियो । जनताले दिएको म्यान्डेड सरकारले पालना गर्न सकेन । यसमा दुः ख व्यक्त गर्छु ।’’
अरुलाई दोषी देखाएर कसैलाई पनि उम्किने ठाउँ नभएको उनले बताए । पार्टी विभाजन र देशमा अस्थिरता ल्याउने पक्षमा कोही पनि नभएको उल्लेख गर्दै उनले अपरिवक्व नेतृत्वका कारण यस्तो अवस्था आएको बताए ।