विराटनगर । संसद् विघटनको विरोधमा नेपाली कांग्रेसले विराटनगरमा प्रदर्शन गरेको छ ।
आइतबार तीनपैनीचोकमा भेला भई कांग्रेस नेता–कार्यकर्ताले सरकारको कदमविरुद्ध नाराबाजी गरेका हुन् । संसद् विघटन गर्नु संविधानविपरीत भएको कांग्रेसको ठहर छ ।
कांग्रेस जिल्ला कार्यसमिति मोरङको आयोजनामा जुलुस निकालिएको हो । जुलुसको नेतृत्व कांग्रेसका मोरङ सभापति डिगबहादुर लिम्बुले गरेका थिए ।
जुलुसमा कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरे, सार्वजनिक लेखा समिति प्रदेश नम्बर–१ का सभापति शिवनारायण सिंह गन्गाई, प्रमुख सचेतक केदार कार्कीलगायत सहभागी थिए ।
विरोध प्रदर्शनपछि महेन्द्रचोकमा विरोधसभा गरियो । सभामा बोल्ने वक्ताले संसद विघटन गणतन्त्रमाथि नै प्रहार भएको बताएका थिए ।