काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गर्दा त्यसको प्रभाव सेयर बजारमा पनि परेको छ । बजार खुल्नु अगाडि नै बिहान बसेको मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको प्रस्ताव राष्ट्रपतिसमक्ष पेश गरेका थिए ।
जसको प्रभावले दिनभर जस्तो उतारचढाव देखिएको सेयर बजारमा राष्ट्रपतिले संसद विघटन गर्ने निर्णय गरेसँगै लगातार ओरालो लाग्दा सेयरबजार परिसूचक नेप्सेमा करिब १०० अंकको गिरावट आएको छ ।
आइतबार बजार परिसूचक नेप्से ९६.८८ अंकले गिरावट हुँदा १९३५.६३ अंकमा बन्द भएको छ ।
संसद् विघटनले गर्दा अन्योलमा देखिएका लगानीकर्ताले बिक्री चाप बढाउँदा नेप्सेमा पहिरो गए पनि बजारमा रहेको अधिक तरलताले गर्दा बजार बढ्ने विश्वासमा खरिदकर्ता पनि सक्रिय हुँदा साढे ९ अर्ब माथिको कारोबार भएको छ ।
आज नेप्सेमा ७९ हजार ९६७ कारोबारमा १९८ कम्पनीको १ करोड ४५ लाख ०९ हजार ५३३ सेयर किनबेच हुँदा ९ अर्ब ४ करोड ७९ लाख २८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा आएका सबै समूहको उपसूचक रातो हुँदा अन्य समूहको सूचक ८.३९ प्रतिशतले घटेको छ ।
त्यस्तै हाइड्रोपावरको सूचक साढे ६ प्रतिशत माथिले ओरालो लाग्दा जीवन बिमा निर्जीवन बिमा समूहको सूचक ५ प्रतिशत माथिले झरेको छ । बजारलाई लिड गर्ने बैंकिङ सूचक पनि झन्डै ३ प्रतिशतले झरेको छ । कारोबारमा आएका १९८ कम्पनीमध्ये ८ कम्पनीको मात्रै सेयर मूल्य वृद्धि हुँदा १६५ कम्पनीको सेयरमूल्य घटेको छ ।
नेपाल पुनर्बिमा कम्पनीसहित १३ कम्पनीको सेयर मूल्य ९ प्रतिशत माथिले घटेको छ भने नेप्सेमा सूचीकृत भएर आजबाट कारोबार खुलेको युनाइटेड इदी मार्दीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यता नेपाल लाइफ इन्स्योरेन्सको कारोबार रकम अर्ब नाघ्दा नेपाल पुनर्बिमा कम्पनीको करिब ८० करोडको कारोबार भएको छ । नेपाल लाइफ इन्स्यारेन्सको १ अर्ब ७ करोड १९ लाख १४ हजारको कारोबार भएको छ । नेप्सेमा एकैदिन अर्ब माथिको कारोबार हुने नेपाल लाइफ दोस्रो कम्पनी हो । यसअघि नेपाल पुनर्बिमा कम्पनीको मात्रै एक दिनमा नै अर्ब माथिको कारोबार भएको थियो ।