काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आकस्मिक बैठक डाकेको छ । प्रधानमन्त्रीले अनयासै संसद् विघटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको भन्दै कांग्रेसले आधिकारिक धारणा सार्वजनिक गर्न पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक डाकेको हो ।
दिउँसो १ बजे सभापतिको निवास बूढानीलकण्ठमा बस्ने बैठकले राष्ट्रपतिलाई सरकारको निर्णय पुनर्विचारका लागि फिर्ता पठाउन आह्वान गर्ने र त्यसअघि नै राष्ट्रपतिले सरकारको प्रस्ताव स्वीकृत गरे पार्टीको अधिकारिक धारणा बनाएर भोलिका कदमबारे निर्णय गर्ने कांग्रेस सह-महामन्त्री प्रकाशशरण महतले जानकारी दिए ।
‘‘सरकारले संसद् विघटन सिफारिस गरेपछि अब संविधान र जनप्रतिनिधि मुलक संस्था जोगाउने कि सिध्याउने भन्ने राष्ट्रपतिको विवेकमा पुगेको छ,’’ सह-महामन्त्री महतले भने, ‘‘राष्ट्रपतिले संविधान र लोकतन्त्रको रक्षा गर्ने कि सरकारको निर्णय सदर गर्ने निकायमात्र भन्ने परीक्षा सुरु भएको छ ।’’ उनले संविधानको रक्षाका लागि राष्ट्रपतिले विवेक र अधिकारको प्रयोग गर्ने समय आएको बताए ।