काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि जनताले करिब दुईतिहाइ मत दिँदा पनि नेकपाले जोगाउन नसकेको टिप्पणी गरेका छन् ।
आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले संसद् विघटनको सिफारिस गर्ने निर्णय गरेसँगै नेता सिंहले सामाजिक सन्जालमार्फत नेकपाको प्रवृत्तिप्रति आलोचना गरेका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘‘संसद विघटनको सिफारिस असंवैधानिक कदम हो । जनताले राजनीतिक स्थिरताका लागि करिब दुईतिहाइ मत दिँदा पनि नेकपाले त्यसलाई जोगाउन सकेन । पार्टिभित्रको अन्तरसंघर्षको सिकार संसदलाई बनाउनु निन्दनीय छ ।’’
उनले प्रधानमन्त्री केपी ओलीको संसद् विघटन गर्ने निर्णयको भर्त्सनासमेत गरेका छन् । ‘यदि प्रधानमन्त्रीले यस्तो अप्रिय निर्णय लियको साँचो हो भने लोकतन्त्र र संविधानलाई संकटमा पार्ने असंवैधानिक कदमो घोर भर्त्सना गर्दछु,’’ नेता सिंहले भनेका छन्, ‘‘साथै सम्पूर्ण लोकतन्त्रवादीहरुलाई एक ढिक्का भएर यसको खिलापमा उभिनसमेत अपिल गर्दछु ।’’