site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एयरपोर्टमा जागिर दिने भन्दै ९४ व्यक्तिबाट करोडौं ठगी

काठमाडौं । आफूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको शाखा अधिकृत बताउने सुरेशकुमार महतो काठमाडौंको गौशालास्थित हृदयमान कपाली उर्फ अब्दुल रहीम खानको टेलरमा धाइरहन्थे । विगत तीन वर्षदेखि विमानस्थल कर्मचारीका सरकारी पोसाक सिलाउन महतो त्यहाँ जान्थे ।

सधैँ आउने । मिठो बोल्ने । नीलो पाइन्ट, सेतो सर्ट, टलक्क टल्केका बुट र सरकारी बाइक । ६७ वर्षीय अब्दुललाई महतो परिवारजत्तिकै लाग्न थालेको थियो ।

 

विमानस्थल कर्मचारीका लागि तयार पारिएको नक्कली ड्रेस । तस्बिर : बाह्रखरी


नजिकै अब्दुलपत्नी नसिमा बानुको कस्मेटिक पसल । महतो नसिमाको पसलबाट कस्मेटिक सामान लैजान्थे । “दुई चम्चा चिनी हालेको मिठो चिया खुवाउनु भाउजू, भन्थ्यो । हामीले परिवारको सदस्यझैँ मानेका थियौँ,” ६० वर्षीया नसिमा भावुक भइन् । तर, तिनै महतो अहिले फरार छन् । उनको असली नाम रामसोबर साह भएको खुलेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जागिर लगाइदिन्छु भन्दै ९४ जनाभन्दा बढीलाई ६५ हजारदेखि एक लाख ८० हजार रुपैयाँसम्म ठगेर साह फरार भएको प्रहरीमा उजुरी परेको छ ।  ठगीमा पर्नेमा नसिमाकै परिवारका ११ जना सदस्य छन् । उनकै भरमा साहमाथि विश्वास गरेर रकम बुझाउने १९ जना छन् ।

नसिमाकै परिवारले विमानस्थलको जागिरका लागि सजिलै ‘नियुक्तिपत्र’ पाएको देखेर छिमेकका चारजनाले थप रकम बुझाएका थिए ।

 

अब्दुलपत्नी नसिमा बानुको कस्मेटिक पसल


ठगीको सिलसिला
कहिल्यै अरुको जागिरबारे वास्ता नराख्ने नसिमाले एक दिन साहको काम सोधिन् । साहले आफू एअरपोर्टको सुब्बा भएको बताए । ‘मेरो एउटा बैनी छ, सरला राजवंशी । उसलाई दुःख छ । उसको छोरालाई जागिर दिन सक्छौ ?’ नसिमाले कुरा राखिन् । साहले सक्ने भन्दै एअरपोर्टमा कर्मचारी मागेको ‘विज्ञापन’ मोबाइलबाटै देखाइदिए ।

नसिमाका नातिनातिनाले सो विज्ञापन पत्रिकामा पनि हेरेपछि साहप्रति उनको परिवारको विश्वास बढ्यो । साहले ‘लोकसेवाको जाँच दिन गाह्रो हुन्छ । हामीले निजीबाट लगेर खसाल्ने हो । यो बाहिर हल्ला गर्नुहुन्न । भित्र गइसकेपछि मेरो जिम्मा हुन्छ’ भनेको नसिमा सम्झिन्छिन् ।

त्यसपछि राजवंशी र उनको छोराले साहसँग आफैँ कुरा गरेको नसिमा सुनाउँछिन् ।

साहले फारम भर्न र मेडिकल जाँच गर्न ११ हजार लाग्ने बताए । टेलरिङको काम गर्ने राजवंशीसँग तत्काल त्यत्रो पैसा नभएपछि नसिमाले नै ‘बैनी’लाई पैसा दिइन् ।

गत वर्ष फागुनमा साहले राजवंशीको छोराको ‘नियुक्तिपत्र’ लिएर आए । कम्प्युटर पदको लागि उनले आवेदन दिएका थिए । त्यसपछि नसिमाले आफ्नै नाति र नातिनीको लागि पहल गरिन् । उनीहरुको पनि ‘नियुक्तिपत्र’ दुई महिनाभित्रै आयो ।

 

नक्कली नियुक्तिपत्र


नसिमा थप हौसिइन् । अरु आफन्त र टोलकै मानिसको जागिरका लागि साहसित अनुरोध गरिन् । साहले सहजै स्वीकारे । तर, धेरै हल्ला नगर्न र हल्लाले आफ्नो जागिर धरापमा पर्ने भन्दै साहले चुप बस्न भनेको २० वर्षीया नातिनी साना बानु सुनाउँछिन् । उनको कुरामा सही थप्छन्, परिवारका अरु सदस्य पनि ।

प्लस टु सकाएकी सानाले पहिले टिकेटिङका लागि ‘आवेदन’ दिएकी थिइन् । साहले नै टिकेटिङमा थोरै तलब हुन्छ भनेपछि उनले पनि कम्प्युटरमै फारम भरिन् ।
जागिरका लागि उनले एसईई र प्लस टुको रिजल्ट र मेडिकल जाँचको सर्टिफिकेटका फोटोकपी बुझाएकी थिइन् । नागरिकता सक्कलै दिइन् । लिखित पास गर्न उनलाई कम्प्युटरबारे पुस्तक नै दिइएको थियो । कम्प्युटर कोर्स पढ्न भनिएको थियो । साहकै सिफारिसमा बानेश्वरस्थित कम्प्युटर सेन्टरमा उनले कक्षा लिइन् ।

“यो नानी त राम्री रहिछ, पछि एअर होस्टेज बन्नुपर्छ,” साहले भनेको आमा सम्सब बानु सम्झिन्छिन्, “धन्न ठगीको मात्रै मुद्दा रह्यो । हाम्रा छोराछोरीलाई बेचिदिएको भए के हुन्थ्यो ? हामीले त विश्वास गरेका थियौँ ।”

सम्सबका २५ वर्षीय छोरा आलिम खान पत्रकारितामा स्नातक गरिहेका छन् । सरकारी जागिर खाने लोभमा उनले पनि साहलाई सबै डकुमेन्ट र पैसा बुझाएका थिए ।

सानाले नागरिकता फिर्ता पाए पनि आलिमसहित चारजनाको नागरिकता साहसँगै छ । नागरिकताको प्रतिलिपि लिन वडा कार्यालय धाउनु परेको र दुःख पाएको आलिमले बताए । हजुरबुवा र हजुरआमाले विश्वास गरेकाले आफूले पनि साहमाथि विश्वास गरेको उनी बताउँछन् ।

यता, साहसँग ‘पार्टनर’ बनेर राजवंशीले थप ६० जनालाई विमानस्थलको जागिर खुवाउन पैसा उठाइन् । तर, त्यो सहकार्यले अहिले उनी गौशाला प्रहरीको हिरासतमा छिन् । उनका २० र १० वर्षीय छोरा मामाघरमा छन् । पतिबाट छुट्टिएर बसेकी राजवंशीले दुःखजिलो गरेर छोरा हुर्काइरहेकी नसिमा बताउँछिन् ।

 

नक्कली परीक्षाका लागि तयार पारिएको नक्कली प्रवेश पत्र


“एक हप्तादेखि त्यो बहिनी प्रहरीचौकीमा छिन् । मेरै कारणले यस्तो दुःख पाइन् । साह्रै मन दुखेको छ,” पीडा मिश्रित स्वरमा उनले भनिन् ।

गएको कात्तिक २५ गते बिहान ४ बजे नसिमा र अब्दुलको साहसँग फोनमा अन्तिम कुराकानी भएको थियो । नसिमाले साहको बारेमा सोधिन् । फोन स्वीच अफ गरेर बस्नुको कारण खोजिन् । पैसा बुझाएकाहरुले आफूलाई ‘करकर’ गरिरहेको सुनाइन् । साहले सबै काम भइसकेको बताएका थिए । ‘मंसिरको ६ गते छठ सकिन्छ । ९ गते बाबुहरुलाई लिएर अफिस जाने हो । सबै काम भइसक्यो । म दुई दिनको लागि बाहिर जाँदैछु’ साहले नसिमालाई भनेका थिए । त्यसको भोलिपल्टदेखि स्वीच अफ भएको साहको फोन अहिलेसम्म बन्द नै छ ।

साहको घर सर्लाही । पत्नी र दुई सन्तान उतै बस्ने गरेको नसिमा बताउँछिन् । गत वर्ष छठमा नसिमाकै पसलबाट साहले छठका सबै सामान किनेर लगेका थिए । यस वर्ष पनि उनले ‘चुरापोते ठिक पारिदिऊँ ?’ भनेर सोधेकी थिइन् । साहले ‘यतै इन्तजाम गरेको’ जवाफ फर्काएको नसिमा सम्झिन्छन् ।

 

ठगीमा संलग्न रामसरोबर साह 


मंसिर १० सम्म पनि साह नआएपछि अब्दुल दम्पतीले उनको सोधीखोजी सुरु गरे । सरकारी कर्मचारी भन्ठानेको व्यक्ति महतो नभई साह भन्ने पोल खुलेपछि त्यसको भोलिपल्ट गौशाला प्रहरीमा ठगीको उजुरी दिए । साहविरुद्ध ३४ जनालाई ठगेको उजुरी पर्‍यो ।

“त्यति नै बेला कसले के खबर गर्‍यो, थाहा भएन । एकैपटक सरला राजवंशीले हामीलाई ठग्यो भन्दै त्यो बहिनीविरुद्ध प्रहरीमा उजुरी दर्ता गरे,” उनले भनिन् । “अघिल्लो दिन पनि तिनै मानिसहरुले उसले पैसा ठगी भन्दै मिडियाबाजी गरेका थिए,” नसिमाले थपिन् । साह प्रायः बिहानै टेलर आउँथे । ‘नाइट ड्युटी गरेको’ भन्थे । जागिर लगाइदिनभन्दा तुरुन्तै फारम भर्न र मेडिकल जाँच गर्न लगाउँथे । साहले ती सबैलाई सुभम पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरका डा. दीपेन्द्र महतो भन्ने व्यक्तिबाट मेडिकल जाँच गर्न लगाएका थिए ।

तर, अहिले पोलिक्लिनिकमा बुझ्दा त्यस्तो नाम भएको डाक्टर नभएको पीडितहरु बताउँछन् । जागिर पाउने आशामा पीडितहरुले बिमादेखि बैंकमा खाता खोलेका थिए । थुप्रै पीडितले नियुक्तिपत्रका साथमा अफिस लगाएर जाने पोसाकसमेत पाए । दर्जनभन्दा बढी मेडिकल रिपोर्ट साहले नसिमालाई नै छोडेर गएका छन् । त्यो रिपोर्ट के गर्ने हो, नसिमा र उनको परिवारलाई थाहा छैन ।

 

४५ वर्षदेखि गौशाला बसेका अब्दुल एक सातादेखि दिनहुँ प्रहरीचौकी धाइरहेका छन् । साहको खोजीबारे उनी चिन्तित छन् । साह सर्लाहीमा भेटिएको भनेर खबर गर्दा पनि प्रहरीले वास्ता नगरेको पीडितहरुको आरोप छ । राजवंशीलाई थुनेकोमा केहीको गुनासो छ ।

खोजतलास जारी

घटनाबारे बुझ्न खोज्दा प्रहरी परिसर काठमाडाैंका प्रवक्ता डीएसपी प्रमेश विष्टले छानबिन जारी रहेको जानकारी दिए । उनले आरोपितमध्येको एक राजवंशीलाई हिरासतमा राखिएको र फरार अभियुक्तको खोजीकार्य भइरहेको बताए ।

सबै नक्कली !

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कर्मचारी भन्दै ठग्ने साहबारे सोध्दा नेपाल वायुसेवा निगमका प्रवक्ता करिश्मा श्रेष्ठले सुरेशकुमार महतो नाम गरेको कुनैपनि कर्मचारी नभएको बताइन् । फरार साहले वायुसेवा निगम लेखको लेटरहेड, छापको प्रयोग गरेका छन् । तर, प्रवक्ता श्रेष्ठले अभियुक्तले प्रयोग गरेको लेटरहेड, हस्ताक्षर र छापसमेत निगमको नरहेको प्रष्ट पारिन् ।


 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०७७  ११:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro