
काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनर्कर्जा वितरण सुरु गरेको छ । चालु आर्थिक वर्षबाट लागु भएको पुनर्कर्जा कार्यविधिअनुसार कात्तिकबाटै ग्राहक ऋणीअनुसार प्रदान हुने पुनर्कर्जा वितरण सुरु गरेको राष्ट्र बैंकले मंसिर लागेसँगै एकमुष्ट पुनर्कर्जा वितरण पनि सुरु गरेको छ ।
कार्यविधिअनुसार नेपाल राष्ट्र बैंकले एकमुष्ट पुनर्कर्जाका लागि गत भदौ दोस्रो साता आवेदन माग गरेको थियो । आवेदन दिने समय असोज मसान्तमा सकिएको छ भने एकमुष्ट पुनर्कर्जाका लागि राष्ट्र बैंकमा बैंक तथा वित्तीय संस्थाहरूमार्फत ७२ अर्बभन्दा बढीको आवेदन परेको थियो ।
सोहीअनुसार राष्ट्र बैंकले अध्ययन सकेर एकमुष्ट पुनर्कर्जाका लागि आवेदन परेको ४५ वटै बैंक तथा वित्तीय संस्थाहरूका लागि पुनर्कर्जा लिन पत्राचार गरिसकेको नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख देवकुमार ढकाल बताउँछन् ।
“४५ बैंक तथा वित्तीय संस्थाबाट ७२ अर्बभन्दा माथिको आवेदन परे पनि अहिले ५० अर्बको मात्रै आवेदन स्वीकृत भएको छ,” ढकालले बाह्रखरीसँग भने, “प्रक्रिया नमिलेको तथा पुनर्कर्जाको रेसियो नमिलेको आवेदन भने रद्द भएको छ ।” ग्राहक ऋणीअनुसार वितरण हुने पुनर्कर्जा भने वितरण भइरहेको राष्ट्र बैंकले जनाएको छ । यो पुनर्कर्जा अहिलेसम्म नौ अर्बभन्दा माथि लगानी भइसकेको र ४० अर्बभन्दा माथिको माग रहेको नियमन विभाग प्रमुख ढकालले बताए ।
राष्ट्र बैंकले गत साउन ६ गत पुनर्कर्जा कार्यविधि लागु गर्दै बैंक तथा वित्तीय संस्थाको हरेक शाखाले पाँचवटा पुनर्कर्जा प्रदान गर्नुपर्ने व्यवस्था गरेको थियो । राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधि २०७७ जारी गर्दै बैंक तथा वित्तीय संस्थालाई एकमुष्ट पुनर्कर्जा प्रदान गर्ने र त्यसको लागि बैंक तथा वित्तीय संस्थाको हरेक शाखाले पाँचवटा पुनर्कर्जा प्रदान गर्ने व्यवस्था गरेको थियो ।
राष्ट्र बैंकले नयाँ कार्यविधिमार्फत पुनर्कर्जाको सीमा घटाउने, एकमुष्ट पुनर्कर्जा उपलब्ध गराउने, पुनर्कर्जाको वर्गीकरण, लगातार तीन वर्ष २० प्रतिशतभन्दा माथि नाफा कमाउने उद्योगले पुनर्कर्जा नपाउनेलगायत व्यवस्था गरेको थियो । यस्तै लघुवित्तमार्फत समेत पुनर्कर्जा प्रदान हुने व्यवस्था कार्यविधिमा छ । पुनर्कर्जाको अवधि एक वर्षको हुनेछ ।
कार्यविधिमा पुनर्कर्जा कोषमा रहेकोभन्दा अधिकत ५ गुणासम्म प्रदान सक्ने सीमा तोकेको थियो । उक्त सीमाका आधारमा राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई ७० प्रतिशत एकमुष्ट, २० प्रतिशत ग्राहकअनुसार मूल्याङ्कन गरी क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई र बाँकी रहेको १० प्रतिशत लघुवित्तलाई पुनर्कर्जा प्रदान गर्न सक्नेछ ।
कोषमा अहिले ४२ अर्ब रुपैयाँ रहेको ढकाल बताउँछन् । उक्त स्रोतको पाँच गुणासम्म लगानी गर्दा दुई खर्ब १० अर्बसम्म लगानी गर्न सक्ने देखिन्छ । दुई खर्ब १० अर्बको ७० प्रतिशत एकमुष्ट रुपमा पुनर्कर्जा प्रदान गर्न सकिने हुँदा अहिले ५० अर्बको मात्रै स्वीकृत भएको अवस्थामा अझै करिब एक खर्ब एकमुष्ट पुनर्कर्जा प्रदान गर्नसक्ने अवस्था रहेको देखिन्छ ।
पहिलो चरणमा अपेक्षाकृत पुनर्कर्जा माग पनि नभएको र स्रोत पनि भएको अवस्थामा पुन आवेदन खुला गर्ने ढकाल बताउँछन् । अहिले २२ अर्बको फाइल अस्वीकृत भएको र आवेदन दिन छुटेकाहरूले पनि आवेदन दिन सक्ने गरी अहिलेको पुनर्कर्जा लगानी भएपछि पुन: आवेदन माग गरिने ढकालले बताए ।
कस्ता ऋणीले पाउँदैनन् पुनर्कर्जा ?
उद्यमका लागि नभई व्यक्तिगत प्रयोजनका लागि प्रवाह भएको ओभरड्राफ्ट कर्जा, घर जग्गा कर्जा, सवारी कर्जा, घरायसी सामग्री कर्जा, मार्जिन कर्जा, सुनचाँदी कर्जा, सामाजिक कर्जा तथा व्यक्तिगत नाममा वा व्यक्तिगत उपभोगका लागि लिइएका कर्जाहरूले पुनर्कर्जा नपाउने कार्यविधिमा उल्लेख छ । यस्तै ब्याज अनुदान प्राप्त सहुलियतपूर्ण कर्जालगायतका अन्य अनुदान प्राप्त कर्जाहरूले पनि पुनर्कर्जा नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । लगातार तीन वर्ष २० प्रतिशत नाफा आर्जन गरेको व्यवसायले पनि पुनर्कर्जा नपाउने व्यवस्था रहेको छ ।
कसरी हुन्छ पुनर्कर्जा प्रदान ?
नेपाल राष्ट्र बैंकले पुनर्कर्जालाई लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा, साधारण पुनर्कर्जा र विशेष पुनर्कर्जा गरेर तीन प्रकारमा वर्गीकरण गरेको छ । एकमुष्ट रूपमा प्रदान गरिने पुनर्कर्जाका लागि राष्ट्र बैंकले इजाजतपत्रप्राप्त वित्तीय संस्थाहरूबाट आवेदन आह्वान गर्छ । राष्ट्र बैंकले आवेदन आह्वान गरेपछि बैंकहरूले आफ्ना ग्राहकसँग पुनर्कर्जाका लागि आवेदनमा माग गर्छन् र राष्ट्र बैंकले तोकेका मापदण्ड पूरा गरेका बैंक तथा वित्तीय संस्थाहरूले प्रक्रिया पूरा गरेका पुनर्कर्जाका आधारमा राष्ट्र बैंकमा एकमुष्ट पुनर्कर्जाको लागि आवेदन पेस गर्छन् ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले एकमुष्ट पुनर्कर्जाका लागि तोकेको मापदण्ड पूरा गरेर आवेदन दिएका बैंकहरूलाई पुनर्कर्जा उपलब्ध गराउँछ भने बैंकहरूले पनि राष्ट्र बैंकले उपलब्ध गराएपछि ग्राहकलाई सोहीअनुसार पुनर्कर्जा प्रदान गर्छन् । यसरी प्रदान हुने पुनर्कर्जा प्रतिग्राहक अधिकतम सीमा पाँच करोड छ ।
बैंक तथा वित्तीय संस्थाले प्रदान गरेको असल कर्जाको आधारमै पुनर्कर्जा प्रदान हुनेछ । ग्राहकअनुसार प्रदान हुने पुनर्कर्जा पनि बैंक तथा वित्तीय संस्थामार्फत नै राष्ट्र बैंकमा फाइल पेस हुन्छ भने त्यस्तो कर्जा पनि बैंकहरूले प्रदान गरेको असल कर्जालाई ग्यारेन्टी मानेर प्रदान हुन्छ ।
कस्ता ऋणीले पाउँछन् पुनर्कर्जा ?
लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जाका लागि सञ्चालनमा रहेका उद्यम, व्यवसायका लागि प्रदान भएको १५ लाखसम्मका कर्जाहरू, प्राकृतिक प्रकोप वा कुनै महामारीका कारण बन्द रहे पनि त्यस्तो घटनाअघि सञ्चालनमा रहेका र व्यावसायिक दृष्टिकोणले भविष्यमा सम्भाव्यता रहेका १५ लाखसम्मका कर्जाहरू पुनर्कर्जाको लागि योग्य हुनेछ । त्यस्तै प्राकृतिक प्रकोपका कारण पुनरुत्थान गर्नुपर्ने लघु, घरेलु तथा साना उद्यमीहरूलाई प्रवाह भएका थप कर्जाहरू, वैदेशिक रोजगारीबाट फर्केका उद्यमीहरूलाई प्रवाह भएका कर्जाहरू, कृषि उत्पादन तथा प्रशोधन, पशुपक्षी पालन, ह्याचरी, मत्स्यपालन आदिमा प्रवाहित कर्जाहरू, कृषि औजार तथा यन्त्र उत्पादन तथा बिक्री-वितरण, राष्ट्र बैंकले समय-समयमा तोकेका अन्य लघु, घरेलु तथा साना उद्यम कर्जाहरू पनि पुनर्कर्जाका लागि योग्य हुनेछन् ।
विशेष पुनर्कर्जाका लागि सञ्चालनमा रहेका निर्यातजन्य उद्योग, व्यवसायलाई प्रवाह भएका कर्जाहरू, न्यून आय भएका महिला, आदिवासी, जनजाति, मधेसी, दलित, फरक ढङ्गबाट सक्षम व्यक्तिले सञ्चालन गरेको उद्यम व्यवसायमा प्रवाह भएका कर्जाहरू योग्य हुनेछ । त्यस्तै रुग्ण उद्योग तथा प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा प्रदान गरिएका कर्जाहरू, वैदेशिक रोजगारीमा जानेलाई प्रवाह भएको कर्जाहरू र कोभिड-१९ बाट अति प्रभावित भनी बैंकले तोकेका क्षेत्रमा प्रदान गरिएका कर्जाहरू योग्य हुनेछ ।
साधारण पुनर्कर्जाका लागि जलविद्युत् परियोजना, कृषि क्षेत्र, पशुपक्षी तथा मत्स्यपालन व्यवसाय, विदेशमा रोजगारी वा अध्ययन गरी फर्केका युवाहरूले सञ्चालन गरेका उद्योग-व्यवसाय, उत्पादनमूलक उद्योग, पर्यटन उद्योग, निर्माण उद्योग, शिक्षा, स्वास्थ्य, सञ्चार, मनोरञ्जन, हवाई उड्डयन, सार्वजानिक यातायात, औषधि उद्योग, डायग्नोस्टिक सेन्टर, स्वास्थ्य शिक्षण संस्था, अस्पताल, फोहोरमैला प्रशोधनसँग सम्बन्धित उद्योगमा प्रवाह भएका कर्जाहरू योग्य हुनेछ । यस्तै पर्यटकीय सम्भावना रहेका तर तुलनात्मक रुपमा विकास हुन नसकेका पर्यटकीय गन्तव्य पाथीभरा, माइपोखरी, भीमेश्वर, कालिञ्चोक, हलेसी, लाङटाङ, स्वर्गद्वारी, मनकामना, मुक्तिनाथ, माथिल्लो मुस्ताङ, महागढीमाई, जनकपुरधाम, धनुषाधाम, छिन्नमस्ता, पाँचपोखरी, रारा तथा खप्तडलगायत क्षेत्रमा पर्यटकीय पूर्वाधार स्थापना गर्न प्रदान गरिएका कर्जाहरू, कोभिड-१९ लगायत संक्रामक रोगजन्य महामारीका कारण पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका तर, भविष्यमा सञ्चालनको सम्भावना रहेका उद्यमी व्यवसायीले लिएका कर्जाहरू पनि साधारण पुनर्कर्जाका लागि योग्य हुनेछ ।
पुनर्कर्जा प्रदान गर्दा राष्ट्र बैंकले ग्राहक ऋणीको सम्पूर्ण वित्तीय विवरणलगायत कागजात पेस भए/नभएको, पुनर्कर्जा प्राप्त गर्न पेस गरेको पछिल्लो आर्थिक वर्षको वित्तीय विवरण र सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा पेस गरेको विवरण रुजु भए/नभएको अध्ययन गर्ने कार्यविधिमा उल्लेख छ । त्यस्तै कर्जा पुँजी अनुपात तोके बमोजिम रहे/नरहेको, व्यवसाय/कारोबार/परियोजना अर्थतन्त्रमा योगदान पुर्याउने तथा समग्ररुपमा औचित्यपूर्ण भए/नभएको, व्यवसाय/कारोबार/परियोजनाको वित्तीय अवस्थानुसार पुनर्कर्जाको ब्याजदरबाट प्राप्त हुने सहुलियत प्रदान गर्न उचित भए/नभएको र बैंक तथा वित्तीय संस्था संस्था र ग्राहक ऋणीको हकमा तोकिएका अन्य सर्त पालना भए/नभएको अध्ययन गरेर मात्रै पुनर्कर्जा प्रदान हुने राष्ट्र बैंकले जनाएको छ ।
कति छ पुनर्कर्जाको ब्याजदर ?
नेपाल राष्ट्र बैंकले लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा, विशेष पुनर्कर्जा र साधारण पुनर्कर्जामा १ देखि ३ प्रतिशतसम्म ब्यजदर लिन्छ भने बैंकहरूले ३ देखि ५ प्रतिशत ब्याजदरमा ग्राहकलाई प्रदान गर्नुपर्छ । लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा राष्ट्र बैंकले बैंकहरूलाई २ प्रतिशतमा उपलब्ध गराएर बैंकहरूले ५ प्रतिशत ब्याजरमा लगानी गर्नुपर्ने हुन्छ । त्यस्तै विशेष पुनर्कर्जा बैंकहरूले १ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकबाट लिएर ३ प्रतिशत ब्याजदरमा लगानी गर्नुपर्छ । त्यस्तै साधारण पुनर्कर्जा राष्ट्र बैंकले ३ प्रतिशतमा उपलब्ध गराएर बैंकहरूले ५ प्रतिशतमा प्रदान गर्नुपर्ने हुन्छ ।