दाङ । समिर जीसी ८ वर्षका भए । उनी १ कक्षा पढ्छन् । उनलाई पढ्नुका अलावा आमा राधाको पालनपोषण र उपचार खर्च जुटाउने पिरलो पनि उस्तै छ । उनी बिहानै उठ्छन् बजारसम्म पुग्छन् र केही सामान किनेर ल्याउँछन् । घोराहीस्थित जिल्ला अदालतको गेटअगाडि रहेको ढ्याब्ली पसलमा राख्छन् अनि साहुजी बनेर सामान बेच्छन् । त्यसैबाट जुटेको पैसाले घर खर्च चलाउँछन् ।
उनका बाबु पृथ्वी जीसीको २०७५ पुस २९ गते २४ वर्षकै उमेरमा जन्डिसका कारण मृत्यु भयो । लामो समय उपचार गर्दा पनि बचाउन सकिएन । बुबाको मृत्यु भएको एक वर्ष नपुग्दै गत कात्तिकमा आमाका दुवै मिर्गौलाले काम गर्न छाडे । उनी सातामा तीनपटक मिर्गौलाको डायलासिस गर्न २३ किलोमिटर यात्रा गरेर लमही पुग्छिन् । सातामा ३ हजार बढी औषधि खर्च लाग्छ । समिरको चार वर्षको भाइ सम्राट पनि छन् । आमा र भाइको ख्याल गर्नुपर्ने दायित्व समिरको काँधमा आएको छ ।
सानै उमेरमा समिरले सबै काम सिकिसकेका छन् । ‘‘बजार गएर सामान किन्छु अनि यहाँ लिएर मिलाएर राख्छु ग्राहक आएपछि सामान बेच्छु, हिसाब राख्छु,’’ उनले भने, ‘‘दिनभर सामान सकिएपछि फेरि अर्को दिन बिहानै बजार गएर सामान किन्छु ।’’ चाउचाउ, बिस्कुट, सुर्ती, पानीलगायत सामान बिक्री हुन्छन् । उनी ग्राहकको मागअनुसारका सामान किन्छन् ।
दिनमा ५ सय रुपैयाँ जतिको बिक्री हुने गरेको उनले बताए । विद्यालय खुलेका बेला उनले साँझ-बिहान पसल खोल्थे, दिउँसो आमालाई पसलमा राख्थे । अहिले कोरोनाका कारण विद्यालय नचलेकाले उनले दिनभर पनि पसल हेर्न पाएका छन् । ‘‘आमाको खुट्टा र जिउ सुन्निएको छ । बेलाबेला बिरामी भैराख्नुहुन्छ । त्यसकारण काम गर्न गाह्रो हुन्छ,’’ उनले भने, ‘‘आमाले नसक्दा पसल बन्दै हुन्छ ।’’
मिर्गौला फेर्न सक्ने अवस्थामा राधा छैनन् । डायलासिसले काम गर्दासम्मलाई जीवनको आश गरेर बसेकी छन् । छोराहरुको अवस्था देखेर रोइरहन्छिन् । ‘‘मैले केही गर्न सक्दिनँ । छोराहरुलाई कसरी पढाउने, पाल्ने भन्ने चिन्ता छ । यति सानो उमेरमा छोराहरुले दुःख पाउने भए,’’ राधाले रुँदै भनिन्, ‘‘उपचार खर्च कताबाट जुटाउने भन्ने तनाव छ । बाँच्नु र मर्नु बराबर छ । छोराहरुको मुख हेरेर बाँचेकी छु ।’’
उनका ससुरा कृष्णबहादुर जीसी पनि घरको अवस्था देखेर साह्रै पीडामा छन् । कृष्णलाई एकै वर्ष ठूलो वज्रपात पर्यो । घोराहीस्थित साल्ट ट्रेडिङ कम्पनीमा कार्यालय सहयोगीका रुपमा काम गर्ने जीसीले एक वर्षमा श्रीमती र दुई छोरा गुमाए । त्यही बेला बुहारीको दुवै मिर्गौलाले काम नगर्ने भए । पाँच छोरामध्ये साइँलो पृथ्वीको जन्डिसका कारण मृत्यु भयो । उनलाई बचाउन कृष्णले धेरै प्रयास गरे । नेपालगन्ज, बुटवल लगेर उपचार गरे तर पनि बचाउन सकेनन् । साइँलो छोराको मृत्यु भएको ९ महिनापछि गत असोज ११ गते कान्छो छोरा प्रदीपको १७ वर्षकै उमेरमा बसको ठक्करबाट घोराहीमै मृत्यु भयो ।
त्यसको एक महिनापछि उच्च रक्तचापका कारण साइँली बुहारी राधाका दुवै मिर्गौलाले काम नगर्ने भए । त्यसको दुई महिनापछि पुस ३ गते श्रीमती लक्कीको रक्तचाप कम भएर उपचारका लागि बुटवल लैजाँदै गर्दा बाटोमै मृत्यु भयो ।
यी सबै घटनाका भुक्तभोगी कृष्णलाई जीवन चलचित्रजस्तै लाग्छ । एकै वर्षमा भएका यी घटनाले उनलाई झस्काइरहन्छन् । पाँच छोरामध्ये जेठोले प्युठानको बिजुवारमा मोबाइल पसल गर्छन् । माइलोले घर पेन्टिङको काम गर्छन्, काइँलो १२ कक्षा पढ्दै छन् । कृष्णलाई यी सबै समस्या धान्न कठिन भएको छ । उनको जन्मस्थल प्युठानको पुण्यखोला हो । जागिरको सिलसिलामा उनले ३७ वर्षअघि प्युठान छाडेका हुन् । सात वर्ष साल्ट ट्रेडिङ कृष्णनगरमा बसे । त्यसपछि दाङ सरुवा भयो । दाङमा मात्रै ३० वर्ष बसिसके । अदालतअगाडि रहेको साल्ट ट्रेडिङकै जग्गामा सानो झुप्रो बनाएर बसेका छन् । त्यहींछेउमै बुहारी र नातिहरु ढ्याब्ली पसल गरेर बसेका छन् । उनीहरुको संरक्षक कृष्ण बनेका छन् ।
घोराहीमा अरु सम्पत्ति केही छैन । जागिरको कमाइले घोराहीमा एउटा घडेरी किनेका थिए । श्रीमतीलाई प्यारालाइसिस भएर एक भाग शरीर नचल्ने भएपछि उनले यसअघि ३ वर्ष भारतमा बसेर उपचार गरेका थिए । त्यो पैसा सबै सकियो ।
त्यसपछि पनि श्रीमती र छोराको उपचारमा उनलाई ऋण लाग्यो । जागिरले खर्च पुग्ने अवस्था भएन । उनले प्रत्येक शनिबार खसी काटेर बेच्ने काम गर्थे । दिनमा ७/८ वटा खसी कट्थ्यो । त्यसबाट ६/७ हजार आम्दानी हुन्थ्यो । ‘‘श्रीमतीले मर्नेबेला यो काटमारको काम बन्द गर्नू, मासु खान मन लागे किनेर खानू भनी,’’ आँखाभरी आँशु पार्दै उनले भने, ‘‘त्यसपछि मैले ३० वर्षदेखि गर्दै आएको खसी काट्ने काम छोडिदिएँ ।’’
अहिले उनी बिहान ३ बजे उठेर पाउरोटी उद्योगमा पुग्छन् । ४ बजेसम्म पाउरोटी तयार पार्छन् । अनि घोराहीका पसल पसलमा बेच्दै हिँड्छन् । दैनिक २५० भन्दा बढी पाउरोटीका पोका बेच्ने गरेको उनले सुनाए । बिहानभर पसलमा छाड्ने र बेलुका गएर पैसा उठाउने काम गर्छन् कृष्ण । दिनमा ७/८ सयको कारोबार हुन्छ । दिनभर कार्यालयको काममै समय बित्छ । ‘‘बुहारी र नातिहरुलाई पूरै समय दिएर रेखदेख गर्न पनि पाइँदैन । जति गर्दा पनि बुहारीको उपचार खर्च जुट्न सकेको छैन,’’ उनले भने, ‘‘सानो नातिले दुःख पाइरहेको छ । पसल सबै उसैले हेरिरहेको छ ।’’
उनको कान्छो छोरालाई गाडीले ठक्कर दिएर मृत्यु भएको एक वर्ष बितिसक्यो तैपनि अहिलेसम्म क्षतिपूर्ति पाएका छैनन् । तत्कालीन अम्बिकेश्वरी यातायात समितिको गाडीले ठक्कर दिएको थियो । उनी समितिको कार्यालयमा धेरैपटक धाइसके, प्रहरी, प्रशासन सबैतिर जाँदा पनि कसैले चासो नदिएको उनको गुनासो छ । ‘‘मलाई पुरानो ऋण तिर्न र आफ्नो ज्यान पाल्न गाह्रो भइरहेको छ । बुहारी र नातिहरुका लागि झन् धेरै चिन्ता छ,’’ उनले भने, ‘‘यस्तो अवस्थामा बुहारीलाई छाडेर कतै जान सक्ने अवस्था पनि छैन । यहाँ स्थायी बसोबास पनि केही छैन । प्युठान छाडेको धेरै वर्ष भएकाले कसरी फर्कनु भन्ने समस्या छ ।’’
जिन्दगीमा पाएको दुःख देखेर उनी आफैंलाई पनि अचम्म लाग्छ । कहिलेकाहीं एक्लै सोच्छन् र भगवान्ले किन यति धेरै सजाय दिएका होलान् जस्तो लाग्छ । ‘‘एकैचोटि सबै दुःख मैमाथि आइलागेको छ । किन यस्तो भएको होला ?’’ उनले भने, ‘‘पीडामाथि पीडा थपिएका छन् । जता जे गर्दा पनि समाउने ठाउँ केही भेटिँदैन ।’’