देश
काठमाडौं । गएको साता महानगरीय प्रहरी वृत्त सोहखुट्टेमा एक जना इन्जिनियर यौनकर्मीबाट लुटिएको भन्दै उजुरी गर्न पुगे । प्रहरीका अनुसार उनी अघिल्लो रात मदिरा सेवन गरी ठमेलबाट घर फर्कंदै थिए, बाटोमा दुई युवतीले ‘जाने हैन दाइ ?’ भन्दै कर गर्न थालेछन् । मदिरामा झुमेर हिँडेका ती इन्जिनियर पनि चिटिक्क परेकी युवती देखेपछि लोभिएछन् । उनीहरूबीच पैसाको मोलमोलाइ भयो र कुरा मिलेपछि उनीहरू एउटा होटलितिर लागे ।
होटलमा पुगेपछि ‘फ्रेस हुनुस्’ भन्दै युवतीले ती इन्जिनियरलाई बाथरुम पठाइन् र पर्समा भएको पैसा तथा गोजीको मोबाइल बोकेर बाहिरबाट चुकुल लगाई फरार भइन् ।
“युवतीबाट ठगिएका ती इन्जिनियर घरबाट पार्टीमा जाने भन्दै हिँडेका रहेछन् । उनको मोबाइल र पैसा यौनकर्मी युवतीबाट लुटियो । राति श्रीमतीले फोन गर्दा युवतीले उठाइन् र उल्टै झपारिन्,” महानगरीय प्रहरी वृत्तका डीएसपी सुमेन्द्र राठौरले घटना विवरण सुनाए, “त्यसका कारण श्रीमान्–श्रीमतीको घरमा समेत झगडा भयो ।” राठौरका अनुसार अहिले यस्ता खालमा उजुरी प्रहरीमा थुप्रै आइरहेका छन् । युवतीबाट लुटिएको भन्दै सोह्रखुट्टे प्रहरी वृत्तमा मात्रै ५ जनाले उजुरी दिएका छन् । फोनमा र अनौपचारिक भेटघाटमा गुनासो गर्नेहरू पनि थुप्रै छन् ।
डीएसपी राठौरका अनुसार अहिले ठमेलमा यौन मनोरञ्जनको नाममा तीन प्रकारका ठगी हुने गरेका छन् । पहिलो, मदिरा सेवन गरेर मानिसको नजिक जाने अनि ‘मोडल र हिरोइनसँग रात बिताउने हो ? म मिलाइदिन्छु’ भनेर फकाउने । ग्राहक राजी भएपछि ‘यहाँ आउँदैनन्, अन्तै जानुपर्छ’ भनेर होटलमा लैजाने अनि ‘हिरोइन आउँदैछ’ भनेर केही समय भुलाउने । अनि आफूसँग भएको नशालु मदिरा सेवन गराउने र बेहोस भएपछि साथमा भएको सामान लुटेर फरार हुने । ठगहरूले यसरी ५० हजारभन्दा बढी ठगी गर्ने गरेको प्रहरीको भनाइ छ । ‘नाम चलेका हिरोइन मिलाइदिन्छु, एक रातको रेट ५० हजार हो’ भन्दै उनीहरूले पीडितलाई फसाउने गरेको प्रहरीले जनाएको छ ।
दोस्रो प्रकारको ठगीमा अर्को गिरोह सक्रिय छ, जुन गिरोहले ठमेल क्षेत्रका होटलमा बस्ने ग्राहकलाई केटी मिलाइदिने भन्दै ट्याक्सी चालक र होटलमा काम गर्नेसँगको मिलोमतोमा काम गर्छ । यस्तो गिरोहले ग्राहकबाट १० देखि १५ हजार असुलेर युवतीलाई एक–दुई हजार दिने अनि बाँकी आफैं खाने गरेको प्रहरीको भनाइ छ ।
युवती दलाली गर्ने ५० जनाभन्दा बढीलाई पक्राउ गरिएको डीएसपी राठौरले बताए । “पक्राउ परेकाहरूलाई हामीले सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाएका छौं । तर, छुटेर उनीहरू पुनः त्यही काममा लाग्ने गरेको सूचना पाएका छौं,” उनले भने ।
ठमेलमा युवतीहरूले पनि ठगी धन्दा चलाउँदै आएका छन् । प्रहरीका अनुसार यो तेस्रो प्रकारको ठगी हो । उनीहरू मदिराले लठ्ठ भएर दुई–तीन जनाको समूहमा राति सडकमा हिँड्ने युवालाई रात बिताउने प्रस्ताव गर्छन् । फकाएर होटलमा लैजान्छन् र साथमा भएको पैसा र मोबाइल लुटेर फरार हुन्छन् । यस्ता युवतीको समूह पनि प्रहरीको टाउको दुखाइको विषय बनेको छ ।
प्रकाशित मिति: बिहीबार, साउन २७, २०७३ १४:१८
प्रतिक्रिया दिनुहोस्