site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पार्टी फुट्न लाग्यो : ओली, अध्यक्ष तपाईं होइन ? बचाउनुस्– नेपाल
Sarbottam CementSarbottam Cement

काठमाडौं । बैठक डाक्न सचिवालयका बहुमत सदस्यहरूले लिखित माग गरेको भोलिपल्ट प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा वरिष्ठ नेता माधवकुमार नेपाललाई बालुवाटार बोलाएर तीनघण्टा भलाकुसारी गरेका छन् ।

वरिष्ठ नेता नेपाल स्रोतले जानकारी दिएअनुसार आइतबार बिहान साढे सात बजेतिर ‘बालुवाटार आइदिनुपर्‍यो, बरु कसकसलाई खबर गर्नुपर्ने हो ?’ भनेर फोन गरेका थिए । आउँला नि भनेर जवाफ फर्काएका नेता नेपाल आफूनिकट तीनजना नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई लिएर दिउँसो साढे दुईबजेतिर बालुवाटार पुगेका थिए । कात्तिक महिनामा मात्रै प्रधानमन्त्रीसँग नेपालको यो तेस्रो भेट हो । यसअघि कात्तिक ४ गते र ११ गते पनि लामै गन्थन चलेको थियो ।

यसपटकको भेटमा ओली अलि निराश देखिएको र अप्ठ्यारोमा परेको संकेत दिएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेकाअनुसार प्रधानमन्त्री ओलीले सुरुमै पार्टी फुटको डिलमा छ भन्दै जटिलताबारे लामो व्याख्या गरेका थिए ।

“पार्टी फुटको सङ्घारमा छ । तपाईं हामी सबै मिलेर एकतालाई बचाउनुपर्‍यो,” ओलीको भनाइ उद्धृत गर्दै पाण्डेले बाह्रखरीसँग भने ।

Global Ime bank

जवाफमा नेता नेपालले प्रधानमन्त्री र पार्टीको अध्यक्ष पनि भएकाले अहिलेको पार्टीलाई फुटबाट जोगाउने भूमिका केपी ओलीकै भएको बताएका थिए । “कसले कसलाई कहाँ के भन्यो, के आरोप लगायो भनेर प्रधानमन्त्रीले लम्बेतान कुरा गर्नुभयो,” पाण्डेले भने, “जवाफमा नेता नेपालले यी सबै तपसिलका कुरा हुन् । यीनले सङ्कट समाधान गर्दैनन् । समाधान गर्ने हो भने ठोस प्रस्ताव के छ ? समाधानको खाका के छ ? त्यो ल्याउनुहोस् न भनेर भन्यौं ।”

अहिलेको समस्याको निकास बैठक भएकाले त्यसबाट मात्रै समस्याको समाधान  खोज्न नेता नेपालले आग्रह गरेको उनको भनाइ थियो । तर, प्रधानमन्त्रीले जटिलता मात्रै देखाएर पन्छन खोजेको नेताहरू बताउँछन् ।

स्थायी कमिटी सदस्य पन्तले पनि सबै मिले पार्टी एकता बचाउन भूमिका खेल्नुपर्नेमै जोड दिएको बताउँछन् । “पार्टी एकता बचाउने निर्णायक भूमिमा तपाईंकै हो । सिङ्गो पार्टीलाई एकताबद्ध बनाउने दायित्व पनि तपाईंकै हो,” बैठकमा नेता नेपालसहितका स्थायी कमिटी सदस्यले राखेको कुरा पन्तले उद्धृत गरे, “समस्या छ भनेर मात्रै हुँदैन । समाधान पनि गर्नुपर्‍यो । त्यसका लागि विकल्प भनेको बैठक नै हो ।”

यसअघिका भेटमा सहकार्यको हात बढाएका ओलीले यसपल्ट पनि मुख खोलेर भन्न सकेनन् । “सहकार्यको ठोस प्रस्ताव केही आएन,” पन्तको भनाइ थियो । प्रधानमन्त्रीले दम्भ र अहङ्कार त्यागेर बैठकका लागि लचिलो हुन आग्रह गरेको पनि नेताहरू बताउँछन् । कुराकानीको अन्तिममा प्रधानमन्त्री ओलीले आफू तन्दुरुस्त हुँदै गएको बताएका थिए । प्रधानमन्त्रीको स्वास्थ्यका बारेमा कसैले सोधेको थिएन । न कुराकानीका क्रममा प्रसङ्ग नै आएको थियो । तर, ओलीले अचेल हृष्टपुष्ट हुँदै आएको भन्न भ्याएका थिए ।

“अचेल के भएको हो कुन्नि ? अचेल म तरोताजा भएर आएको छु । जुँगा पहिला सेता हुन्थे, अचेल काला उम्रन थालेका छन्,” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै सहभागी एक नेताले भने ।

दोस्रो पुस्ता (६० वर्ष उमेर समूहका) लाई नेतृत्व हस्तान्तरण गरौं भनेर बहस चलाइरहेका प्रधानमन्त्रीले आफू स्वस्थ हुँदै गएको ‘प्रमाण’ पेस गरेर के सन्देश दिएका हुन् आफूले बुझ्न नसकेको ती नेताको भनाइ छ । 

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०७७  १७:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement