
काठमाडौं । नेपाल राष्ट्र बैंकले कात्तिक १ गतेबाट १ वर्षभन्दा माथि अवधिका व्यक्तिगत प्रकृतिको आवधिक कर्जामा स्थिर ब्याजदर लागु गर्न दिएको निर्देशन बैंकहरुले कार्यान्वयनमा ल्याएका छन् । बैंकहरुले अहिले गरिरहेको परिवर्तनीय ब्याजदरभन्दा महँगो ब्याजदरमा दीर्घकालीन प्रकृतिका घर र गाडी कर्जाको स्थिर ब्याजदर निर्धारण गरेका हुन् ।
अधिकांश बैंकहरुको लामो अवधिको घर कर्जाको ब्याजदर १२ प्रतिशतभन्दा माथि छ । बैंकहरुले ब्याजदरमा हुनसक्ने उतारचढावको जोखिमलाई समेत जोडेर ब्याजदर निर्धारण गरेकोले स्थिर ब्याजदर महँगो पर्ने देखिन्छ । अहिले अधिकांश बैंकले परिवर्तित ब्याजदरमा सिंगल डिजिटमा कर्जा लगानी गरेका छन् । तर बैंकहरुले सार्वजनिक गरेको स्थिर ब्याजदर हेर्दा २-३ वर्षको कर्जामा केही बैंकमा सिंगल डिजिटको ब्याजरमा कर्जा पाउने अवस्था भए पनि अधिकांश बैंकमा दीर्घकालीन कर्जा महँगो देखिन्छ । यसले ग्राहकलाई स्थिर ब्याजदरभन्दा परिवर्तित ब्याजरमा नै बढी आकर्षण गर्ने देखिन्छ ।
राष्ट्र बैंकले कर्जा अवधिभरका लागि स्थिर ब्याजदर लागु गर्न निर्देशन दिँदा बैंकहरुले कर्जा अवधिभरको स्थिर ब्याजदर प्रभावकारी हुन नसक्ने बताउँदै आएका थिए । अहिले बैंकहरुले निर्धारण गरेको स्थिर ब्याजदरले पनि त्यस्तै देखाउँछ । बैंकर पनि २-४ वर्षसम्मको लागि स्थिर ब्याजदर प्रभावकारी भए पनि नेपालजस्तो सानो अर्थतन्त्र भएको र ब्याजदरमा उतारउचढाव अत्याधिक हुने देशमा कर्जा अवधिभरको लागि स्थिर ब्याजदर प्रभावकारी हुन नसक्ने बताउँछन् ।
राष्ट्र बैंकको निर्देशन पालन गर्न पनि बैंकहरुले स्थिर ब्याजदर निर्धारण गरेको तर यो त्यति प्रभावकारी हुने अवस्था नदेखिएको एक बैंकरले बताए । “ब्याजदरको सम्भावित उतारचढावले आउनसक्ने जोखिमलाई मध्यनजर गर्दै केही थप प्रिमियम जोड्नुपर्ने हुन्छ । जसले गर्दा कर्जा तुलनात्मक रुपमा महँगो हुन जान्छ । त्यसलै ग्राहकले सहजै स्थिर ब्याजदरमा कर्जा लिन मान्ने अवस्था छैन,” उनले भने ।
यद्यपि राष्ट्र बैंकको नीति कार्यन्वयन गर्ने पर्ने भएकाले यस्तो गरिएको उनको भनाइ थियो । ४-५ वर्षको लागि मात्रै स्थिर ब्याजदर गरेको भए कार्यान्वयनमा सहज हुने ती बैंकरको बुझाइ छ ।
कुन बैंकको कति ब्याजदर ?
एनआईसी एशिया बैंक
बैंकले ५ देखि १५ वर्ष अवधिका विभिन्न स्थिर ब्याजदर भएको व्यक्तिगत आवधिक कर्जा योजना ल्याएको छ । जसमा बैंकले ८.५ प्रतिशत देखि ११ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले ७ वर्ष अवधिको विद्युतीय सवारी साधन कर्जा ८.५ प्रतिशत ब्याजदरमा नै दिने जनाएको छ । त्यसबाहेकका अन्य कर्जामा अवधि अनुसार ९ देखि ११ प्रतिशतसम्म तोकेको छ ।
नेपाल एसबीआई बैंक
बैंकले पनि ३ वर्षभन्दा कम अवधि देखि १० वर्ष बढी अवधि रहेको कर्जाका लागि फरक-फरक ब्याजदर तोकेको छ । बैंकले १२.५ देखि १४.५ प्रतिशतसम्मको स्थिर ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार ३ वर्षभन्दा कम अवधि रहेको कर्जाको ब्याजदर १२.५ प्रतिशत, ३ देखि ५ वर्ष अवधि रहेको कर्जामा १३.५ प्रतिशत, ५ वर्ष देखि १० वर्षको कर्जामा १४ प्रतिशत र १० वर्षभन्दा माथि अवधि भएका कर्जाको लागि १४.५ प्रतिशत ब्याजदर तोकेको छ ।
लक्ष्मी बैंक
बैंकले एक वर्षभन्दा कम अवधिदेखि १५ वर्ष अवधिका लागि फरक-फरक ब्याजदर तोकेको छ । दुई वर्षभन्दा कम अवधिको ब्याजदर कर्जाको प्रकारअनुसार ८.४९ देखि १०.९९ प्रतिशतसम्म छ । त्यस्तै एकदेखि दुई वर्ष अवधिका कर्जाका लागि ८.९९ देखि ११.९९ प्रतिशतसम्म ब्याजदर छ । दुईदेखि तीन वर्षको कर्जामा ८.९९ देखि १३.४९ प्रतिशत, तीनदेखि पाँच वर्ष अवधिको कर्जामा ९.९९ देखि १४.४९ प्रतिशत, पाँचदेखि १० वर्ष अवधिको कर्जामा ११.९९ देखि १३.९९ प्रतिशत र १० देखि १५ वर्ष अवधिको कर्जामा १२.९९ देखि १४.४९ प्रतिशतसम्म कर्जाको प्रकारअनुसार ब्याजदर सार्वजनिक गरेको छ ।
नेपाल बंगलादेश बैंक
बैंकले पनि कर्जाको अवधिअनुसार न्यूनतम् ९.९९ देखि १२.९९ प्रतिशतसम्मको स्थिर ब्याजदर तोकेको छ । बैंकले पाँच वर्षभन्दा कम अवधिको घर र गाडी कर्जामा ९.९९ प्रतिशत ब्याजदर तोकेको छ भने ५ देखि १० वर्ष अवधिको शैक्षिक कर्जा र ३ देखि ५ वर्ष अवधिको व्यक्तिगत कर्जामा १२.९९ प्रतिशत ब्याजदर तोकेको छ । १० देखि २० वर्षको हाउजिङ लोनमा भने ११.४९ प्रतिशत ब्याजदर तोकेको छ ।
माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले पाँच वर्षभन्दा कम, पाँचदेखि १० वर्ष, १० वर्षभन्दा माथि अवधिको कर्जाका लागि फरक-फरक स्थिर ब्याजदर सार्वजनिक गरेको छ । बैंकले पाँच वर्षसम्मको घर कर्जामा ९.८९ प्रतिशत, गाडी तथा हायर पर्चेज कर्जामा ९.९९ प्रतिशत र अन्य रिटेल कर्जामा १०.२ प्रतिशत ब्याजदर लिने जनाएको छ । यस्तै बैंकले एक वर्षदेखि १० वर्षसम्मको कर्जामा १०.८९ प्रतिशत, गाडी र हायर पर्चेज कर्जामा १०.९९ प्रतिशत र अन्य रिटेल कर्जामा ११.२४ प्रतिशत ब्याजदर तोकेको छ । यसैगरी १० वर्षभन्दा माथि अवधि रहने घर कर्जाको ब्याजदर ११.८९ प्रतिशत र अन्य रिटेल कर्जाका लागि १२.२४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
सानिमा बैंक
सानिमा बैंकले कर्जाको अवधि अनुसारै ८.२५ देखि १३ प्रतिशतसम्म ब्याजदर सार्वजनिक गरेको छ । बैंकले १३ महिना अवधि रहेको कर्जा ८.२५ प्रतिशतमा नै दिने जनाएको छ । त्यस्तै दुई वर्षको कर्जालाई ९.५ प्रतिशत, ३ वर्ष अवधिको कर्जामा ११ प्रतिशत र तीन वर्षभन्दा माथिको कर्जाका लागि १३ प्रतिशत ब्याजदर सार्वजनिक गरेको छ ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक
बैंकले कर्जाको अवधि र प्रकारअनुसार १०.७५ देखि १३.७५ प्रतिशतसम्मको ब्याजदर सार्वजनिक गरेको छ । पाँच वर्ष अवधिको व्यक्तिगत कर्जा १३ प्रतिशतमा दिने बैंकले जनाएको छ । त्यस्तै १० वर्षभन्दा बढी अवधिको घर कर्जामा १३.७५ प्रतिशत र पाँच वर्षसम्मको घर र गाडी कर्जामा १०.७५ प्रतिशतमा दिने बैंकले जनाएको छ ।
एभरेष्ट बैंक
एभरेष्ट बैंकले तीन वर्षसम्मको कर्जा अवधिको लागि कर्जाअनुसार अहिलेको ब्याजदरमा थप ०.७५ प्रतिशत, पाँच वर्षसम्मको कर्जामा अहिलेको ब्याजदरमा थप १.५ प्रतिशत, १० वर्षसम्मको कर्जामा थप २.५ प्रतिशत र सोभन्दा माथिको कर्जामा थप ४ प्रतिशत रिक्स प्रिमियम जोड्ने जनाएको छ । १० वर्षभन्दा माथि अवधिको कर्जा लिन बैंकमा जाँदा स्थिर ब्याजदरको सम्झौता गरेमा अहिलेको भन्दा ४ प्रतिशतसम्म महँगो ब्याजदर पर्ने देखिन्छ ।
हिमालयन बैंक
बैंकले ९.४९ देखि १२.४९ प्रतिशतसम्मको स्थिर ब्याजदर सार्वजनिक गरेको छ । तीन वर्षको लागि व्यक्तिगत सवारीसाधन कर्जा लिँदा ९.४९ प्रतिशत ब्याजदरमा नै कर्जा दिने बैंकले जनाएको छ । यस्तै १० वर्षभन्दा माथिको घर कर्जामा १२.४९ प्रतिशत ब्याजदर पर्ने बैंकले जनाएको छ ।
नबिल बैंक
नबिल बैंकले १५ वर्षसम्मको घर र गाडीको लागि ११ प्रतिशत ब्याजदर तोकेको छ । यस्तै ५ देखि १० वर्षसम्मका लागि १०.५० प्रतिशत ब्याजदर तोकेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक
नेपाल इन्भेष्टमेन्ट बैंकले कर्जाको अवधि र प्रकारअनुसार ७.९९ प्रतिशतदेखि १३ प्रतिशतसम्म ब्याजदर सार्वजनिक गरेको छ । एक वर्ष अवधि रहेको कर्जाहरुमा कर्जाको प्रकारअनुसार ७.९९ देखि ९.९९ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।
त्यस्तै सात वर्षसम्म अवधि रहेको कर्जामा पनि कर्जाको प्रकारअनुसार १०.५ देखि ११.७५ प्रतिशत र १० वर्षसम्म अवधि रहेको कर्जामा १२.५ देख १३ प्रतिशत ब्याजदर तोकेको छ ।
सनराइज् बैंक
सनराइज् बैंकले समय अवधि हेरेर ब्याजदर १०.५ देखि साढे १३ प्रतिशतसम्म निर्धारण गरेको छ । बैंकले १५ वर्षसम्मको घर कर्जाको लागि साढे ११ प्रतिशत ब्याजदर लिने जनाएको छ । आठ वर्षसम्मको लागि गाडी खरिद गर्न बैंकले दिने र त्यसमा ११.५ प्रतिशत तोकिएको छ ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले कर्जाको अवधिअनुसार फरक ब्याजदर निर्धारण गरेको छ । बैंकले १० वर्षभन्दा माथि अवधिको घर कर्जा र पाँच वर्षभन्दा माथिको सवारी कर्जामा १०.९९ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले ८.९९ देखि ११.९९ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ ।
एनएमबी बैंक
एनएमबी बैंकले ९.४९ देखि १३.९९ प्रतिशतसम्म कर्जाको अवधि र प्रकारअनुसार स्थिर ब्याजदर कर्जा योजना ल्याएको छ । बैंकले पाँच वर्षसम्म अवधि रहेको कर्जामा कर्जाको प्रकारअनुसार १२.७४ प्रतिशतसम्म ब्याजदर लिने जनाएको छ । त्यस्तै पाँचदेखि १० वर्ष अवधि रहेको कर्जामा कर्जाको प्रकार अनुसार ९.९९ देखि १२.२४ प्रतिशत, १० देखि १५ वर्ष अवधि रहेको कर्जामा १०.७४ देखि १३.९९ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ ।
ग्लोबल आईएमई बैंक
बैंकले कर्जाको अवधि र प्रकारअनुसार ७.९९ देखि १३.९९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । १५ वर्षमाथिको घर कर्जाको ब्याज ११.९९ प्रतिशत निर्धारण गरेको छ । त्यस्तै ५ वर्षमाथिको अटो लोनको ब्याज ११.९९ प्रतिशत छ ।
प्रभु बैंक
प्रभु बैंकले पनि कर्जाको अवधि र प्रकारअनुसार ब्याजदर कायम गरेको छ । बैंकले पाँचदेखि १० वर्ष अवधिको घर कर्जाका लागि १०.९९ प्रतिशत र गाडीका लागि ११.२४ प्रतिशत ब्याजदर तोकेको छ । यस्तै पाँच वर्षसम्मको घरकर्जामा ९.९९ प्रतिशत र गाडी खरिदका लागि १०.२४ प्रतिशत ब्याजदर लिनेछ ।
सेञ्चुरी कमर्सियल बैंक
सेञ्चुरी कमर्सिय बैंकले कर्जाको अवधिअनुसार ११.४९ देखि १२.९९ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ । बैंकले १० वर्षमाथिको घर कर्जा १२.७४ प्रतिशत, सात वर्षसम्मको निजी सवारी साधनको लागि १२.२४ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने जनाएको छ ।
राष्ट्रिय वाणिज्य बैंक
पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले कर्जाको अवधिअनुसार नौदेखि ११ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ । बैंकले १५ वर्षसम्मको घर कर्जा ११ प्रतिशत र सात वर्षसम्मको गाडी कर्जा ९.५ प्रतिशत कायम गरेको छ ।
कृषि विकास बैंक
सरकारी लगानी रहेको कृषि विकास बैंकले ९.७५ प्रतिशतदेखि १२ प्रतिशत सम्मको स्थिर ब्याजदर निर्धारण गरेको छ । बैंकले १० वर्षभन्दा माथिको घरकर्जामा ११.२५ प्रतिशत फिक्स ब्याजदर तोकेको छ । यस्तै ७ वर्षसम्मको गाडी खरिद गर्न १०.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
नेपाल बैंक
सरकारी लगानी रहेको नेपालकै पहिलो बैंक नेपाल बैंकले ९.३५ देखि १३.९३ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ । बैंकले घर कर्जा ९.८५ प्रतिशत, सवारी साधन कर्जा १०.८५ प्रतिशतमा दिनेछ । बैंकले कर्जाको अवधिअनुसार ब्याजदर निर्धारण गरेको छ ।
प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंकले पनि १०.५ प्रतिशत देखि १२.५ प्रतिशतसम्म कर्जाको अवधिअनुसार ब्याजदर निर्धारण गरेको छ ।
सिभिल बैंक
सिभिल बैंकले कर्जाको अवधि र प्रकारअनुसार असार मसान्तको आधार ब्याजदरमा २.५ देखि ५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा दिने भएको छ । पाँच वर्षसम्मको घर कर्जा २.५ प्रतिशत प्रिमियम र १५ वर्षभन्दा माथिको घर कर्जामा ४ प्रतिशत प्रिमियम थप हुने बैंकले जनाएको छ । त्यस्तै सात वर्षसम्मको गाडी कर्जा ३ प्रतिशत प्रिमियम थप गरेर लगानी गर्ने गरी बैंकले ब्याजदर निर्धारण गरेको छ ।
बैंक अफ काठमाण्डू
बैंकले ९.४९ देखि १२.९६ प्रतशतसम्मको स्थिर ब्याजदर निर्धारण गरेको छ । बैंकले १५ वर्षभन्दा माथिको घर कर्जा १२.९६ प्रतिशतमा लगानी गर्नेछ । ५ वर्षसम्मको शैक्षिक कर्जा भने ९.४९ प्रतिशतमा र पाँच वर्षसम्मको सवारी साधन कर्जा ९.९९ प्रतिशत र ५ वर्षभन्दा माथिको सवारीसाधन कर्जाको ब्याजदर ११.४९ प्रतिशत निर्धारण गरेको छ ।
कुमारी बैंक
बैंकले १ देखि ५ वर्षसम्मको सबै व्यक्तिगत प्रकृतिको आवाधिक कर्जा १०.५ प्रतिशत र ५ वर्षभन्दा माथिको कर्जामा ११ प्रतिशतमा लगानी गर्ने गरी ब्याजदर निर्धारण गरेको छ ।
मेगा बैंक
मेगा बैंकले १ वर्षभन्दा माथिको रिटेल आवधिक कर्जामा अहिलेको आधार ब्याजरमा ५ प्रतिशत प्रिमियम थप गरेर लगानी गर्ने जनाएको छ । बैंकको २०७७ भदौको आधार ब्याजदर ८.१० प्रतिशत छ । यसमा ५ प्रतिशत प्रिमियम थप गर्दा बैंकबाट स्थिर ब्याजदरमा व्यक्तिगत प्रकृतिको आवधिक कर्जा लिँदा १३.१० प्रतिशत ब्याजदर पर्ने देखिन्छ ।
सिटिजन्स् बैंक इन्टरनेसनल
बैंकले कर्जाको प्रकृति र अवधिअनुसार १०.५ देखि १३ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । बैंकले १६ वर्षभन्दा बढी अवधिको घर कर्जाको ब्याजदर १२ प्रतिशत, ६ देखि १० वर्षको व्यक्तिगत सवारी साधन कर्जाको ब्याजदर ११ प्रतिशत निर्धारण गरेको छ ।