site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बैंकहरु उच्च जोखिममा, एटीएममा समेत लाइन

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर कोभिड १९ को संक्रमण तीव्र रुपमा फैलिँदा त्यसको प्रभाव बैंक तथा वित्तीय संस्थामा पनि पर्दै गएको छ । कोरोना संक्रमणकै कारण यातायात कार्यालय, वैदेशिक रोजगार कार्यालय, बिमा समितिलगायत निकाय एक साता सिल भएका थिए । नेपाल राष्ट्र बैंकको पनि केही विभागका कर्मचारीलाई कोरोना देखिँदा ती विभाग तीन दिन बन्द भए ।

यस्तै  प्रभाव बैंकहरुमा पनि पनि परेको बैंकर बताउँछन् । तर कर्मचारीमा कारोना देखिँदैमा बैंक भने बन्द नहुने उनीहरुले बताए । केही शाखाका कर्मचारीलाई कोरोना देखिए सीमित शाखा बन्द भए पनि मुख्य कार्यालय र कोरोना नदेखिएका शाखाहरु भने बन्द नहुने नेपाल बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए । पछिल्ला दिनमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीपछि बैंकका कर्मचारी बढी जोखिममा रहेको उनले बताए । 

“असोज लागेपछि बैंकका कर्मचारीमा संक्रमण धेरै बढेको छ । अन्य क्षेत्रमा भन्दा काठमाडौं उपत्यकामा झनै धेरै छ,” अध्यक्ष दाहालले भने, “कर्मचारीमा कोरोना संक्रमण हुँदा कहिले कुन शाखा त कहिले कुन शाखा बन्द भइरहेका छन् ।” तर केन्द्रीय कार्यालयमा भने ‘बिजेनस कन्टीन्युटी प्लान’ बनाएर विभिन्‍न विभागको कर्मचारीलाई समूह विभाजन गरेर काम गरिरहेको उनले बताए । एउटै विभागलाई तीन ठाउँसम्मबाट सञ्चालन गरिरहेकाले बैंकिङ सेवा नै अवरुद्ध भने नहुने दाहाल बताउँछन् । 

“बैंकको सूचना प्रविधि (आईटी) विभाग बन्द भयो भने बैंक चल्दैन । त्यस्तै क्लियरिङ, ट्रेजरीलगायत केही विभाग बन्द भए भने देशभरकै बैंकिङ सेवा सञ्चालन हुँदैन,” उनले भने, “त्यसैले बैंकहरुले यी विभागमा कर्मचारीलाई २-३ समूहमा विभाजन गरेर २-३ ठाउँबाट नै सञ्चालन गरिरहेका छन् । जसले एक ठाउँमा संक्रमण भयो भने पनि अर्को ठाउँको कर्मचारी सुरक्षित भएर काम गर्न सकून् ।” 

यदि यसरी काम गर्दा पनि सबै ठाउँमा एकैपटक कोरोना संक्रमण भयो भने के गर्ने भन्‍ने चिन्ताको विषय हुनसक्ने अन्यथा बैंकिङ सेवा नै अवरुद्ध भने नहुने दाहाल बताउँछन् । संघका पूर्वअध्यक्ष तथा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह पनि सरकार अथवा राष्ट्र बैंकले नै बन्द गर्ने नभनी बैंक बन्द गर्नै नसकिने बताउँछन् । सबै बैंकले बिजनेस ‘कन्टीन्युटी’ प्लान बनाएर महत्त्वपूर्ण र अत्यावश्यक विभागको काम २-३ ठाउँबाट सञ्‍चालन गरिरहेको उनले बताए । 

 

 

“स्वीफ्ट होस् अथवा आईटीजस्ता महत्त्वपूर्ण विभागहरु छन् । जुन बन्द भयो भने देशभरको सेवा बन्द हुन्छ, त्यस्ता विभागको कर्मचारीलाई २ देखि ३ वटा समूह बनाएका छौं,” शाहले भने, “यी समूहका कर्मचारीले एउटाले अर्कोलाई भेट्ने गर्दैनन् । यसले एउटा समूहको कसैलाई पोजेटिभ आए पनि अर्को समूहले काम गर्ने गरी काम भइरहेको छ ।” 

उनले सुरक्षाका मापदण्ड प्रयोग गर्दा ठूलो चुनौती भने नदेखिएको बताए । “बैंकका कर्मचारीहरुले मास्क र फेस सिल्ड लगायो भने एक कर्मचारीमा संक्रमण देखिए पनि सँगै काम गर्ने कर्मचारीमा संक्रमण नदेखिएकाले त्यति ठूलो चुनौती देखिएको छैन ।” 

दसैं नजिकिएसँगै बैंकमा भिड बढ्दो
दसैं-तिहार नजिकिएसँगै बैंकहरुमा पनि भिड बढ्दै गएको देखिन्छ । असन, न्युरोडलगायत व्यावसायिक क्षेत्रमा आर्थिक गतिविधिसँगै बैंकमा ग्राहकको भिड बढ्दै गएको देखिन्छ । कम्पाउन्ड सानो भएको ठाउँमा ग्राहकको भिड बढ्दा कतिपय ठाउँमा भौतिक दूरीसमेत कायम नभएको देखिन्छ । 

बैंकर्स संघका पूर्वअध्यक्ष शाह बैंकहरुले आएका ग्राकहलाई सेवा दिनैपर्ने बताउँछन् । “बैंक यस्तो ठाउँ रहेछ जहाँ जस्तोसुकै परिस्थितिमा पनि ग्राहकको भिड हुने,” उनले भने, “भूकम्पपछि पनि र अहिले पनि निषेधाज्ञा तथा लकडाउमा हाम्रो कर्मचारीलाई नै बैंकमा पुग्‍न मुस्किल हुँदासमेत ग्राहकहरु भने एउटा शाखामा ३-४ सयसम्म पुगिरहेका हुन्थे ।”

कम्पाउन्ड भएको ठाउँमा बाहिर भौतिक दूरी कायम गरेर पालैपालो भित्र पठाउने र सकेसम्म चाँडो सेवा दिएर पठाउने रणनीति रहेको र सोहीअनुसार काम भइरहेको उनको दाबी छ । तर पछिल्ला समयमा बैंकका शाखामा भिड भने बढेको बैंकर शाह पनि बताउँछन् ।

लामो दूरीको बस पनि खुलेकाले मान्छेहरु घर जाने तयारीका लागि पैसा झिक्न आएकाले भिड बढेको हुनसक्ने उनले बताए । राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्ने भनेकाले नयाँ नोटका लागि बैंकहरुमा भिड नबढ्ने भएको उनले बताए । “राष्ट्र बैंकले यसपटक नयाँ नोट वितरण नगर्ने भनेर ठीक निर्णय गर्‍यो,” उनले भने ।
 

 


तस्बिरहरु : सुनील प्रधान/बाह्रखरी

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असोज २७, २०७७  ११:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro