महाधिवशेन निकट आइसक्दा पनि अबको नेपाली कांग्रेस कस्तो हुने भन्ने विषयमा खुलेर बहस हुन सकिरहेको छैन । सभापति र पदाधिकारीका लागि मात्र उम्मेदवारको आकांक्षा सुनिन्छ र त्यसैको केन्द्रीयतामा बहस भइरहेका छन् । केकस्तो नीति, प्रतिबद्धता, मूल्यमान्यता स्थापित गर्न पदको दाबेदारी हो भन्ने आउन सकेको देखिएन । पार्टीको नेतृत्व गर्न चाहनेले लोकप्रिय मार्गदर्शक प्रस्ताव, योजना र कार्यक्रमको स्पष्ट खाका, पार्टीलाई संस्थागत र एकताबद्ध बनाउने आधारसूत्र, विधानसम्मत हिँड्ने प्रतिबद्धता तथा सबैलाई विश्वासमा लिएर काम गर्ने नवीन विस्तृत योजना प्रस्तुत गर्न सकेमात्र नेतृत्व दाबीको औचित्य रहनेछ ।
कुनै पनि पार्टीको अधिवेशनमा नेतृत्वको बहस हुनु अस्वाभाविक होइन । नेतृत्वका बहससँगै नेपालको वर्तमान राजनीतिक परिस्थितिको विहङ्गम विश्लेषण र भविष्यको गन्तव्यलाई डोर्याउने नीति तथा विचारमा पनि बहस हुनु जरुरी हुन्छ । नीतिमाथिको बहस ओझेलमा पर्दा पार्टीको कार्यदिशा नै अलमलमा परी गन्तव्यहीन हुनजान्छ । निर्वाचनका पूर्वसन्ध्यामा पार्टीको आधिकारिक नीति र कार्यक्रम महत्त्वपूर्ण विषय हो । यसमा गुटगत लाभहानिको हिसाब गर्नुहुँदैन ।
अहिले पार्टीभित्र विचार र नीतिका आधारमा नभएर व्यक्तिकेन्द्री गुट उपगुटमा लागेर नेतृत्वमा स्थापित हुनसकिन्छ भन्ने मानसिकता प्रबल छ । जनताले आशा र भरोसा गरेको युवापुस्ता पनि यही संकीर्ण मानसिकताबाट माथि उठ्नसकेको छैन । उनीहरुमा पार्टीको सुधारभन्दा महाधिवेशनबाट म के हुन्छु भन्ने छटपटी बढी छ र आकांक्षा तीव्र छ । आकांक्षा राख्नु त स्वाभाविक नै हो तर आफूलाई मात्रै प्रधान बनाउन खोज्नु हुँदैन । आफूलाई मात्र केन्द्रबिन्दु बनाउने प्रवृत्तिले आवश्यकतालाई सम्बोधन गर्नसक्दैन ।
केही युवाले भने पार्टीभित्रको आन्तरिक लोकतन्त्र, पार्टी हस्तान्तरण, गुटबन्दीको अन्त्य र जनाधारमा आधारित पार्टीको पक्षमा बहस चलाइरहेका छन् । यसबाट झिनो आशा गर्नसकिन्छ । अबको समयमा उमेर, अनुभव, पारिवारिक उत्तराधिकार तथा गुटगत सामथ्र्यका आधारमा मात्र नेतृत्वको चयन हुनसक्दैन । पार्टीलाई भ्रष्टाचार, दण्डहीनता, बिचौलियाहरुको बढ्दो प्रभाव, चरम गुटबन्दी, अनुशासनहीनता, विधिविहीनता र वैचारिक स्खलनले निल्न लागेको परिस्थितिमा यसलाई माथि उठाउने ठूलो इच्छा शक्ति चाहिन्छ । पार्टीलाई नयाँ जीवन दिने विचार, योजना, लक्ष्य र प्रतिबद्धताका साथै कम्युनिस्टहरुसित जुध्नसक्ने ऊर्जाशील र समयको हाँकलाई सामना गर्नसक्ने नेतृत्वको खोजी अबको महाधिवेशनबाट हुनु जरुरी छ ।
आउने अधिवेशन कांग्रेसका लागि नयाँ इतिहास रच्ने अवसर पनि भएकाले पार्टीभित्रका यी सबै विकृति र विसंगतिलाई समाप्त पारी पार्टीलाई रुपान्तरण गर्ने स्पष्ट योजना र कार्यनीतिसहित अधिवेशनमा प्रस्तुत हुनुपर्छ । अब नेतालाई विधि, पद्धति र पार्टीको नीतिले बाँध्ने विधान चाहिएको छ । नेता प्रधान होइन नीति प्रधान विधिव्यवस्था अबको महाधिवेशनबाट लागु गर्नुपर्छ । आगामी महाधिवेशनबाट पार्टी नेतृत्वका लागि आकांक्षा राख्ने नेताहरु त धेरै देखिएका छन् तर नेता प्रधान हुने विद्यमान परिपाटीभित्र रहेर कुनैले पनि वैचारिक, सांगठनिक र लोकप्रियताको हिसाबले पार्टीलाई एक्लै हाँक्न सक्ने र चामत्कारिक क्षमता राख्नेमा विश्वास गर्न सकिने अवस्था छैन ।
त्यसैले आगामी महाधिवेशनबाट पार्टीलाई नीति र पद्धतिले चलाउने सूत्रको खोजी गर्न आवश्यक छ । पार्टीभित्रको बृहत्तर एकता, सबैमा आन्तरिक लोकतन्त्रको अनुभूति, न्यायपूर्ण वितरण तथा सबल र सुदृढ कांग्रेस निर्माणका लागि सामूहिक नेतृत्वको अवधारणामा जान विलम्ब गर्नु हुँदैन । पार्टीभित्र एकल नेतृत्व होइन सामूहिक नेतृत्व, व्यक्ति प्रधान नभएर विधि प्रधान हुने तथा नेता नभएर नीति प्रधान हुने विधिव्यवस्थासहित एक व्यक्ति एक पद, एक व्यक्ति एक संगठन, एक पद बढीमा दुई पटकको नीति अनिवार्यरुपमा लागू गर्नुपर्दछ । यही नै कांग्रेस पुनर्जीवन या जागरणको बुटी बन्नसक्छ ।