काठमाडौं । स्थिति सामान्य होला र नाटकघरमा पहिलेजस्तै चहलपहल होला भन्ने आशाले कहिले सार्थकता पाउने अझै टुंगो छैन ।
नाटकघरभित्रका दर्शकलाई आफ्नो अभिनयले बाँधेर राख्न पाउँदा खुसी हुने रंगकर्मीहरू लामो समयदेखि दर्शकसँग साक्षत्कार हुन पाएका छैनन् । दर्शकसँग मात्रै होइन पछिल्लो ६ महिनादेखि उनीहरू आफ्नो कर्मभूमि र आत्मसन्तुष्टिको थलो रंगमञ्चसँग पनि भौतिक रुपमा टाढिएका छन् ।
अरुबेला चौबीस घण्टामा १२ घण्टाजसो नाटकघरमै हुने प्राय रंगकर्मीहरू विगत ५/६ महिनायता कर्मघरभन्दा टाढा बस्न बाध्य छन् । मधुरो प्रकाशमा दर्शकसामु आफूलाई प्रत्यक्ष पात्रअनुरुप सल्बलाउन नपाउँदा उनीहरूलाई नाटघरको यादले कुत्कुत्याउन थालेको छ ।
रंगकर्मीहरू पहिलेजस्तै नाटकघरभित्रको शान्ति र नाटकबाहिर दर्शकको कल्याङकुलुङ आवाज सुन्ने प्रतीक्षामा छन् ।
विगत ७ वर्षदेखि शिल्पी थिएटरमा रंगकर्मको यात्रा अगाडि बढाइरहेकी रंगकर्मी पवित्रा खड्कालाई आजकल शिल्पीको परिसर न्यास्रो लाग्छ । “नाटक मञ्चन हुँदा दर्शकको भिड र रिहर्सल हुँदा वा नाटकको तयारी हुँदा साथीहरू (अन्य रंगकर्मी) को भिड कहिले खाली नै हुँदैन थियो शिल्पी र शिल्पीको गोठाले नाटकघरमा । तर पहिलोपटक यति लामो समयका लागि शिल्पी सुनसान भएको देख्दा न्यास्रो लागिरहेको छ,” उनी कोरोना महामारीले थला परेको वर्तमान रंगमञ्चको अवस्था बताउँछिन् ।
विगत ८ वर्षदेखि रंगमञ्चमै रमाइरहेकी खड्काका लागि रंगमञ्च आफ्नै शरीरको एक अंगजस्तै भइसकेको छ । किनभने उनी शिल्पीकै होस्टेलमा बस्ने भएकाले चौबीसै घण्टा रंगमञ्चमै हुन्छिन् । उनी अहिले दर्शकले भरिएको नाटकघरको माहोल सम्झिरहेकी छिन् ।
नाटकघरको सम्झनाले अति नै पिरोल्न थालेपछि रंगकर्मी अंकित खड्का केही दिनदेखि नाटकघर जान थालेका छन् । तर नाटक, दर्शक र रंगकर्मीबिनाको सुनसान नाटकघरमा उनी कोरोनाले थला पार्नुअघिको मधुरो प्रकाशबीच पनि उज्यालो छाउने नाटकघरको माहोल सम्झिरहेका छन् ।
“मलाई त साथीहरू धेरै सम्झना आइरहेको छ, अनि आफ्नो काम पनि । नाटक हुँदा होस् या नहुँदा सधैं सबै थिएटरमै जम्मा हुन्थ्यौं । रमाइलो गर्ने, कामको कुरा गर्ने, एक-अर्कालाई सल्लाह-सुझाव दिने हुन्थ्यो । त्यसैले थिएटर मलाई घरजस्तै लाग्थ्यो र सहकर्मीहरू परिवार जस्तो । तर कोरोनाले सबै कता पुर्यायो कता ?” उनी नोस्टाल्जिक हुन्छन् । यति लामो समय फुर्सदमा बस्नुअघि उनले अन्तिमपटक अभिनय गरेको नाटक ‘झिम्के मामा’ थियो ।
“ फेसबुकमा पहिले यो समयमा गरेका नाटकहरूको सम्झना आउँदा पहिलेको दिनहरू याद आउँछ,” रंगकर्मी सरस्वती अधिकारी सम्झनामा फर्किन्छन्, “अब फेरि पहिले जस्तै नाटकघरमा प्रत्यक्ष दर्शकको उपस्थितिमा नाटक मञ्चन गर्न कहिले पाइने होला ?”
अन्य रंगकर्मीहरुजस्तै अधिकारी पनि नाटकघरभित्रको माहोल र त्यहाँ पाउने शान्ति र आत्मसन्तुष्टि सम्झिरहेकी छिन् । नाटघरभित्र आफूले आफूलाई पाउने उनी त्यहाँ फर्किन निकै आतुर छिन् ।
लकडाउन धेरै लामो नहोला र चाँडै रंगमञ्चमा फर्किन पाइएला भन्ने आशाले लकडाउनको एक महिनासम्म कर्मथलो काठमाडौंमै बसेका रंगकर्मी आईपी आचार्य लकडाउन खुल्ने छाँट नदेखिएपछि जन्मस्थान हेटौंडातिर लम्किए ।
नाटक, अभिनय गर्ने लत लागिसकेका उनलाई लकडाउनले अभिनय गर्न रोकेको छैन । हेटौंडामै मोबाइल थिएटर नामक नाटक प्रतियोगितामा भाग लिए र मोबाइलबाटै खिचेर आफू र अर्का एक रंगकर्मी साथी मिलेर १० मिनेटको नाटक तयार पारे । त्यस्तै उनी अहिले अर्को एक भर्चुअल नाटकको तयारीमा छन् ।
तर दर्शकको प्रत्यक्ष उपस्थितिमा अभिनय गरिरहेका उनको भोक यो भर्चुअल अभिनयले मेटाउन सकेन । न त यसले त्यो कालो पर्दा र मधुरो प्रकाश बलिरहेको नाटकघरको माहोलको अनुभूति दियो । यसैकारण आचार्य अब फेरि काठमाडौं नै फर्किएर साथीहरूसँग अब कसरी अगाडि बढ्ने बारे छलफल र स्थिति सामान्य हुनेबित्तिकै रिहर्सलमा जाने तयारीमा जुट्ने योजना रहेको बताउँछन् । आचार्य मञ्चनअघि हुने रिहर्सलको पाटो धेरै ‘मिस’ गरिररहेका छन् ।
रंगकर्मी दीपेन्द्र शाही पनि नाटकघर पुनः खुल्ने पखाईमा छन् । “नाटक र नाटकघरबिना यति लामो समय बसियो तर अब त छटपटी हुन थालिसक्यो । फेरि पहिलेजस्तै सामान्य कहिले होला र नाटकघरमा फर्किन पाउने होला भन्ने पखाईमा छु ।”
उनलाई रंगमञ्चको हरेक पाटोको याद आइरहेको छ, चाहे त्यो दर्शकसामु मञ्चन गर्ने होस्, चाहे पर्दापछाडिको रिहर्सल होस् या त मञ्चनपछि नाटकघर बाहिर दर्शकसँगको प्रतिक्रिया आदान-प्रदान गर्नेहोस् ।
उनी अभिनयसँगै निर्देशन पनि गर्छन्, महामारीअघि उनको निर्देशन रहेको अन्तिमनाटक ‘झोला हराएको मान्छे’ थियो । रंगकर्मीहरू नाटकघरभित्र सिन अनुरुप बल्ने र निभ्ने प्रकाश अनि ब्याकग्राउन्डमा बज्ने धुनले फेरिने नाटकघर भित्रको माहोललाई सम्झिरहेका छन् ।