दिनभरि भुर्यौली खेलेर (भुरा माछा मार्ने जाल खेलेर) एक माना भुरा परेन । कोसीको दोष होइन, धमिलै आएको हो । उसको पनि दोष होइन नि, उसले पनि जाल राम्रै हानेको हो ।
ऊ आफ्नो टोपी थाप्छ र त्यसमा फुर्लुङका माछा फुर्लुङ घोप्ट्याएर अड्कल गर्छ, मुठी पाँचेक माछा त निस्के होलान् । टोपी पटुकामा घोप्ट्याएर राम्ररी कस्छ । यो देखाउनु हुँदैन । देखाएपछि माग्ने, खोस्ने, लिने, वचन हार्न नहुने धेरै जजमानहरू भेट हुन्छन् । अनि फुर्लुङ कम्मरमा बाँध्छ । जाल तह लाएर काँधमा राख्छ । जसलाई ढाडमा जालबाहेक अरू केही चिजले नै छोएको जस्तो लाग्छ । जाल उठाएर हेर्छ– ‘एउटा जिउँदो सानु जुँघे माछो आधा जालबाट निक्लेर फट्फटाउँदै छ...।’ अहिले झिक्नुपर्ला ऊ सोच्छ । उँभो लाग्छ लौरो टेक्दै कोसीको बगरैबगर गाउँतिर ।
स्वास्नी वनबाट फर्किसकिछ । भर्खर बिसाएको लहराले बाँधेको एक भारी मात्र दाउरा देखेर ऊ अड्कल्न सक्दैन– छोरीले कसरी दिन बिताइ । किनभने छोरी पनि दाउरा लिन आमासँगै वन गएकी थिई । छोरीले दाउरा दिएर दुई माना मकै ल्याइछ पसलबाट, भुट्न लागेको देखेर ऊ थाहा पाउँछ ।
दाउराको भारी नियालेर हेर्दा ऊ देख्छ भारीमाथि केही माटो बसेको छ अर्थात् स्वास्नीले भ्याकुर पनि ल्याइछ...।
ऊ टुसुक्क बस्छ । कुनै लाहुरेसँग पोइल जान ठिक्क बेला भएकी तरुनी छोरी मकै भुट्दै छे । स्वास्नी गिठा पोलेर बालखलाई ख्वाउँदै छे । छोरीले अनुहार उठाएर पुलुक्क बाबुतिर हेर्छे । ऊ अनुहार बटार्छ । उसलाई थाहा छ किन हेरेकी हो ? केही खाने कुराको आशाले । तर उसले क्यै ल्याएन । उसलाई लाज लाग्छ । तर लाज नै सबथोकको औषधि होइन । यसरी छोरीले हेर्न थालेको नै कति दिन भइसक्यो । कति दिनदेखि ऊ यस्तै रित्तो हात फर्केको छ...।
कुम्लामा क्यै खान्की नबोकेको बाबु देखेर ऊ निराश हुन्छे– ‘अचेल असाध्यै राम्रो बेल पाइन्छ’– अनुहारमा निराशा पोतिन नदिई ऊ भन्छे ।
‘अँ’ मझेरीमा लडेका तमाममध्ये एउटा बेल टिपेर थाममा हिर्काउँछ... फोर्न र खान । तर खाँदैन । उसको पेट घाँटीसम्म भरिएर आउँछ । पटुकाको माछा सिलाबरे बटुकामा खन्याउँदै भन्छ– ‘यो पोलेर खाँदै गर्नू, म क्यै न क्यै लिएर आउँछु ।’ ऊ जाल बोकेर निस्कन्छ ।
‘खाएर जाउ न त’ छोरी भन्छे ।
ऊ क्यै नबोली निस्कन्छ ।
जालमा अड्केको माछाले फेरि उसको नाङ्गो ढाडमा हिर्काउँछ । उसलाई एकाएक नरमाइलो लाग्यो, स्वास्नीले वास्ता गरिन । दोहोरो बोलचालसम्म भएन । उसको आगमन र प्रस्थानले क्यै फरक पारेन । लुते मोरो । पोइ भन्न पनि लाज मर्नु– स्वास्नी सोच्छे होली, ऊ सोच्दछ । टाउको कुममा घिसारेर बाटो लाग्छ । भित्रबाट छोरी कराउँछे– ‘अलिकति खाजा खाएर जाउ रे, आमाले भन्या....।’
‘आमाले भन्या ।’ ऊ प्रशन्न हुन्छ । भन्छ– ‘पख्–पख् एकै छिनमा आउँछु एस्सो कतै क्यै हात लाग्छ कि !’
ऊ लम्कन्छ र माछो एकपटक फेरि छटपटाउँछ । पिठ्यूँमा माछाले हिर्काएको ठाउँ चिलाउँछ । ऊ लम्कन्छ ।
दोबाटामा आएर उसले थामिनुपर्छ, थामिन्छ । कुन बाटो समाउनु यौटा बाहुन गाउँ जान्छ अर्को छेत्री । कहाँ गएर उसले क्यै पाउन सक्ला ? कतै क्यै पाइँदैन उसलाई थाहा छ, बरु अघिका भुरा सिलमा उनेर लगेको भए पसलमा दुई–चार पैसा पाइने थियो ।
ऊ थ्याच्च बसेर बिँडी बेर्न थाल्छ ।
छेत्रीहरूकाँ जानु ‘तैंले हामीलाई खेत दिएको थिइस् र ?’ भन्छन् । साँच्चै उसले छेत्रीहरूलाई खेत दिएन । कुन मुखले माग्न जानु ? चिसापाने र फुसमारी माझीलाई छेत्रीहरू अन्न दिन्छन् पचीसा ब्याजमा, किनभने उनीहरूले खेत दिएका थिए अर्थात् बढ्दो रिनको साटो खेत फार्से (रजिस्ट्रेसन पास) गरिदिएका थिए, सुम्पिदिएका थिए ।
बाहुन गाउँ जानु सबले कान्छा मुखियाको घर देखाइदिन्छन् किनभने उसले खेत कान्छा मुखियालाई टक्र्याएको थियो । कान्छा मुखिया धोती फुकालेर देखाइदिन्छन्, भन्छन् ‘एकचोटि लिएको खेतको जिन्दगीभरि मोल तिरिरहन म सक्दिनँ । जा जे–जे नाप्छस् नाप् ।’
उसले धेरै प्रयास ग¥यो, तर के कति नाप्न सक्यो त्यो उसैलाई थाहा छ ।
अतः ऊ तेस्रो बाटा समाउँछ– खेतभरि मकैका जुँघा मस्किन लागेका छन्, उसको फुर्लुङ खाली छ ।
उसले दुधिला हारी लागेका खेतको बीचोबीच बाटो पैल्याउँछ । बाटो यौटा चारपाटे गरामा उक्लियो । ऊ त आफ्नै खेतमा पो आइपुगेछ । छिः उसले किन आफ्नू भनिठानेको । आफ्नू थियो कुनै समयमा, तर अहिले यो कान्छा मुखियाको छ । खेत सुम्पेर पनि उसले रिन खान पाउँदैन, किनभने उसले यो खेत थेग्न सक्दो प्रयत्न गरेको थियो । तलमाथि मुखियाको खेत, बीचमा उसको खेत परेर मुखियालाई चकला मिल्न दिएको थिएन, अतः मुखिया बाजेबाट मर्जीभो ।
‘तेरो खेत मलाई बेच् ।’
‘बालबच्चा भोकै मर्छन् बाजे ।’
‘मलाई सन्निसर्पन नपार् ।’
‘सरकार ।’
तर सरकार भनेको क्यै सार लागेन । उसको खेतले मुखियाबाजेको खेतलाई सन्निसर्पन पारेन । उहाँकैमा मिसियो । उसले मुद्दा ग¥यो । न्याय के पायो– ६ महिना झ्यालखान । झ्यालखानबाट छुटेर उसले आफ्नो एक बिसौलीको घङारू हल्लाउनुपर्यो । मातेको सुरमा ऊ लठ्ठी घुमाउँदै मुखियाको आँगनमा टेक्न पुग्यो । जात्रामा झैँ ऊ लठ्ठी घुमाएर मुखियाको आँगनभरि उफ्रन थाल्दा वरिपरिबाट कोही पनि निस्कन सकेन । ठूलो घरको मूलढोकामा त्यतिन्जेल उसले लठ्ठी ठड्यायो जतिन्जेल त्यो धुजा धुजा भएर चिरिएन । भित्रबाट अग्ला, गराला, चुकुल बन्द भए । ‘नेपाले’कर्मीले बनाएको अग्राखको खापावाल ढोका उसले फोर्न सकेन । अतः मुखियाको टाउको पनि फोर्न सकेन ।
र, फर्कियो ।
र, फेरि झ्यालखान पुग्यो ।
ऊ पुनः फर्कियो ।
र, फेरि झ्यालखान पुग्यो ।
यी सब कुरा उसका बैंसका पाना हुन् । धर्तीको यौटा सानु टुक्राका कथा हुन्, तर फेरि झ्यालखाना जानै परे पनि ऊ एकपटक अन्तिम प्रयास गर्ने थियो । ऊ पाखुरा हेरेर निराश हुन्छ । छालाभित्र मासु सुकिसक्यो । छाला टाक्सिइसक्यो । तर एकाएक भरिलो पाखुरा भएको छोरालाई सम्झन्छ– छोरो कतै विदेशमा ‘बहादुर’ नाउँ सार्थक गरिरहेको छ– भरिला पाखुरा लिएर । साना सानै छन् ।
ऊ उभिन्छ । किन आयो ऊ यता ? ऊ त आएको थियो माछाले नभरिएको फुर्लुङ मकैका घोगाले भर्न, अर्थात् अर्काको खेतबाट मकै चोर्न । आफ्नु खेत त बाँकी भए पो आफ्नै मकै भाँच्नु । कति फरक छ चोर्नु र भाँच्नुमा ! आफ्नु भए हाकाहाकी ‘भाँच्ने’ थियो । केही घोगामात्र चोर्न सके पनि आजको छाक टर्ने थियो । छोरीले हँसिलो अनुहार लाउने थिई । खान दिनसकेको भए बुहारी पनि त पोइल जाने थिइन । उसको आफ्नै पेट पनि भरिने थियो । कति दिनदेखि उसले पेट भरेको छैन । केटाकेटी, आइमाईको मुख मोसेर उसले गिठा, भ्याकुर र बेलले आफ्नु पेट भरिदिनु पनि त भएन ।
ऊ मस्केका सुत्लाको खोजीमा आँखा घुमाउँछ– कोही मान्छे चियो बसेका पो छन् कि ।
खुकुरीको दापबाट ऊ कर्ध सुत्त झिक्छ । खोस्टा चिरेर बोटबाट घोगा मात्रै भाँच्छ । दार्न थाल्छ । पर देख्छ– एकजना उतिर आइरहेको । हत्तपत्त मुख पुछेर ऊ आगन्तुकपट्टि नै लाग्छ ।
गोरो अग्लो ब्राह्मणपुत्रको पाउमा निहुरेर ऊ ढोग्छ । ढोग खाएर ब्राह्मणपुत्र सोध्छ– ‘कति मारिस् माछा– ले ।’ ऊ फुर्लुङ हेर्छ । र देख्छ– यौटा आधा दारेको मकैको काँचो घोगा मात्र ।
‘बाजे ।’ ऊ बोलाउँछ ।
‘किन ?’
‘बेल खाँदा–खाँदा पेट यस्तो भइसक्यो’ – चाउरिएको पेटको छाला तानेर ऊ देखाउँछ ।
‘म के गरौँ त ?’ ब्राह्मणपुत्र सोध्छ ।
‘अलिकति एस्सो’ – आंैलालाई गाँसको आकार बनाएर ऊ मुखतिर इसारा गर्छ– ‘खाने मेलो !’
ब्राह्मणपुत्र खल्तीबाट एक मोहर झिकेर उसको हातमा राखिदिन्छ र हिँड्न थाल्छ ।
ऊ टोपीले आँखा पुछ्दै भन्छ– ‘बालबच्चाले तीन दिनदेखि अन्न सुँघ्न पाएका छैनन् ।’
‘म के गरौँ त ?’ खल्तीबाट अर्को एक मोहर दिँदै ब्राह्मणपुत्र भन्छ– ‘अघि त लठ्ठी लिएर कुर्लिन्थिस् त हाम्रै आँगनमा मार्छु, काट्छु भनेर...।’
बाटो समाउँछ ब्राह्मणपुत्र ।
ऊ विचार गर्छ– अघि लठ्ठी लिएर मुखियाको आँगनमा नउफ्रेको भए, मार्छु काट्छु नगरेको भए, खेत खान सजिलै दिएको भए उसले अरू बढ्ता पैसा पाउने थियो । साँच्चै, उसले अझ बढ्ता पैसा पाउने थियो, हुन सक्छ अनिकालमा खान अन्न पनि पाउने थियो । उसको खेत खाने साहू कान्छो मुखियाको छोराबाट...उसले दातालाई परसम्म हेरिरहन्छ ।
घाटमा एक रुपियाँको तीन डबका जाँड खान पाइन्छ ...ऊ घाटतिर लम्कन्छ.... अनि रातभरि जाल खेल्नेछ ।
आकासभरि जाल लागेको छ बादलको, कोसी निस्से पनि आज राति लुुँडिएर आउनेछ....।
ऊ जाल सम्याउँछ । जालमा अड्केको माछा फेरि फट्फटाउँछ । ऊ जाल उचालेर हेर्छ– यौटा माछो जालमा अड्केको, नमरेको, नबाँचेको केवल फड्फडाइरहेको... ऊ आफूजस्तै ।
उ लम्कन्छ उँधोतिर ...।
(‘जगदीश घिमिरेका प्रतिनिधि कथाहरू’ बाट ।)