site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
निषेधाज्ञा बीच सयौं किसान लाइनमा : कसैले १० केजी पाए, कोही रित्तै

चितवन । कोरोना महामारीमा अहिले सबैको प्राथमिकता यसबाट जोगिनु हो । सरकारले पनि लकडाउन र निषेधाज्ञामार्फत कोभिड १९ नियन्त्रण गर्ने प्रयास गरेको छ ।

तर चितवनका किसानलाई अहिले कोरोनाभन्दा मल अभावले धानखेती बिग्रिएला कि भन्‍ने चिन्ताले सताएको छ । यहाँका किसान अहिले निषेधाज्ञा तोड्दै मल डिपोअघि लाइनमा उभिएका छन् । त्यहाँ न भौतिक दूरी पालना गरिएको छ न अन्य सावधानी अपनाइएको छ ।

चितवनमा पनि भदौ १९ गतेसम्म निषेधाज्ञा जारी छ । यहाँका किसानमा कोरोनाको त्रासभन्दा पनि आफ्नो मिहिनेत र लगानी खेर जान्छ कि भन्‍ने बढी चिन्तामा छन् । असारबाटै युरिया मल आउने प्रतीक्षामा रहेका किसान आइतबारदेखि नै मल पाउने आशमा थिए । भरतपुर महानगरपालिका ८ मा रहेको प्रगतिशील कृषि सहकारी संस्थामा आइतबार फरक दृश्य देखियो । पाँच सय मिटरभन्दा लामो लाममा चितवनका कृषकहरू हात-हातमा बोरा लिएर उभिरहेका थिए । तर कतिले पाए । कति त रितै फर्किए । उसो त किसानको यो दैनिकी बुधबारसम्मै चलेको छ ।

Dabur Nepal

स्थानीय कमला पौडेल आफू बिहान ५ बजे आएर लाइनमा बसे पनि मुस्किलले साढे १० बजे ५ केजी मात्र मल पाएको बताइन् । ‘‘के गर्नु भिड भनेर कोरोनाको डर मानेर बस्दा धान नै मलको अभावमा खतम हुने भयो । त्यसैले यो जोखिम लिएँ,’’ उनले भनिन् । आफ्नो बारीलाई २० केजी मल चाहिने भए पनि सहकारीले ५ केजी मात्र दिएको उनको भनाइ छ । 

उनीजस्ता सयौं किसान मल पाउने व्यग्र प्रतीक्षामा थिए । लाममा अगाडि बस्‍नेहरुले मल पाउनेमा आशवादी देखिए पनि पछाडि लाममा बस्‍नेहरुलाई भने मल पाउने या नपाउनेमै अनिश्‍चित रहेको देखिन्थे । सोही वडाका अर्का किसान भागीरथ तिमिल्सिनाले आफू ४ घण्टा लाइन बसेपछि मल सकिएको खबर पाएको बताए । ‘‘मल पाइएला भनेर चाँडै उठेर गएको,’’ उनले भने, ‘‘म जाँदा नै लामो लाइन भइसकेको रहेछ । मल नपाई रित्तो फर्किंएँ ।’’

यति बेला जिल्लाभरका कृषि सहकारीले न्यून मात्रामा मल वितरण गरिरहेका छन् । लाममा रहेका रहेका किसानको एउटै आशा हो मल पाउने । लामो लाइनमा बसेका किसानहरू मलको परिमाण सकिँदै गएपछि लाइनमा धकेला-धकेल गर्न बाध्य भए । भिड अनियन्त्रित भयो । आखिरमा प्रहरीले लाठी चार्ज गर्नुपरेको थियो । भरतपुर १४, शिवनगरका अर्का किसान ज्ञानुशाही ठकुरी भिडबाट उम्केर भाग्‍न सफल भए । ‘मल पाउँछ भनेर बिहानै लाइन बसेको मल पाउनु त कता हो कता झन्डै प्रहरीको लाठी भेटिएन,’’ उनले सुनाए । विवाद र झडपको जस्तै अवस्था सिर्जना भएपछि मल वितरण नै स्थगित गरिएको उनले बताए ।

विशेषगरी युरिया मल यो समयमा धानखेतीमा राख्‍ने अन्तिमपटक हो । असारको तेस्रो सातादेखि नै मल पाउने आशामा बसेका किसान भदौको तेस्रो सातासम्म आउँदा पनि नपाएपछि आक्रोश र असन्तुष्टि हुने नै भयो । 

बुधबार बिहान पनि भरतपुर ६ को दृश्य पनि उस्तै थियो । मल पाउने भेउ अघिल्लो दिननै पाएका स्थानीय देउकुमार थापामगर बिहानै ४ बजेर उठेर लाइनमा बस्‍न साथीसँगै गए । तर उनी पुग्दा झन्डै डेढ सय जनाभन्दा पछि पो परे । ‘‘पहिल्यै पाउँछु भनेर गएको झन् मभन्दा पहिल्यै ठूलो भीड भइसकेको थियो ।’’ ४ बजे लाइनमा बसेका उनले १० बजे १० केजी मल लिएर फर्कनुपर्‍यो । ‘‘जग्गा त थुप्रै छ नि अब १० केजी मलले कहाँ हाल्नु कति हाल्नु ?’ उनी गुनासो गर्छन् । आफूले १० केजी मल पाउँदा पनि अलिअलि राहत भएको उनी बताउँछन् ।

सोही वडाका अर्का किसान मोहन अधिकारी मल पाउने प्रतीक्षामा आफूलाई कोरोना महामारी छ भन्‍ने नै बिर्सेको बताउँछन् । ‘‘जतिनजिक पालो आउन लाग्यो उति ठेलमठेल हुन्छ, कोरोनाको डरभन्दा पनि मल पाइँदैन कि भन्‍ने डर थियो मलाई ।’’ उनले बाध्यता बताए । जिल्लाका सबैजसो सहकारीमा सयौं किसान सामाजिक दूरीको अवज्ञा गर्दै भिड गरेर बस्दा पनि स्थानीय प्रहरी प्रशासनले समन्वय गर्न नसकेको किसानहरुको आरोप छ ।

लकडाउनका कारण पर्याप्त मल भित्रिन नसक्दा मल समयमा वितरण गर्न नसकिएको वितरण केन्द्रको भनाइ छ । अनुदानका रुपमा आउने यो मल देशभरका कृषि सामग्री कम्पनीले ७० प्रतिशत र साल्ट ट्रेडिङ कर्पोरेसनले ३० प्रतिशत मात्र बिक्री-वितरण गर्दै आएको छ । 

 

 

कृषि सामग्री कम्पनीमा आउनुपर्ने मल अझै नआइपुगेको र आउने निश्चित नहुँदा हरेक कृषि सहकारी संस्थामा किसानको भिड बढेको हो । कृषि सामग्री कम्पनी चितवन शाखा प्रमुख रवीन्द्र गौतम अझै पनि मल नआएको र आउने समय पनि अनिश्चित भएकाले सहकारीमा किसानको भिड बढेको बताउँछन् । ‘‘कृषि सामग्रीमा अझै पनि मल आएको छैन । अहिले धानखेती किसानको पिकआवर पनि हो,’’ गौतमले भने ।

साल्ट ट्रेडिङ कर्पोरेसन चितवनका प्रमुख बुद्धिविनोद दाहाल पनि किसानको माग अत्यधिक र आपूर्ति न्यून भएका कारण सहकारीमा भिड बढेको बताउँछन् । ‘‘धानखेती सिजनमा मात्रै यहाँ १० हजार टन मलको माग छ,’’ उनले भने, ‘‘आइतबारदेखि कार्यालयमा दुई सय टन मात्र मल आएको छ ।’’ उनका अनुसार कार्यालयलाई क्षेत्रीय कार्यालयले यसपटक २५६ टन मल छुट्याएको र अब ५६ टन मात्र आउन बाँकी छ । जिल्लामा मात्रै सूचीकृत सहकारी सयभन्दा बढी छन् । कार्यालयले चितवनलगायत नवलपरासी, गोरखालगायत जिल्लामा समेत मल बिक्री-वितरण गर्दै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १७, २०७७  १७:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro