site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
‘खेल जीवनबाट संन्यास लिने उपयुक्त वातावरण बनेन’

काठमाडौं । अनु लामा नेपाली राष्ट्रिय महिला फुटबल टोलीका लागि महत्त्वपूर्ण खेलाडी थिइन् । १५ वर्ष राष्ट्रिय टोलीका लागि खेलेकी अनुले लामो समय नेपाली महिला फुटबललाई उच्च स्थानमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलिन् । उनको एकमात्र सपना थियो नेपाललाई साफ च्याम्पियन बनाउने र हजारौँ दर्शकमाझ अन्तर्राष्ट्रिय फुटबल करियरबाट संन्यास लिने ।

प्रशिक्षक हरि खड्काले साफ च्याम्पियन्सिप २०१९ का लागि नेपाली टोलीको घोषणा गरे जसमा अनु परिनन् । उपाधि जित्ने योजनाका साथ बनेको टोलीमा अनुले स्थान बनाउन सकिनन् । लामो समय राष्ट्रिय टोलीका लागि गरेको योगदान उनलाई खेर गएको अनुभव भयो ।

बाह्रखरीसँगको कुराकानीमा अनुले भनेकी थिइन्, “१५ वर्ष फुटबलमा लाग्दा मलाई एउटै सपना थियो । नेपाललाई साफ फुटबलको उपाधि जिताउनु । अर्को सपना थियो फुटबल करियरको अन्त्य गर्दा सबै समर्थकले मेरो बिदाइ देख्‍न सकून् ।” 
खेलाडीहरूको संन्यास लिने परिपाटी नहुँदा बनेको यो एउटा उदाहरण हो । ३५ गोलको सर्वाधिक गोलकर्ताको कीर्तिमान उनकै नाममा छ । अहिले अनुको कीर्तिमानसँग सावित्रा भण्डारीले बराबरी गरेकी छन् । अनु चाहन्थिन् नेपाललाई एसियाकै च्याम्पियन बनाउने । उसो त नेपाली टोलीको लक्ष्य नै च्याम्पियन बन्‍ने थियो । तर, नेपाल सधैं झै फाइनलमा भारतसँग पराजित हुन पुग्यो । अनुको सपनासँगै नेपालको सपना पनि पूरा हुन सकेन ।

Dabur Nepal

नेपालमा हालसम्म खेलाडीहरूको खेल जीवनको अन्त्य हुँदा संन्यास लिने उपयुक्त वातावरण नबन्‍नु हो । अन्तर्राष्ट्रिय खेलकुद स्तरमा खेलाडीहरूले दिएको योगदानको कदर गर्दै संन्यास लिन अन्तिम बिदाई खेल खेल्न दिने चलन छ । 

भर्खरै मात्र छिमेकी देश भारतका क्रिकेटर महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिँदा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले बिदाई खेल खेलाउन तयार भएको बताएको थियो । अब धोनीले आफ्नो खेल जीवनबाट संन्यास लिँदा दर्शक सामू लिन सक्नेछन् । 

नेपाली खेलकुद क्षेत्रमा खेलाडीले खेल क्षेत्रबाट संन्यास लिँदा आफैं अग्रसर हुनुपर्ने देखिन्छ । नेपाली खेलकुद क्षेत्रमा न त खेलाडीले संन्यास लिने वातावरण निर्माण हुन्छ न कुनै खेल संघले खेलाडीको संन्यास लिने परिपाटी बनाइदिन्छ । यसै अवस्थामा धेरै नेपाली खेलाडी खेल जीवनको अन्त्य निराशमय तवरले गर्छन् ।

त्यसमध्येका एक हुन्- नेपाली क्रिकेट क्षेत्रमा लामो समय बिताएका खेलाडी मेहबुब आलम । उनले पनि हालसम्म अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छैनन् । उनलाई संन्यास लिने वातावरण पनि मिलेन । न नेपाली क्रिकेटले उनलाई बिदाई खेल खेलाउन माहोल बनायो । उनी हाल केही घरेलु खेलहरूमा देखिन्छन् । तर, अन्तर्राष्ट्रिय क्रिकेट खेल्न छाडेको लामो समय भयो । उनले न संन्यास लिएका छन् । न हालसम्म उनलाई संन्यास लिन कसैले माहोल बनाइदिएको छ ।

विश्व क्रिकेटमा एकै खेलमा १० विकेट लिएर कीर्तिमानी बनाएका खेलाडीले नै हालसम्म संन्यास लिने वातावरण नपाउनु खेल क्षेत्रका लागि लाजमर्दो कुरा हो । आलमले खेल्न छाडेको लामो समयपछि भने क्यानले बिदाइको माहोल बनाउने आलमले बताएका छन् ।

“अन्तर्राष्ट्रिय क्रिकेट खेल्न छाडेको लामो समय भइसक्यो । मैले संन्यास भने लिएको छैन । हालसम्म संन्यास घोषणा गर्ने माहोल पनि केही बनेको थिएन । मैले पनि आफैं माहोल बनाउने प्रयास गरेको थिएँ । अहिलेसम्म मिलेको छैन । अब यो वर्ष संन्यास घोषणा गर्ने भन्‍ने हो कोरोनाका कारण समय मिलेको छैन,” आलमले बाह्रखरीसँग भने ।

यता क्यानले आलमको संन्यास लिने वातावरण मिलाउने जनाएको छ । यो वर्षका लागि राखिएको कार्यक्रम कोरोनाका कारण पछि सरे पनि उनको संन्यास घोषणा गर्ने स्थिति मिलाउने बताएको हो । क्यानले आलमको बिदाईमा खेलको आयोजना गर्छ या सम्मान गरेर बिदाइ गर्छ त्यो हेर्न भने बाँकी छ ।

त्यस्तै नेपाली क्रिकेट टोलीका पूर्वखेलाडी परेश लोहनीले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छैनन् । उनले राष्ट्रिय टोलीबाट खेल्न छोडेको लामो समय भयो ।

यता नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जन पनि आफ्नो बिदाई खेलको पर्खाइमा छन् । सन् २००८ बाट नेपालका लागि खेल्न थालेका विराज हाल संन्यास लिने तयारीमा छन् । सन् २०२० को विश्वकप छनोटअन्तर्गत खेल खेल्दै संन्यास लिने योजना बनाएका विराज टिममा भने पर्न सकेनन् । लामो समय देशका लागि खेलेका विराजलाई बिदाई खेल खेल्न पाउने आशा भने छ ।

त्यस्तै नेपाली महिला भलिबल टोलीकी खेलाडी मन्जु गुरुङ, विनु बुढाथोकी र कोपिला उप्रेतीको योजना पनि अन्तिमपटक सागको महिला भलिबल खेलमा सहभागिता जनाउँदै संन्यास लिने थियो । तर त्यसो हुन सकेन् । उमेर र खेलको हदबन्दी लाग्दा बिदाइ खेल खेल्न उनीहरुले पाएनन् । विनुले साग भलिबलमा सान्तोना स्वरुप बिच भलिबल खेलिन् । तर, जुन खेलबाट आफूले देशलाई योगदान दियो त्यही खेल खेल्न भने उनले पाइनन् ।

दुवैले लामो समयसम्म राष्ट्रका लागि दिएको योगदानको कदर नभएको बताए । “लामो समयसम्म देशका लागि खेले । भलिबलबाटै संन्यास लिने मेरो चाहना थियो । त्यो हुन सकेन । भलिबल संघले पनि बिदाई कार्यक्रम आजसम्म राख्‍न सकेन,” भलिबल खेलाडी मञ्जु गुरुङले भनिन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७  ११:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro