चित्रा मुद्गल
“पापा, बिहान–बिहानै उठ्नासाथ तपाईंं सहगलको सीडी किन बजाउनु हुन्छ ?
कस्तो दिक्कलाग्दो गीत छ !
‘जब दिल ही टुट गया, हम जी कर क्या करेङ्गे ?’
यो पनि गीत हो र । यो त रोदन हो करुण रोदन ।
बन्द गर्नुस् ।
पचासौं नयाँ नयाँ सीडी अमृताले ल्याएर राखेकी छन् घरमा ।
त्यो सुन्नुस् ।”
“पापा, तपाईंं पनि हदै गर्नुहुन्छ ! यो ल्यान्डलाइनको बिल पनि बाह्र सय रुपैयाँ ? यत्ति धेरै !
हामी त कतै गर्दैनौं फोन ।
घरमा हामी हुन्छौं नै कहिले ?
अफिसमा खट्दा–खट्दा सुत्नका लागि राति मात्रै त घर आउँछौं । हामी भएका बेला कसैको फोन आउँदा उठाउने मात्रै त हो ।
जसलाई फोन गर्नु छ, उसलाई हामी अफिसबाटै गर्छौंं । आफ्नो– आफ्नो मोबाइल पनि छँदै छ, हामीसँग । तपाईंलाई मोबाइल दिएका छैनौँ किनभने तपाईंंलाई पेसमेकर लगाइएको छ ।”
अमृता भनिरहेकी थिइन्, तिमी बेकारमा गनगन गरिरहेका छौं । बरु ठूलो कुरो मान, बिल कम आइरहेको छ ।
वरिष्ठ नागरिकका लागि सरकारले हरेक ठाउँमा छुट दिइराखेको छ ।
“मलाई त लाग्छ, एमटीएनएलवालाहरूले बूढापाकाहरूका लागि भनेरै फोनको दरभाउ आधा गरिदिएका हुन् ।
नभए पापालाई के छ र ।
हरेक आधा घण्टामा बीस–पच्चीस मिनेटभन्दा कम कुरा गर्नुहुन्न ।
थाहा छैन, फोनमा यत्ति कुरा किन गर्नु हुन्छ तपाईंं ।
कोसँग कुरा गर्नु हुन्छ खै ?
जोसँग गर्नु हुन्छ, त्यो पनि फुर्सद भएको नै मानिस होला ।
त्यस हिसाबले बिल सामान्य नै सम्झिनुपर्यो ।”
“लौ सुन आफ्नो बाउको प्रशंसा–
मलाई त छिमेकी रमणिकाले बसमा बताएका थिए ।
हिजो दिउँसोको कुरा हो ।
पछिल्लो गल्लीको मोडमा बस्ने धोबिनलाई दुई–चारपटक उल्टी के भयो–
पापाले उसलाई रिक्सामा बसाएर अस्पतालतिर लिएर कुद्नु भयो ! त्यहाँ गएर थाहा लाग्यो रतनिया गर्भवती छे !
हामीलाई त थाहा पनि छैन । प्रपञ्चमा हामी कहाँ पर्छौं र ।
टोलभरि चार थरिका मानिसले चार किसिमका कुरा गरिरहेका छन् ।
यो खन्ना, किन यति चिन्तामग्न भएको छ रतनियालाई लिएर ?
अब म कस्कस् कहाँ गएर गएर सफाइ दिउँ, कि पापाजी पचासी वर्ष पार गर्दै हुनुहुन्छ भनेर ?”
“पापा !
यो के तमासा हो ?
अफिस जाने हतारो हुँदाहुँदै पनि पानीका बोतलहरू भरेर म लाम लगाएर फ्रिजमा राखेर गएकी हुन्छु ।
साँझ थकाइले मरेर दुवै घर फर्किन्छौं त–
एक घुट्को चिसो पानी पिएर घाँटी रसाउनँ भन्यो, त्यो पनि भाग्यमा हुँदैन !
हामीभन्दा त टोल–छिमेकका कर्मचारीहरू, पोस्टम्यान, ठेलावालाहरू पो भाग्यमानी भएका छन् त ।
तिनलाई जतिखेर प्यास लाग्छ,
तपाईंंं बोतलहरू खाली गरिदिनु हुन्छ ।
तपाईंं किन बुझ्नु हुन्न, पापाजी ।
परोपकारको त्यो जमाना गयो ।
जतिखेर घरका अघिल्तिर जब मानिस पानीको घैंटो भरेर राख्ने गर्थे, गर्मी महिनामा ।
‘प्याऊ’ (पानी पिउने ठाउँ) बनाइदिन्थे हिँड्ने बाटोमा ।”
“नुनिलो खानेकुरा गएको साता नै घरमा ल्याइएको थियो, पापा !
हामीले त टोक्न पनि पाएका छैनौं ।
कत्ति चाँडो सकिएको ?
थाकेर घर फर्किँदा यसो एक पेग लिने सोच्यो, नुन चाटेर स्कचको घुट्को मार्नुपर्छ ।
तपाईंंलाई थाहा छैन, यहाँबाट बजार कति टाढा छ ?
त्यसो त तपाईंंं भनिरहनु हुन्छ,
बिकानेरी भुजिया तपाईंंको दाँतले चपाउन छोड्यो ।
फेरि कसको सेवामा सारा नमकिन भुजियाहरू सक्याउनु तपाईंं !”
“आफ्नो कोठाको बत्ती दिनभर किन बालिरहनु हुन्छ, तपाईंं ?
गएको वर्ष नै तपाईंंको मोतीविन्दुको अपरेसन भएको थियो ।
तपाईंले नै भनेकाले भएको थियो ।
अपरेसन पनि ठीकठाक भयो, तपाईंं सन्तुष्ट पनि हुनुहुन्थ्यो ।
यतिखेर तपाईंंको आँखाले राम्रोसँग देख्न सक्छ,
अझै साधारण उज्यालोमा पनि आरामले पढ्न सक्नुहुन्छ तपाईंं ।
हिजो साँझ गाडीबाट ओर्लेर गेटबाट जसै घर भित्रिएँ,
बरन्डाको बिजुली बत्ती बलिरहेको पाएँ ।
थाहा छैन कतिबेलादेखि बत्ती बालेरै छोड्नु भएको थियो तपाईंले ! किन बत्ती बाल्नु भएको ? दिन त लामै छ अचेल ?
पापा,
यो महँगीमा–
बिजुलीमा अनाहकको यो खर्च कसरी सहन सकिन्छ । भन्नुस् त ?”
“घरमा साग–सब्जी ल्याउँदैमा मात्रै घर खर्च चल्दैन नि पापा ।
सैयौँ खर्चहरू हुन्छन् ।
के–के मात्रै गनौँ ?
तपाईंंको पेन्सन त औषधिमै सिद्धिन्छ ।
बाँकी सारा खर्च त हामीले नै व्यहोर्नुपर्छ ।
लु, ठीक छ ।
पेन्सन कम छ ।
तलबै कम थियो त ।
तर त्यतिबेला के भयो तपाईंलाई ।
‘सिक्स्थ पे कमिसन’ले बढाएको हिसाब–किताब हातमा आउनासाथै तपाईं तुरुन्तै पटियाला जानुभयो ।
छोरीहरूको हात गरम गर्नलाई त होला ?
सम्झेँ,
स्वाभाविक हो ।
पैरवीको फिस भर्नु जरुरी जो थियो !”
“यो के गर्नु भयो पापा तपाईंले ?
बैठकमा मम्मीको फोटो झुन्ड्याई दिनुभयो ?
मम्मीको तस्बिर के सैयद हैदर रजाको पेन्टिङ हो ?
कति विरूप देखिँदै छ भित्ता !
सोचेको थिएँ,
साठी–सत्तर हजार जोड्न पाएको भए रजाको एउटा पेन्टिङ ल्याएर यहाँ झुन्ड्याउने थिएँ ।
नभए उनको कुनै पेन्टिङको पोस्टर नै भए पनि किन्ने थिएँ र भित्तामा लगाउने थिएँ । त्यो झुन्डिने थियो त बैठकको कलात्मकतामा उज्यालो थपिने थियो ।
छिमेकीहरूले पनि इष्र्या गर्ने थिए ।
तिनका घरको भित्तामा पनि रजाको पेन्टिङ सजिएको छ ।
सत्य त यही नै हो नि पापाजी !”
“जोडजाड गरेर बङ्गला बनाउँदैमा मात्रै कोही बङ्गलाधनी हुन सक्दैनन् ।
बङ्गलामा बस्नका लागि बङ्गलाधनीहरूजस्तो हैसियत पनि हुनुपर्छ ।
हैसियत त उही छ !
जहाँ बस्यो त्यही चिया पियो, अनि कुर्सीमुनि कप प्लेट राखिदियो ।
झिँगा भन्किएको भन्किएकै रहुन्, तिनमा ।
के नै फरक पर्छ र ।
फेरि सुधारिनुमा के–को सुख
जति आरामले ढल्केर सुत्नमा मिल्छ !”
“मानेँ, सम्पत्ति करमा वरिष्ठ नागरिकहरूले भारी छुट पाउँछन् । तर्क सही छ तपाईंको पापा ! तपाईंको सोचाइ सही हो !
पैसा हाम्रो जोगिन्छ र हामीले जोगाउनु पनि पर्छ । धेरै कमाउँदैनौं हामी तर जुन काम हुनुपर्ने हो, त्यो यदि मर्नुभन्दा पहिले नै शान्तिपूर्वक भइदिए, त्योभन्दा राम्रो अरू कुरा के हुनसक्छ र ?
एक्लो उत्तराधिकारी हुँ तपाईंको ।
हामी दुवै कमाउँछौँ ।
आरामसँग तिर्नेछौँ बढेको सम्पत्तिको कर ।
मेरो नाममा घर पास गराउन जति अहिले खर्च लाग्छ, तपाईं नरहँदा त्यही कामका लागि चार गुणा बढी पास खर्च व्यहोर्नुपर्ने हुन्छ । सायद त्योभन्दा पनि अझै धेरै ।
भन्नुस् त पापा,
कागजात कहिले तयार गर्न लगाउँ ?
वकिल साहब भनिरहेका थिए, रजिस्ट्रेसनको समयमा तिम्रो पापा हाकिमका सामुन्ने उपस्थित हुनुपर्छ । उहाँसँग इच्छा सोधिनेछ ।
त्यसो त हाकिम रजिस्ट्रेसनका लागि घरमा पनि आउन सक्छन् तर उनी घरमा आउँदा त्यसको दस्तुर साठी–सत्तरी हजारभन्दा कम हुँदैन, यता तपाईंको हातमा कम्पन पनि सुरु भइसकेको छ । पेन्सन कार्यालयका पेन्सन क्लर्कले पनि गुनासो गर्न थालेका छन्, खन्ना साहबको हस्ताक्षर बदलिँदै छ भनेर ।
बाँकी,
तपाईं आफै सोच्नुस्, पापा ।”
(सन् १९४४ सेप्टेम्बर १० मा जन्मिएकी चित्रा मुद्गलको कथा उपन्यासलगायत कृति प्रकाशित छन् ।)