site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति कहिले होला ?
SkywellSkywell

काठमाडौँ । संविधान जारी भएको पाँच वर्ष बित्दा पनि संवैधानिक आयोगहरूले पूर्णता पाउन सकेका छैनन् । हालसम्म सातवटा आयोग पदाधिकारीविहीन छन् । 

राष्ट्रिय महिला आयोग, आदिवासी जनजाति आयोग र राष्ट्रिय दलित आयोगमा पाँचवटै पद रिक्त छन् । राष्ट्रिय समावेशी आयोग, थारू आयोग, मुस्लिम आयोग र मधेसी आयोगमा अध्यक्ष मात्र नियुक्त भएका छन् । चार सदस्य पद पनि रिक्त छन् ।

नेपालको संविधान (२०७२) को धारा २८४ मा संवैधानिक परिषद्सम्बन्धी व्यवस्था छ । जसमा संविधानबमोजिम प्रधानन्यायाधीश र संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको नियुक्तिको सिफारिस गर्न प्रधानमन्त्रीको अध्यक्षतामा संवैधानिक परिषद्को व्यवस्था गरिएको छ । यसका अलवा संविधानको धारा २९२ मा संसदीय सुनुवाइसम्बन्धी व्यवस्था गर्नुका साथै धारा २९३ बमोजिम त्यस्तो संसदीय समितिले राष्ट्रिय मानवअधिकार आयोगबाहेक अन्य संवैधानिक निकाय काम कारबाहीको अनुगमन र मूल्यांकन गरी आवश्यक निर्देशन वा राय–सल्लाह दिन सक्ने प्रावधान छ ।

Dabur Nepal
NIC Asia

त्यसका अतिरिक्त संवैधानिक परिषद् (काम, कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ तथा सोको दफा ३ मा परिषद्को काम कर्तव्य र अधिकार तोकिएको छ । 

राज्यको सेवा, सुविधा र अवसरबाट उपेक्षित समुदायको सशक्तीकरणका लागि यी संवैधानिक आयोगको परिकल्पना गरिएको थियो ।  मूल आयोग नै पदाधिकारीविहीन भएको अवस्थामा थप आयोगलाई सरकारले बेवास्ता गरिरहेको छ । 

आयोगमा पदाधिकारी नियुक्ति संवैधानिक परिषद्ले गर्छ । आयोगको प्रमुख काम सरकारको अधिकार सीमित गर्नु हो । सरकारलाई संवैधानिक बाटोमा हिँडाउन नीतिगत सुझाव, अनुसन्धान र जुन वर्ग विशेषका लागि आयोग खुलेको छ ती वर्गका मुद्दाहरू सरकारसमक्ष उदाङ्गो पार्नु हो । तर आयोगमा पदाधिकारी नियुक्त नहुँदा आयोग देखाउने दाँत मात्र भएको छ ।

भिजनविहीन आयोग

नेपाली महिलाले अस्ट्रेलिया बस्ने नेपाली पुरुषसँग दुई वर्षअघि विवाह गरिन् । बिहेपछि ७० दिनको भिसामा पुरुषले महिलालाई उता घुम्न बोलाए । त्यहाँ पुगेपछि पुरुषले बुबाआमा स्याहार्न विवाह गरेको बताए । केटाको सबै सम्पत्ति दिदीबहिनीका नाममा छ । केटाको आमा र नन्द आमाजू मिलेर केटीलाई दुर्व्यवहार गरिरहन्छन् । ससुराले अलि माया गर्थे उनी पनि बिते । कानुनतः केटीले अंश माग्ने सासू–ससुरा र पतिसँग हो । यस्ता घटना आउँदा कसरी सहयोग गर्ने, पीडितलाई कसरी न्याय दिने ? आयोगकी सचिव शान्ता अधिकारी भट्टराई प्रश्न गर्छिन् ? यो त आयोगमा आउने एउटा प्रतिनिधि घटना मात्र हो । पर्याप्त कानुनी उपचार नहुनु र आयोग पदाधिकारीविहीन हुनाले महिलाहरू अन्याय सहन बाध्य भइरहेको उनको भनाइ छ ।

सचिव भट्टराईका अनुसार आयोगले नेपाल सरकार र राज्यका अन्य निकायबाट भएको कामको अनुगमन गर्ने, त्यसैका आधारमा नीतिगत सुझाव तयार पारी सरकारलाई दिने, महिला सरोकारको क्षेत्रमा अध्ययन र अनुसन्धान गर्ने, सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र हेल्पलाइन ११४५ बाट पीडित महिलाको उजुरी सुन्ने र सहयोग गर्ने काम गर्छ ।

पदाधिकारी नहुँदा आयोगले कुनै रणनीति बनाउन सकेको छैन । दैनिकी काममा मात्र आयोग खुम्चिनुपरेको छ ।

०७४ मा आयोगसम्बन्धी ऐन त बन्यो, पदाधिकारी नहुँदा नियमावली बनेको छैन । कर्मचारीले नियमावली बनाए पनि लागु गर्ने अधिकार पदाधिकारीलाई मात्र छ । यस्तै, पदाधिकारी नहुँदा सन्धि–सम्झौता गर्न पाइएको छैन । महिलासम्बन्धी विभेदपूर्ण नियम–कानुन परिमार्जन गर्न नीतिगत सुझाव र विज्ञप्ति निकाल्न पाइएको छैन । सचिव भट्टराई भन्छिन्, “एक पदाधिकारी मात्र नियुक्ति हुनुभएको भए, हाम्रा धेरै कार्यक्रम लागु गर्न सक्थ्यौँ । रञ्जन कोइरालाजस्ता मुद्दामा विज्ञप्ति निकालेर सरकारको ध्यानाकर्षण गराउन सक्थ्यौँ । नागरिकता विधेयकमा यी–यी कुरा चिक्त बुझ्दो छैन है भनी सुझाव दिन सक्थ्यौँ । तर पदाधिकारी नहुँदा कर्मचारीका कुरा कसले सुन्ने ?”

सन् २०१७ देखि राष्ट्रिय महिला आयोगले सञ्चालन गरेको हेल्पलाइन ११४५, कार्य सम्झौता यही पुसबाट सकिँदै छ । सम्झौता नवीकरण गर्ने अधिकार पदाधिकारीलाई मात्र छ । भन्छिन्, “अत्यन्त पीडा नभएसम्म पीडितले उजुरी गर्दैनन् । हेल्पलाइनमा देशभरिबाटै फोन आउँछ । कति पीडितले आधा घण्टादेखि २ घण्टासम्म फोनमा बोलेका उदाहरण छन् । यस्तो महत्त्वपूर्ण कार्य पदाधिकारी नहुँदा रोकिने अवस्था छ ।”

आयोगको अर्को महत्त्वपूर्ण पाटो हो, पीडितको उजुरी लिनु । हुनत नेपालको कानुनअनुसार पीडित महिलाले प्रहरीमा, स्थानीय तहको न्यायिक समितिमा, अदालतमा र राष्ट्रिय महिला आयोग गरी चार ठाउँमा उजुरी दिन पाउँछन् । अन्य ठाउँले लिन नमानेका उजुरी प्रायः यस आयोगमा आउने गर्छ । आयोगमा मुद्दाको थुप्रो छ । तर पदाधिकारी नहुँदा ती मुद्दाको उचित सुनुवाइ हुन सकेको छैन ।

यस्तै, हेल्पलाइनलमा आउने उजुरीलाई महिला हिंसा र घरेलु हिंसा गरी दुई भागमा विभाजन गरिएको छ । हेल्पलाइनमा पीडितका उजुरी सुनेपछि पहिला उसको मनोबल बढाउने र त्यसपछि कानुनी परामर्श दिने काम आयोगले गर्दै आएको छ । सचिव भट्टराईका अनुसार नेपालको कानुन जटिल छ । एउटा मुद्दा हाल्दा कम्तीमा १२ मुद्दा आकर्षित हुन्छ । पीडितले एउटै मुद्दाबाट पूर्ण न्याय पाउँदैनन् । उनी भन्छिन्, “सम्बन्धविच्छेद गर्यो भने माना–चामल भराउने छुट्टै गर्नुपर्छ । अंशको मुद्दा अलग हाल्नुपर्छ । एउटै मुद्दाबाट पीडितले पूर्ण न्याय पाउँदैनन् । 

महिला आयोग मात्र होइन सीमान्तकृत वर्गको हकहितको संरक्षण र राज्यको सुख–सुविधामा पहुँच दिन स्थापित राष्ट्रिय दलित आयोग पनि लामो समयदेखि पदाधिकारीविहीन छ । 

संविधानको धारा २५६ मा दलित आयोगको काम, कर्तव्य र अधिकारको व्यवस्था छ । दलित वर्गको हकहितका लागि नीतिगत, कानुनी र संस्थागत सुधारका विषय पहिचान गर्ने, नेपाल सरकारलाई ती विषय सिफारिस गर्ने, जातीय उत्पीडन छुवाछूत अन्त्यका नीति कार्यक्रम तर्जुमा गरी सरकारसमक्ष पेस गर्ने व्यवस्था छ । 

यस्तै, भएका नीति कानुनको अनुगमन गरी सुझाव दिने, दलित पक्षसम्बन्धी भएका अन्तर्राष्ट्रिय सन्धिबारे प्रतिवेदन सरकारलाई बुझाउने र कानुनले तोकबमोजिम मुद्दाहरू सम्बन्धित निकायमा दायर गर्ने तथा सिफारिस गर्ने अधिकार छ । ०७४ मा दलित आयोग बन्यो । तर पदाधिकारी नहुँदा आयोगले प्रभावकारी काम गर्न नसकेको सचिव कृष्णप्रसाद धिमाल सुनाउँछन् । भन्छन्, “यो परामर्श दातृ आयोग हो । आयोगमै आएर उजुरी दिने कम छ । प्रायः उजुरी स्थानिय प्रहरी चौकी या जिल्लामै दिइन्छ । पत्रपत्रिकामा घटना छापेपछि मात्र हामीले थाहा पाउने हो । फेरि यो एक्सनमा जाने आयोग होइन, पोलिसी बनाउने हो ।”

तर नीति निर्माण बनाउन पदाधिकारी आयोगमा छैनन् । कर्मचारीले बनाएका नीति–निर्माण आयोगमा लागु हुँदैन । आयोगले पत्रपत्रिकामा छापेका घटनाबारे सम्बन्धित जिल्ला या क्षेत्रमा यसबारे ध्यानाकर्षण गराउँछ । कतिले घटनाको सम्बोधन भएको प्रतिक्रिया दिन्छन् भने कतिले दिँदैनन् । तर नदिए पनि ती घटनाको सम्बोधन भएको दाबी सचिव धिमाल गर्छन् । भन्छन्, “कानुनबमोजिम कारबाही पीडकले भोग्नै पर्छ ।”

आयोगले आएका उजुरीलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई ध्यानाकर्षण गराउने गरेको छ । तर सिफारिस गरेका कुरालाई दर्ता भएन भन्ने गुनासो चाहिँ अहिलेसम्म नआएको आयोगको दाबी छ । यस्तै, पदाधिकारी भएको भए रुकुम हत्याकाण्डमा आयोगले प्रतिवेदन नै तयार पाथ्र्यो । तर पदाधिकारी नहुँदा कर्मचारीले नै प्रतिवेदन तयार पार्नु कुनै अर्थ नरहेको सचिव धिमाल बताउँछन् । 

साउन पहिलो साता चितवन राष्ट्रिय निकुञ्जभित्र रहेका चेपाङ बस्तीमा सरकारले आगजानी गर्यो । जसमा दुईवटा घरमा लागेको आगजनी फैलिएर अन्य आठ घर जले । प्राकृतिक स्रोत–साधनको संरक्षणका नाममा आदिवासीलाई उनीहरूको थातथलोबाट लखेट्ने काम सरकारबाट भयो । यदि आदिवासी जनजाति आयोगमा पदाधिकारी भए अवस्था फरक हुन्थ्यो होला । तर आयोग गठन नहुँदा कर्मचारीहरू आदिवासीका साधारण प्रोफाइल बनाएर बस्न बाध्य छन् । 

अन्य आयोगमा कार्य सम्पादन गर्न कमसे कम सचिवस्तरका कर्मचारी राखिएका छन् । तर पूर्वसचिव सुशील श्रेष्ठ पदमुक्त भएपछि गत वर्ष आयोग ६ महिना सचिवविहीन रह्यो । अर्को सचिव नियुक्त गरेको १४ दिनपछि नै असार २५ मा सरुवा भयो । हाल नयाँ सचिव नियुक्त गरिएको तर कार्यालय नआईसकेको शाखा अधिकृत चन्द्रा थापाले बताइन् ।

आदिवासी जनजाति ऐन २०७४ अनुसार बनेको आयोगले जनजातिसम्बन्धी नीतिगत अध्ययन गर्ने र सरकारलाई सल्लाह दिने गर्छ । थापा भन्छिन्, “आयोग नै नबन्दा काम भएको छैन, दैनिक प्रशासनिक काम मात्र चलिरहेको छ ।”

अन्य आयोगजस्तै आदिवासी जनजाति आयोगले उजुरी लिने र उजुरी सिफारिस गर्न सक्छ । तर आयोगमा अहिलेसम्म एउटा मात्र उजुरी परेको थापा सुनाउँछिन् । यस्तै, आयोगको अहिलेसम्म नियमावली छैन । आचारसंहिता, निर्देशिका मस्यौदा बनाए पनि पदाधिकारी नहुँदा लागु हुन पाएको छैन । “सचिवसमेत नहुँदा आयोग कसरी सञ्चालन गर्ने भन्ने पनि अन्योल छ । नयाँ सचिव पनि आउने–नआउने टुङ्गो छैन । हामी त अभिभावकविहीन जसरी काम गरिरहेका छौँ,” थापा भन्छिन्, “आयोगलाई पङ्गु बनाएर राख्नु कतिको जायज छ ? व्यक्तिगत रूपमा आयोगमा काम गर्छु भन्न नै अफ्ठ्यारो लाग्छ ।”

आयोगको औचित्य

आयोग भनेका संवैधानिक अंग हुन् । संवैधानिक अंगले सरकारको पहरेदारको भूमिका खेल्छ । सरकारको काम कारबाही पारदर्शी बनाउने, सही बाटोमा हिँडाउन र बाहिर जानबाट रोक्न संवैधानिक आयोग गठन गरिन्छ । 

नेपालमा १३ संवैधानिक आयोग छन् । पहिलो र दोस्रो संविधानसभामा कम्तिमा सय संवैधानिक आयोगका माग भएका थिए । संविधानविद्हरूले राय दिएर तीन किसिमका आयोगका संवैधानिक आयोग, कानुनी आयोग र तदर्थ आयोगको परिकल्पना गरेका थिए । सबै आयोग संवैधानिक आयोग हुन सक्दैन । हरेक व्यक्तिका अधिकार, उसको दायित्व, सबैको सरोकारका विषय र सरकारलाई लगाम लगाउन सक्ने मात्रै संवैधानिक आयोग हुनसक्छ भन्ने विज्ञको सुझावपछि ६ वटा मूल आयोग र सातवटा आयोग १० वर्षमा पुनरावलोकन हुने गरी राखियो । थपेका आयोगलाई स्थायी आयोग बनाइएन । किन त ? यी आयोगहरू १० वर्षमा पुनरावलोकन गर्न संविधान जारी भएको ०७२, असोज ३ देखि आजका मितिसम्म ५ वर्ष लागिसक्यो । ५ वर्षमा यी आयोगमा कतै सदस्य मात्र, कतै अध्यक्ष मात्र, कुनै रित्तै अवस्थामा छन् । “आयोग नै चाहिँदैन थियो भने किन संवैधानिक आयोग बनाइयो ? चाहिन्थ्यो भने किन गठन भएन ? काम नै भएको छैन भने पुनरावलोकन कसरी गर्ने ?” संविधानविद् प्राडा चन्द्रकान्त ज्ञवाली प्रश्न गर्छन् । 

आयोगलाई पूर्णता दिने काम संवैधानिक परिषद्को हो । सरकारले वातावरण बनाइदिनुपर्यो र संवैधानिक परिषदले सिफारिस गरिदिनुपर्यो । पद रिक्त भएको एक महिनाभित्र नियुक्ति गनुपर्ने संवैधानिक परिषद्को दायित्व हुन्छ । र पूर्णता नपाएकाले यसको जवाफदेहिता संवैधानिक परिषद्ले लिनुपर्छ । संवैधानिक परिषद्मा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष र विपक्षी प्रमुख दलका सभापति सदस्य छन् । 

संवैधानिक परिषद्ले किन आयोगमा पदाधिकारी परिपूर्ति गर्दैन ? बैठक नबस्नको कारण राम्रा मान्छेभन्दा पनि हाम्रा मान्छे राख्न खोजिनु प्रमुख कारण भएको बताउँछन् ज्ञवाली ।

वरिष्ठ अधिवक्तासमेत रहेका ज्ञवालीका अनुसार सम्बन्धित सीमान्तकृत वर्गका लागि संवैधानिक आयोग हो । तर सरकार, परिषद् सम्बन्धित अधिकारीहरूको ध्यान त्यसतर्फ गएन । प्राकृतिक स्रोत र वित्तीय आयोगजस्ता मूल आयोग पदाधिकारीविहीन छन् । निर्वाचन आयोगमा पनि दुई पद रिक्त छन् । स्थायी संवैधानिक आयोग रिक्त भए सरकार स्वेच्छाचारी बन्न सक्छ । यसले संघीयता नै खतरामा पर्न सक्ने उनी तर्क गर्छन् ।

ज्ञवालीका अनुसार अहिले सरकारले जे गर्दा पनि भएको छ । कसैले रोकतोक गर्दैन, चिक्त नबुझ्ने सीधै अदालत जानुपर्छ । सबै त अदालत जाँदैन, आयोगले यो नगर त्यो नगर भन्दै सरकारलाई निर्देशन दिन सक्छ, आयोग गठन गर्नुभन्दा नगर्दा नै स्वतन्त्र हुन्छ भन्ने सरकारको चाहना हो भने दुर्भाग्यपूर्ण छ ।

यस्तै, आयोगलाई काम नै गर्न नदिई आयोगको अधिकार बढाउने कि खुम्च्याउने अर्थात् पुनरावलोकन गर्नु जायज नभएको आयोगका कर्मचारी बताउँछन् । 

परिषद्ले कहिले आयोग गठन गरिसक्ने अझै अन्योल छ । अन्योलकै बीच जुरी नेपालले सर्वोच्च अदालतमा रिट दिएको छ । सातवटा आयोगमा ३५ मध्ये ३१ वटा पद लामो समयदेखि रिक्त रहेकाले सरकारले छिट्टै नियुक्ति गर्न जरुरी देखिन्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २७, २०७७  १३:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu