site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जब दर्शकले सिठी बजाए...
SkywellSkywell

काठमाडौं । ठमेल ११ फुटबल क्लब सन् १९७० को दशकमा नेपालको चर्चित क्लब थियो । ठमेलमा बस्ने रैथानेको समूहले क्लबको प्रादुर्भाव गरेका थिए । तर, १९८० मा ठमेल ११ ‘ए’ डिभिजनबाट झर्दै ‘बी’ डिभिजनमा पुग्यो । 

त्यतिबेला धेरै जसो मनाङका बासिन्दा ठमेलवरपर बस्थे । त्यसपछि ठमेल र मनाङका केटाहरू मिल्दै पुनः ठमेल ११ लाई ‘ए’ डिभिजनमा उक्लनका लागि बलियो टिम तयार पार्न थाले । ठमेलमा बस्ने नेवार र मनाङका बासिन्दा क्लबलाई बलियो बनाउन एकजुट भए । राम्रा खेलाडी खोज्न थालियो । कप्तानीको जिम्मा भने टासी घले दिइयो ।

गोलकिपरमा जिमी गुरुङ, कान्छा गुरुङ, छिरिङ निधि गुरुङ, इब्राहम, केसाङ लामा, मणि शाह, विराटजंग शाही, हरि गुरुङ र उमेश प्रधानलगायत क्लबमा रहे । सन् १९८१ को फागुनमा ‘बी’ डिभिजनअन्तर्गत ठमेल ११ र थ्री स्टार क्लबको खेल रंगशालामा थियो । यो खेलबाट ‘ए’ डिभिजनमा उक्लिने टोलीको टुङ्गो लग्थ्यो । यो निर्णायक खेल भएकाले दुवै टोलीलाई जित्नै पर्ने दबाब पनि थियो ।

KFC Island Ad
NIC Asia

ठमेल ११ लाई पुनः शीर्ष डिभिजनमा उक्लिनुपर्ने थियो भने थ्री स्टारले खेल जिते पहिलोपटक शीर्ष डिभिजनमा उक्लिने अवसर पाउने थियो । जाडो मौसममा भएको खेल हेर्ने दर्शकले रंगशाला खचाखच थियो ।

बिहानको ८ बजे रेफ्री मथुराराम श्रेष्ठले खेल सुरु भएको जनाउँमा सिठी बजाए । निकै रोमाञ्चक बनेको खेलको पहिलो हाफमा थ्री स्टार १–० ले अगाडि बढ्यो । थ्री स्टारले गोल गरेपछि उग्र बनेका ठमेल–११ र थ्री स्टारका समर्थकबीच प्यारापिटमै हानाहान भयो । झगडाकै क्रममाः दोस्रो हाफ सुरु भयो । दोस्रो हाफको मध्यतिर सिठी बज्यो । ठमेलका खेलाडी बल रोके । तर, उक्त बललाई थ्री स्टारका खेलाडीले अगाडि बढाउँदै गोल गरे । रेफ्रीले गोल मान्य दिएपछि थ्री स्टार ठमेलविरुद्ध २–० गोलले अग्रता बनायो । 

Royal Enfield Island Ad

तर, उक्त सिठी रेफ्रीले नभई दर्शकदीर्घाबाट बजेको थियो । यता ठमेलका खेलाडीले रेफ्रीले सिठी बजाएको भन्दै बल रोकेका थिए । “हामीले रेफ्री मथुराराम श्रेष्ठले सिठी बजाएको भन्दै बल रोक्यौं । तर, थ्री स्टारले बल अगाडि बढाउँदै गोल गर्यो र रेफ्रीले गोल दिए,” तत्कालीन ठमेल ११ का कप्तान घलेले भने, “त्यसपछि ठमेलका समर्थक मैदानमा प्रवेश गरे । उनीहरूले रेफ्रीलाई लखेट्न थाले । झगडाले उग्र रूप लियो । मैदानमा खेलाडीभन्दा समर्थकबीच हानाहान भयो ।”

मणि शाह, विराटजंग शाही, हरि गुरुङ र उमेश प्रधानलाई पहिलोपटक ठमेलले क्लबमा लिँदै बी डिभिजन खेलाएको थियो । अर्थात् लिगको पहिलो अनुभव शाह, शाही, गुरुङ र प्रधानले लिँदै थिए । यी चारैजनाले १० वर्षको उमेरमै आरसीटीले टुँडिखेलमा आयोजना गर्ने प्रतियोगिता खेलेका थिए । त्यही प्रतियोगिताबाटै चारैजनालाई ठमेलले आफ्नो क्लबमा लिएको थियो । त्यतिबेला कमल थापा एन्फा अध्यक्ष थिए भने टीकाराम शाही महासचिव र शरदचन्द शाह राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव थिए । 

“खेल पूरा हुन सकेन । थ्री स्टार पहिलोपटक शीर्ष डिभिजनमा पुग्यो । ठमेल ११ क्लब र खेलाडीलाई दुई वर्ष खेल्न प्रतिबन्ध लगाइयो । टोलीलाई पनि सी डिभिजनमा झारियो,” घलेले भने, “त्यो झगडाले ठूलो रूप लियो । हामी करिब दुई घण्टापछि मात्रै रंगशालाबाट बाहिरिएका थियौं ।” यति हुँदा पनि फुटबल खेल्न भने आफूहरूले नछाडेको उनले सुनाए ।

निरन्तर प्रशिक्षण गरिरहँदा दुई वर्षको प्रतिबन्ध फुकुवाका लागि घले, मणि शाहलगायत ठमेलको टोली राखेप सदस्य–सचिव शरदचन्दसमक्ष एभरेस्ट होटेल पुगेका थिए । त्यसको केही समयपछि मात्र शाहले उनीहरूलाई एक वर्षको प्रतिबन्ध फुकुवाको घोषणा गरेका थिए । 

खाजा पसलबाट सुरु भएको मनाङ
ठमेलबाट खेल्दा प्रतिबन्धमा रहेका धेरैजसो खेलाडीले फुटबलप्रतिको मोह भने त्यागेका थिएनन् । उनीहरू प्रायः बिहानको समयमा खुलामञ्च, सानो गौचरण र लैनचौरस्थित स्काउटको मैदानमा पुग्थे । अहिले ठमेलमा बनेको सञ्चय कोष भएको भवनको जमिन फुटबल खेल्ने उनीहरूको अर्को जक्सन थियो । त्यतिबेला यो फुटबल खेल्न मिल्ने मैदान थियो । 

“प्रतिबन्धका बेला फुटबल खेल्न धेरै ठाउँ पुगे पनि हामी कहिले ठमेल त कहिले रानीपोखरीमा बसेर खाजा खाने गथ्र्यौं । त्यतिबेला हरि गुरुङले नयाँ क्लबको सुरु गर्न सबैलाई प्रस्ताव गरे,” उनले सुनाए, “त्यसपछि दुईजना टासी घले, जिमी, कर्म गुरुङ, श्याम थापा, कप्ली गुरुङलगायत १० जना सहमत भए ।”

त्यसपछि हरि र जिमीले तत्कालीन अञ्चलाधिशसमक्ष गएर क्लब दर्ता गर्ने निर्णय गरे । यता ठमेल दुई वर्ष प्रतिबन्धमा थियो । बागबजारमा ल फर्म रहेका एक वकिलसँगको सल्लाहमा क्लबको विधान तयार भयो । त्यतिबेला क्लब दर्ता गर्न १० सदस्य हुन आवश्यक थियो । ठमेलका प्रतिबन्धमा परेका तिनै १० खेलाडीले मर्स्याङ्दी फुटबल क्लब सन् १९८१ मा दर्ता गरे । सुरुमा दर्ता हुँदा क्लबको नाम मर्स्याङ्दी थियो । मर्स्याङ्दी खोलाको नामबाट क्लबको नाम राखिएको घलेले बताए । त्यसपछि जिमी गुरुङले मनाङ पनि थप्नुपर्ने प्रस्तावसँगै मनाङ–मर्स्याङ्दी फुटबल क्लब भएको थियो ।
 
‘डी’ बाट लगातार शीर्ष डिभिजनसम्म च्याम्पियन 
क्लब दर्ता गरेको एक वर्षपछि मात्रै लिग खेल्न पाउने प्रवधान थियो । सन् १९८१ मा दर्ता भएको मर्स्याङ्दीले एक वर्षपछि मात्रै डी डिभिजन लिगबाट आफ्नो फुटबल यात्रा थाल्यो । डी डिभिजनको पहिलो सिजन मनाङ मर्स्याङ्दीले कुनै पनि खेलमा विनागोल खाँदै लिग च्याम्पियन बन्यो । त्यसपछि लगातार सी र बी डिभिजन च्यम्पियन बन्दै शीर्ष डिभिजनमा उक्लियो । शीर्ष डिभिजन खेलेको पहिलो वर्ष नै मनाङ लिग च्यम्पियन बन्यो । 

मर्स्याङ्दी क्लबका सदस्य घलेले भने ठमेल ११ बाटै खेलेका थिएनन् । उनले मनाङबाट खेल्न पाएनन् । सी डिभिजनमा झरेको ठमेल प्रतिबन्धपछि सी खेल्दै बी मा पुग्यो ।  बी डिभिजनमा ठमेल र मनाङबीच पनि शीर्ष डिभिजनका लागि अन्तिम खेल भएको थियो । उक्त खेलमा ठमेल पराजित भयो । प्रतिबन्धको दुई वर्षपछि ठमेलका प्रायः खेलाडी मनाङमा भित्रिएपछि ठमेल ११ आफैं हराएर गयो । 

मनाङ र ठमेल एउटै क्षेत्रका दुई क्लब भएकाले समर्थक त्यही थिए । ठमेल ११ का खेलाडी मनाङमा आउँदा समर्थक पनि पुगे । तिनै खेलाडी र समर्थक मनाङमा पुग्दा थ्री स्टारसँगको त्यो झगाडाको रिस पनि सँग–सँगै आयो । 

पछिल्लो समय कहिले थ्री स्टारका खेलाडी मनाङ र मनाङका खेलाडी थ्री स्टारले अनुबन्ध गर्नुले पनि दुबै क्लबबीचको त्यो द्वन्द्वलाई जीवितै राख्यो । त्यसैले पनि स्पेनको ला लिगामा रियल मड्रिड र बार्सिलोनाबीचको खेललाई एल क्लासिको भनेझै शीर्ष डिभिजन लिगमा मनाङ र थ्री स्टारको भेटलाई पनि नेपाली एल क्लासिको भन्ने गरेको पाइन्छ ।
फाइल तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १८, २०७७  १७:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro