मुलुक नेतृत्वहीन भएको छ भन्ने पत्याउन गाह्रो हुन्छ । यति धेरै नेता भएको मुलुक नेपालमा नेतृत्व छैन भन्नु अपत्यारिलो नै हो । गल्ली गल्लीमा नेता भेटिन्छन् । कांग्रेसका हुन् कि कम्युनिस्टका सबैतिर नेतैनेता छन् । अरु राजनीतिक दलमा पनि नेता पगरीधारीको कमी छैन । रेडियो, टेलिभिजन, अनलाइन वा पत्रपत्रिका हेरियो वा सुनियो भने ‘प्रभावशाली’ नेता उपाधि दिइएका बल्ग्रेल्ती ‘मान्छे’ सुनिन्छन् । सायद, यति धेरै घोषित नेताहरुको मुलुकको श्रेणीमा अनुपातका आधारमा नेपाल पहिलो दर्जामा नै दरिन्छ होला । यो गिनिज बुकको विषय भयो तर छिमेकी मित्र चीनको ‘अनाच्छादित’ भूमिकाले चाहिँ नेपाल नेताहीन भएको पुष्टि गरेको छ ।
बर्खे च्याउ जसरी नेतैनेता भएको नेपाललाई नेताहीन भन्नु अबौद्धिक कुरा मानिन सक्छ । तर, नेता भनेको के हो, वा को हो र त्यो कस्तो हुन्छ ? संस्कृत सूत्रमा भनिन्छ ‘नयतिति नेता’, के हाम्रो मुलुकमा यो भनाइ अहिलेको सन्दर्भमा साकार छ त ? अन्य भाषा र संस्कारमा पनि नेताको विशेष गुण किटानीबद्ध छ । ‘नयतिति’ भनेको सँगै लिएर हिँड्ने हो । आज नेपाली नागरिकलाई समुच्चा सँगै लिएर हिड्ने भरपर्दो नेता को छ त ? आफैसँग प्रश्न गर्नोस्, तपाईँ कोसँग यस प्रकार पूरै भर पर्न सक्नुहुन्छ ?
सञ्चार माध्यममा फलानो दलको प्रभावशाली नेता भनिने चलन छ । प्रभावशाली भनेको के हो र उसले आफ्नो दलमा कति प्रभाव राख्छ भन्ने हेक्का नराखी मन परेकालाई प्रभावशाली पगरी हामी आफै गुथाई दिन्छौँ । यथार्थ चाहिँ नेपाली कांग्रेसमा दुई तीनजना, अझ स्पष्टसँग भन्दा कथित शीर्षले जे भने वा जे चाहे त्यसैको प्रभाव र निर्णय सिँगो पार्टीमा लागू हुन्छ । अरु दलको हबिगत पनि यही हो ।
सरकारमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय वा स्थायी समिति बैठकको अत्यधिक बहुमत सदस्यले नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुवै पदबाट राजीनामा मागे । धेरैलाई लाग्यो यति ठूलो संख्याले राजीनामा मागेपछि ओली पदमुक्त हुने भए । लाग्नेहरुले यस्ता प्रभावशाली ‘नेता’ जसमा अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र वामदेव गौतम समेत पार्टीको संस्थाले राजीनामा मागेपछि प्रधानमन्त्री ओलीको खैरियत छैन । तर, अन्तिममा ती सबै विवाद सुल्झाउने जिम्मा दुई अध्यक्ष ओली र दाहाललाई दिएर अरु रमिता हेर्न थाले, प्रभावशालीको अर्थ कस्तो रह्यो ?
नेता सम्बोधन हामीले मनपर्दो, रमाइलो र हल्का रुपमा प्रयोग गरेका छौँ । उसको पदीय पहिचानको कठिनाइले हैसियतभन्दा माथि हामी उसलाई नेता भनिदिन्छौँ । नेता भनिएको व्यक्ति पनि खुसी हुने र हैसियतको खोजीको झन्झटबाट प्रस्तोतालाई समेत सहज मुक्ति मिल्ने कारण हामी शब्दको गाम्भीर्य वा पहिचानको बेवास्ता गरिरहेका छौँ । यस्तो बेवास्ताले कथित नेतामा एकप्रकारको भ्रम वा दम्भ भरिने नै भयो ।
कुनै उपायबाट झुण्ड वा गिरोह बनाएर हिँड्ने राजनीतिकर्मी नेता होइन । नेता राजनीतिमा मात्र हुने पनि होइन, सामाजिक, सांस्कृतिक, प्रविधि र वैज्ञानिक हरेक विषयको नेता हुन्छ । राजनीतिले सबै विषयलाई प्रभावित गर्ने हुँदा हाम्रो दिमागमा नेता राजनीतिक व्यक्तिमात्र हो भन्ने सोच गढेको छ । कुनै पनि विषयको नेता समय सन्दर्भमा समाजलाई उद्वेलित, प्रभावित र भरोसा दिनसक्ने व्यक्तित्व वा संस्था हो । को वा के छ, अहिले नेपालमा त्यस्तो ?
नेता र नेतृत्वका दुई आधार छन् । पहिलो व्यक्ति, व्यक्तित्व र दोस्रो संस्था । आस्थाहरुको भिन्नताबीच समाजले सधैँ आफ्नै आस्थाको चमत्कारी (करिस्मेटिक) व्यक्तित्व पाउँदैन तर भरोसालायक नेता चाहिँ पाउन सक्छ । दुनियाँको रीत यही हो । नेपालकै सन्दर्भमा फर्किएर हेरौँ – बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले आर्जन गरेको नागरिक विश्वासमा आस्थामात्रै कारण थिएन, विविध विश्वसनीय प्रभावको स्वीकार्य थियो ।
ती नेताहरु प्रभावशाली व्यक्ति, व्यक्तित्वमात्र रहे । उनीहरुले जीवनभर नेतृत्वको अर्को पाटो नागरिकको सार्वभौम संस्था निर्माणमा संघर्ष गरे । चेतनाको त्यही बलमा अहिले संस्था त पाइयो, बने, बनाइए, तर के ती संस्था नेतृत्वको भरोसा लायक बनेका छन् वा छैनन् ? प्रश्न यही हो । प्रश्नको यहीबीचमा नेपालीले व्यक्तित्वको विश्वसनीय नेतृत्व पाएका छन् कि संस्थाले त्यो स्थान ग्रहण गरेको छ त ?
व्यक्ति, व्यक्तित्वको नेतृत्व सर्वजान्ने कुरा भयो । त्यस्तो व्यक्तित्व वा नेता सरकारमा रहोस् वा नरहोस् तर ऊ राजनीतिको मियो हो भन्ने विश्वास गरियोस् । को छ, अहिले नेपालमा त्यस्तो नेता ? यस्तो नेतृत्वहीनतामा अर्को विश्वास संस्थाप्रति हुने हो । त्यस्ता संस्था के र कुन् हुन् त ? अधिनायकवादी र तानाशाही शासनको कुरा बेग्लै तर लोकतान्त्रिक पद्धतिमा संसद्, सेना, नागरिक समाजको तह, प्रधानमन्त्री र राष्ट्रपति स्वयं संस्था वा नेता र समाजका भरोसा हुन्, बन्नुपर्छ ।
नेता व्यक्तित्व त छैन, पाइएन तर आफैँले आस्था मिसाएर पूर्वजको लामो योगदानको शृंखलामा स्थापित गरिएका संस्थाहरु पनि निकम्मा बनाइनु भरोसाको सम्बल ढल्नु हो । संसद् जनताको चाहनाविपरीत सरकारलाई तालीको समर्थन दिने थलो बने, बनाइएको छ । आदर्शको गफ गर्न नेपालमा कोही कम छैन । अर्को जुनसुकै दलबाट निर्वाचित भए पनि प्रधानमन्त्री समुच्चा नागरिक वा सबै आस्थाको भरोसा र नेता हुनुपर्ने हो । अहिले त्यही प्रधानमन्त्री संस्थाको दुर्गतिले नेता सुहाउँदो भएन ।
राष्ट्रपति राष्ट्रको अभिभावक र संविधानको संरक्षक हुनुपर्ने जायज अपेक्षा तोडेर दल विशेष र दलभित्र पनि गुटको संरक्षक भइदिएपछि त्यो संस्थाको नेतृत्व विश्वास पनि भत्किएको छ । मुलुक यति धेरै संकटले घेरिएको बेला नागरिक समाजले लिने नेतृत्व पनि गतिहीन छ, किंकर्तव्य विमूढ छ । ‘कथित’ बौद्धिक वर्ग आस्थाले विभाजित र लोभलालचको वशीभूत छ । स्वतन्त्र केही बोलेका छन् तर सत्ताको दम्भका अघिल्तिर तिनको बोलाइ अरण्य रोदन साबित भएको छ ।
समग्रमा हेर्दा, जतिसुकै अप्रिय लागे पनि अहिले हाम्रो मुलुक नेता र नेतृत्वहीन छ । नेतृत्वको दायित्व न व्यक्तित्व र पदीय गरिमाले थेग्यो न संस्थाहरुले नै वहन गर्नसके । यसको अर्थ राष्ट्रिय असफलता हो । कहीँ पनि भरोसा र आशा टेकाउने ठाउँ रहेन । स्वर, लयका उद्भट पर्याय नारायण गोपालले गाएजस्तो–‘अँध्यारो नै देखिन्छ है आँखा खोली हेर्दा’ गीतको सन्देश र मुलुकको अवस्था उस्तै छ । यस्तो अँध्यारोमा मुलुकको भविष्य कुन जोखिममा छ धेरै भनिरहनु पर्दैन ।
उदाहरणका लागि, यहाँ नेता हुन्थे भने छिमेकी मित्रराष्ट्र चीनका प्रतिनिधिले यतिधेरै जुत्ता फटाउनु पर्ने थिएन । नेकपाको आन्तरिक विवाद ‘कथित’ नेताले आफैँ मिलाउन वा समाधान दिनसक्थे । नेपालका लागि चिनियाँ राजदूत चिनियाँ नेताको सन्देश र दबाब लिएर शीतलनिवासदेखि पटकपटक अरुका घरघरै धाउनुपर्ने थिएन ।
आफैँले गराइदिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकतालाई जोगाउन वा सरकार धानी दिन चीनको दौडधुपले नेता विहीनताको स्पष्ट सन्देश दिएकै छ । राष्ट्रपतिदेखि नेकपाका सबै शीर्षहरु चिनियाँ दबाबपछि सामसुम हुँदैगएको छर्लङ्गै छ । अब पनि पहिलेजस्तै । परिणाम त्यही हो ।
चीनले चौतर्फी असफल सरकार र दललाई बोक्न नेपाली जनतालाई बाध्य बनाएको छ । झन्डै दुईतिहाइ सांसद उसको संरचनाको नेकपासँगै छ । अर्को दल सरकारमा जाने सम्भावना वा वैधानिकता अहिलेलाई छैन । नेकपाको वर्तमान सरकार असफल साबित हुँदा पनि त्यही दलबाट अर्को सरकार बन्ने सम्भावना र त्यसले जनअपेक्षालाई केही मर्यादा राख्छ कि भन्ने नेपाली नागरिकको अपेक्षालाई चीनले बारम्बार किन ठेस पुर्याई रहेछ ? सोचियोस् ।