site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संसद् अधिवेशन अन्त्यपछि रणनीति बनाउँदै कांग्रेस–जसपा

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र प्रतिपक्षी जनता समाजवादी पार्टी (जसपा) ले संघीय संसद्को बजेट अधिवेशन हठात् अन्त्य गरिएकोप्रति साझा रूपमा असहमति जनाएका छन् । 

कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा मंगलबार बिहान भएको संयुक्त बैठकमा कांग्रेस र जसपाका नेताहरूले बजेट अधिवेशन हठात् अन्त्य गरिएकोप्रति साझा रूपमा असहमति जनाएका हुन् । 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जसपा नेतृत्वको आग्रहमा बूढानीलकण्ठमा बसेको बैठकले संघीय संसदको अधिवेशन हठात् अन्त्य गरिएको विषयमा साझा रूपमा असहमति जनाएको जानकारी दिए । 

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चुलिँदै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले असार १८ गते मन्त्रिपरिषद् बैठक बोलाएर आकस्मिक रूपमा जारी संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेका थिए । 

राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन बेलुकी ५ बजेदेखि संसद् अधिवेशन अन्त्य गर्न संसद् सचिवालयलाई पत्र पठाएकी थिइन् । 

उनले बैठकमा राष्ट्रिय राजनीतिमा बढ्दो गम्भीरता र अन्तर्राष्ट्रिय सम्बन्धमा सरकारको अपरिपक्वताले मुलुकमा बढ्दै गएको जटिलताबारे पनि छलफल भएको बताए । 

संयुक्त बैठकले महामारीका रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्न नसकेको प्रति पनि आपत्ति जनाएको छ । “कोरोनाका कारण कैयौंको मृत्यु र हजारौं संक्रमित भएको स्थितिबारे बैठकमा समीक्षा भयो,” प्रवक्ता शर्माले भने, “व्यापक परीक्षण, उपचार र राहत प्रबन्ध गर्न र विदेशमा अफ्ठ्यारोमा परेका नागरिकको निःशुल्क उद्वार गर्न सरकार गम्भीर नभएकामा बैठकले आपत्ति जनाएको छ ।”

‘जनताले कांग्रेसलाई ५ वर्ष प्रतिपक्षमा बस्ने म्यान्डेट दिएका हुन्’

कांग्रेस र जसपाका नेताहरूले सरकार र मुलुकको अवस्था ठीक नरहेको निष्कर्ष निकालेको बैठकमा सहभागी जसपाका नेता राजेन्द्र महतोले जानकारी दिए ।  “मुलुकको अवस्था ठीक छैन । हठात् रूपमा संसद् अधिवेशन अन्त्य गरिएको छ । यस्तो अवस्थामा संसद् बोलाउनुपर्नेमा सरकारले किन अन्त्य गरेको हो ?” नेता महतोले प्रश्न गर्दै बाह्रखरीसँग भने, “लोकतन्त्रमा संसद्मा जनताका प्रतिनिधिले आफ्ना कुरा राख्न पाउनुपर्छ ।”

उनले सरकारले कूटनीतिक सम्बन्ध बिगारेको बताउँदै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको झगडामा आफूहरू प्रवेश नगर्ने समेत प्रस्ट्याए ।  “नेकपाको आन्तरिक विवादमा हामी फस्दैनौं,” महतोले भने, “हामीबीच नयाँ सरकारका विषयमा कुराकानी भएको पनि होइन तर सरकारले काम गर्न सकेन भन्ने देखेकै कुरा हो ।”

यस्तै कांग्रेस प्रवक्ता शर्माले पनि कांग्रेस र जसपाबीच सत्ता साझेदारीका विषयमा कुनै छलफल नभएको दाबी गरे । कांग्रेस र जसपाबीच नयाँ सरकार गठनबारे कुरो पनि भएको हो ? भन्ने बाह्रखरीको प्रश्नमा उनले भने, “कुनै छलफल भएको छैन । कांग्रेस सरकारमा जाने कुरै हुँदैन ।”

प्रवक्ता शर्माले सोमबार पनि केन्द्रीय कार्यसमिति बैठकबारे गरेको ‘प्रेस बिफ्रिङ’ का क्रममा पनि कांग्रेस अहिलेको कार्यकालमा सरकारमा नजाने प्रस्ट्याएका थिए । बूढानीलकण्ठमा भएको छलफलमा कांग्रेस सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि र केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला सहभागी थिए । 

यस्तै जसपाका तर्फबाट बाबुराम भट्टराई, महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र अशोक राई उपस्थित थिए । उनीहरूबीच मंगलबार बिहान साढे ९ बजे छलफल भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २३, २०७७  १५:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro