site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
 कांग्रेस विवाद समाधानतर्फ, पौडेल समूह भन्छ - विभाग भने अस्वीकार नै गर्छौं

काठमाडौं । नेपाली कांग्रेसको विवाद समाधान उन्मुख देखिएको छ । आइतबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठक पार्टीमा देखिएका विवादहरु समाधान गरेर अघि बढ्ने सहमति जुटाएको छ ।

केन्द्रीय सदस्यसहित बस्दै आएको पदाधिकारी बैठकले पार्टीमा देखिएका पछिल्ला विवादहरु समाधान गरेर अघि बढ्ने सहमति जुटाएको नेताहरुले बताएका छन् । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले पदाधिकारी बैठक समझदारी उन्मुख देखिएको जानकारी दिए ।

“मन माझा माझ गरेर आशंकालाई निवारण गर्ने काम भएपछि पदाधिकारी बैठक समझदारी उन्मुख भएको छ । अब अनौपचारिक बैठक बस्दैन । २७ गते केन्द्रीय कार्यसमिति बैठकले अब सहमतिमै निर्णयहरु गर्छ । कुरा मिलिसक्यो,” उनले बाह्रखरीसँग भने ।

यस्तै बैठकमा सहभागी पौडल समूहका नेता अर्जुननरसिंह केसीले पनि पदाधिकारी बैठक सहमतितर्फ उन्मुख भएर सकारात्मक उपलब्धिहरु हासिल भएका प्रतिक्रिया दिए ।

“आज सहमति भएन भन्‍ने होइन, केही विषयमा एकदमै सहमतितिर उन्मुख भएर सकारात्मक उपलब्धिहरु भएका छन् । तर, अन्तिम सहमतिको निर्णय भने भइसकेको छैन,” उनले भने, “अन्तिम टुंगो लाग्न भने बाँकी छ । परिस्थिति सहमतितिर उन्मुख छ ।”

विभाग गठन र मनोनयन, क्रियाशील सदस्यता वितरण, संगठन समायोजन, जनसम्पर्क समिति, भ्रातृ संस्थाको पदावधि, भ्रातृ संस्थाको पदाधिकारीको दोहोरो जिम्मेवारीलगायतका विषयमा कांग्रेसमा विवाद थियो । तीमध्ये अधिकांश विवादहरु पार्टीको विधानमा गरिएको व्यवस्थालाई आधार मानेर समाधान गर्न कांग्रेस नेताहरु सहमत भएका छन् ।

फेरि सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

“१६ बुँदेमा सबैभन्दा बढी उठाएको विषय भनेको पार्टीको विधान विपरित क्रियाशील सदस्यता वितरण भयो भन्ने हो । त्यसलाई सच्याउँदै विधानले जे भन्छ त्यसको भावनाअनुसार गर्ने भन्ने कुरामा करिब-करिब सहमति भएको छ । सदस्यताका सम्बन्धमा विधानलाई अक्षरशः पालना गरेर अगाडि जाने, त्यसो नभएका ठाउँहरुमा सच्याउने सहमति भएको छ,” नेता केसीले भने, “जनसम्पर्क समिति, निर्वाचन नभएका भ्रातृ संगठनहरुका बारेमा पनि विधानअनुसार जाने भन्ने भएको छ ।”

उनले विभाग गठन र विस्तारका बारेमा भने केही सहमति नजुटेको बताए । “विभाग गठनलाई हामी अस्वीकार नै गर्छौं । यसको अन्तिम निर्णय भइसकेको स्थिति छैन ।  त्यसमा कुनै सहमति भएको छैन । हामी विभाग मान्दैनौं ।”

पदाधिकारी बैठक सहमति उन्मुख देखिए पनि कांग्रेसले सोमबारका लागि बोलाएको केन्द्रीय कार्यसमिति बैठक भने स्थगित गरेको छ । सहमहामन्त्री डा. महतले उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला होम आइसोलेसनमा रहेका कारण बैठक स्थगित गरिएको जानकारी दिए ।   

“केन्द्रीय कार्यसमिति बैठक उपसभापति र सिटौलाजी आइसोलेसनमा रहनुभएका कारण २७ गते बस्ने भएको छ । भोलि टेस्ट गर्दै हुनुहुन्छ । रिजल्ट आएपछि उहाँहरु पनि बैठकमा सहभागी हुनुहोला भनेर बैठक सारिएको हो,” उनले भने ।

केन्द्रीय कार्यसमिति बैठकलाई मध्यनजर गरेर केही दिनअघि गरिएको कोरोना परीक्षणका क्रममा उपसभापति निधि र पूर्वमहामन्त्री सिटौलाको सुरक्षार्थ तैनाथ सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । 

फाइल तस्बिर ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०७७  १९:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro