काठमाडौं । घरेलु भूमिमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीको पुरस्कार रकम सुदूरपश्चिम प्रदेश सरकारले अर्को साताभित्र खेलाडीकै बैंक खातामा पठाउने भएको छ ।
विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण कार्यक्रम आयोजना गर्न सम्भव नभएपछि खेलाडीको बैंक खातामा पुरस्कार रकम पठाउने निर्णय भएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले बाह्रखरीलाई जानकारी दिए ।
चालु आर्थिक वर्ष सकिनै लागेको र छिट्टै महामारी न्यूनीकरण हुने संकेत नदेखिएकाले प्रदेश सरकारले खेलाडीको बैंक खातामै रकम पठाउने निर्णय गरेको उनले बताए । यसका लागि केही साताअघि प्रदेश सरकारले खेलाडीको विवरण माग गरेको थियो । खेलाडीको विवरण आउने बित्तिकै पदकअनुसार रकम सिधै उनीहरूको बैंक खातामा पठाइने मन्त्रालयका सूचना अधिकारी खड्काले बताए ।
हालसम्म धेरै जसो खेलाडीको विवरण आइसकेको र केही खेलाडीको मात्र विवरण आउन बाँकी रहेको उनले जानकारी दिए । गत पुस १ गते बसेको मन्त्री परिषद्को बैठकले सागमा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको थियो ।
मन्त्री परिषद्को बैठकले सागमा दुई वा दुईभन्दा बढी स्वर्ण पदक विजेता खेलाडीलाई जनही २ लाख, एक स्वर्ण जित्ने खेलाडीलाई १ लाख ५० हजार, रजत विजेता खेलाडीलाई १ लाख र कास्य पदक विजेता खेलाडीलाई ७५ हजार नगद सहित सम्मान गर्ने निर्णय गरेको थियो ।
१३ औं सागमा नेपालले हालसम्मकै सर्वाधिक ५१ स्वर्ण जित्दा सुदूरपश्चिमका खेलाडीले मात्र १२ स्वर्ण जितेका थिए । त्यस्तै २९ रजत र २५ कास्य पदक जितेको थिए ।