चितवन । केही दिनअघि मात्र उनी पाकेको धान काटेर भित्र्याउने तयारीमा थिए । धान काट्न परिवारसहित खेतालाहरू पनि तयारी अवस्थामानै राखेका थिए उनले । तर यो वर्ष भकारीमा धान भित्र्याउने उनको सपना अधुरै रह्यो ।
लहलह झुलेको धान देख्दा बाटोमा हिँडेको बटुवाको मन त प्रफुल्ल हुन्छ । उनको मन किन प्रफुल्ल हुदैनथ्यो र ? गत वर्ष पनि यही समयमा उनले त्यति नै जमिनमा ५५ क्विन्टल चैते धान भित्र्याएका थिए । यसपालि पनि उनमा उत्तिनै धान फल्ने विश्वास, भरोसा थियो ।
उनले २२ कठ्ठा भाडामा लिएको जमिनमा बीउ, रोपाई, मल, गोडमेल गरी ५५ हजार रुपैयाँ खर्चिसकेका थिए । तर दुःखको कुरा त्यो खुसी उनका लागि धेरै दिन टिक्नै पाएन । धान काट्ने सुरसार गरेका राप्ती नगरपालिका ४ का किसान कमलप्रसाद तिवारीको यो अकल्पनीय दुःख यसरी आयो जब उनले लहलह परेको धानको बाला छामे ।
हुनत बाहिर हेर्दा पोटिलो, पुष्टजस्तै देखिन्थ्यो प्रत्येक धानको बोट, बाला अनि गाँज । जब उनले धानको बालालाई ओल्टाईपल्टाई हेरे, अनि दाना कोट्याए तर भित्र गेडै थिएन । त्यो धानको गेडा पुष्ट नहुँदै नआउँदैमा सुकिसकेको थियो । भित्र हेरेपछि मात्र तिवारी झसँग भए । उर्बर जग्गा र प्रशस्त सिँचाइको सुविधा भएकाले विशेषगरी पूर्वी चितवनको खैरहनी, राप्ती नगरपालिकामा प्रत्येक वर्ष चैते धान रोपिन्छ । धानको उत्पादन र उत्पादकत्व पनि हरेक वर्ष बढ्दै गएको थियो ।
तर लकडाउनअघि रोपाई सकेर अहिले काट्न ठिक्क परेको लागेको धानमा गेडा फल्दैन भनेर के थाहा तिवारीलाई । हर्दिनाथ १ जातको धानमा अहिले नेकब्लास्ट रोग (घाँटी मरुवा) ले आक्रमण गरेको छ । “उत्पादनै नभएपछि राखेर मात्र के गर्नु ?” तिवारीले भने, “अर्को बाली लगाउनै पर्यो । त्यसैले ट्र्याक्टर लगाएर जोतें ।” उनले आफ्नो पीडाको पोको फुकाए ।
हुन त यो रोगले विगत दुई वर्षदेखि किसानलाई दुःख नदिएको भने पक्कै थिएन । यतिबेला पाकेको धानको पाँजा हाल्नुको साटो ट्र्याक्टर लगाउनुपर्ने विवशता पूर्वी किसानलाई आइपर्यो । हाल ती क्षेत्रफलमा करिब २५०० हेक्टरमा लगाइएको यो जातको धानमध्ये ५०० हेक्टरमा रोेगले सखाप बनाएको छ । रोगले अन्य धानलाई पनि असर गर्ला भनेर राप्ती ४ कै अर्का किसान बुद्धिराज खरेलले पाँच कट्टामा लगाएको धानमा आगो लगाएर नष्ट गर्न खोजे । बोट हरियो भएकाले उनको प्रयास असफल भयो । “रोग देखिसकेपछि र गेडा छामेपछि भुस मात्रै पाएँ, आगो लगाएर नष्ट गर्न खोजेको डढेन । बाध्य भएर ट्याक्टर लगाएँ,” उनले विवशता कहे । अब अर्को बाली लगाउँदा पनि यस्तै अवस्था आउँछ कि भन्ने चिन्ता सबै किसानमा आउनु स्वभाविक हो । “भकारी रित्तो थियो, अब के भर्ने के खाने ?” उनले भने ।
चितवनमा प्रत्येक वर्ष कुनै न कुनै बालीमा रोग लागेर, बिक्री नभएर र उचित मूल्य नपाएर बाली नष्ट हुने गरेको छ । यसअघि गरिमा जातको धानमा बाला नलागेपछि जोतेर नष्ट गरिए पनि पाकेको धानमा ट्र्याक्टर लगाएर जोतिएको भने पहिलोपटक हो ।
धानबालीमा ट्र्याक्टर लगाएर जोतेपछि किसानमा एकाएक निराशा छाउने नै भयो । धैर्य टुट्ने भयो । वरिपरिका अन्य किसानलाई पनि अन्य जातको धानमा समेत रोग लाग्छ कि भन्ने पिरलो त छँदै छ । यतिबेला चितवनमा वर्षे धानका लागि ब्याड बनाउने, बीउ तयार पार्न ढिला भइसकेको छ । जसका कारण यो जातका धान लगाउने किसान आत्तिएका छन् ।
यो रोगले छोइसकेपछि उत्पादन कम हुने र गेडा सुकेर जाने र उत्पादन न्यून हुने कृषि ज्ञान केन्द्र, चितवनका प्रमुख राजन ढकाल बताउँछन् । “यो रोग यस्तो प्रकारको रोग हो जुन नियन्त्रण गर्न सकिन्छ, न त औषधिले काम गर्छ,” उनले भने । ढकालका अनुसार किसानहरूलाई पटक–पटक यो जातको धान नलगाउन अनुरोध गरे पनि उनीहरूले जबरजस्ती लगाएका कारण यस्तो समस्या आएको हो । कुनै पनि हाइब्रिड जातको धान नियमित एउटै बारीमा लगाउँदा रोगको जोखिम बढ्दै जान्छ । किसानहरूलाई उन्नत जातको र सिफारिस गरिएको धानको बीउ लगाउन अनुरोध गरे पनि यो जातको धानको बीउको उत्पादन बढी हुने हुँदा यही लगाउँदै आएका हुन् । हाल चितवनमा चैते धान मात्रै सात हजार पाँच सय हेक्टरमा लगाइँदै आएको छ ।