परिवर्तनका धेरै कारणमा एउटा चाहिँ गतिशील निरन्तरता हो । समाज र प्रकृतिमा पनि थाहै नपाई फेरबदल आइरहन्छ । कतिपय परिवर्तन मौसमी हुने र कतिपयले लामो समय लिएर आफ्नो यथास्थिति बदल्ने रहेछन् । सामाजिक वा प्राकृतिक रुपान्तरण मानिसले आफ्नै आयुभित्र अनुभूति गर्छ । केही वर्षअघिका गाउँ अहिले उस्तै छैनन् । सहर, बजारमा पनि प्रतिदिन परिवर्तन आइरहन्छ, सूक्ष्म वा हठात् । गतिशील निरन्तरता परिवर्तनको स्थायी चरित्र हो । शब्दलाई पूर्वीय चिन्तनमा ब्रह्म भनिन्छ । यिनको प्रयोगमा समेत परिवर्तनको सूक्ष्म तर गहिरो अर्थ कारण रहन्छ ।
थाहै नपाएजस्तो हुने रुपान्तरण वा परिर्वतनबाहेक कुनै कारण हठात् र तीव्र घटना पनि परिवर्तन कारक हुन् । आन्दोलन र विपदहरुले समेत शीघ्र परिवर्तित परिणाम दिन्छन् । आन्दोलनले राजनीतिक परिवर्तन जति चाँडै गर्छ, सामाजिक,आर्थिक र सांस्कृतिक परिवर्तन भने उति नै ढिला वा बिस्तारै हुन्छ । सामाजिक र संस्कृतिका कतिपय पक्षमा भने विपद्ले चाँडै फेरबदल ल्याउने रहेछ । अर्थ व्यवस्था नकारात्मक हुनसक्छ ।
अहिले धेरै चिन्तकले कोरोना विषाणुको प्रकोप दुनियाँ चल्दै आएको प्रायः समग्र व्यवस्थापनमा रुपान्तरणको कारक बन्ने विश्लेषण गर्दैछन् । यतिबेलै पनि कोरोना विपद्ले हाम्रो सामाजिक र वैयक्तिक दिनचर्यामा प्रशस्त परिवर्तन भएको वा ल्याउनु परेको महसुस हुन्छ । महामारी र प्राकृतिक वा कुनै पनि प्रकारको विपद्ले परिवर्तनलाई अनिवार्य गर्ने रहेछ । त्यसको सीमा भने हुन्छ ।
सामाजिक, सांस्कृतिक र आर्थिक परिवर्तन चाहिँ क्रमशः हुने गर्छन् । छलाङ मारेको परिवर्तन सधैँ सकारात्मक हुन्छ भन्ने हँुदैन । कतिपय दुःखद र नकारात्मक हुन्छन् । प्राकृतिक ध्वंश वा आन्दोलन यस्तै कोटीमा पर्न सक्छन् । नेपालमा राजनीतिक आग्रहको प्रत्यक्ष आन्दोलन सुरु भएको आठ दशक भएको छ । यस अवधिको आन्दोलनले गणतन्त्रसम्म पुगेको स्थितिमा पनि सामाजिक, सांस्कृतिक र आर्थिक परिवर्तनको सकारात्मक र व्यापक अनुभूति हुँदैन । अनुभव र लिखतहरुले पनि यस्तै बोध गराउँछन् ।
विध्वंशक भुइँचालोले रहनसहनमा फेरबदल ल्यायो । एक दर्जनभन्दा बढी जिल्लाको आवास संस्कृतिमै फरक पार्यो । घर निर्माणको पारम्पारिक सोच र शैलीमा देशव्यापी परिवर्तन गरिदियो । बाढी, पहिरोजस्ता विपद्ले पनि स्थिति स्वरुपमा उलटपुलट गरिदिएको नेपालकै अनुभव हो । परिवर्तनको सीमा भने हुने गर्छ ।
अढाइ दशकअघिको भीषण बाढीले तराईका केही जिल्लामा पहिरन र खाद्य संस्कृतिमा रुपान्तरण गरिदिएको थियो । घरका सबै समान बगेपछि सहर, बजारबाट जुटाइएको सहयोगमा त्यहाँको पारम्परिक लबाइभन्दा भिन्न र खानेकुरामा ‘जंकफुड’ पुगेका थिए । त्यहाँ ती चिजले फराकिलो स्वीकृति पाए ।
दुःखद परिघटनाहरुले पनि दुनियाँमा धेरै फरक ल्याएको पाइन्छ । कुनै परिवर्तनको प्रभाव विश्वव्यापी हुने गर्छ । कोभिड — १९ विपद्को प्रभाव आर्थिक, सामाजिकलगायत विषयमा विश्वव्यापी हुने बताइदै मात्रै होइन, केही अनुभवमै आइसकेको छ । अश्वेत युवकको हत्याका कारण अमेरिका र अन्य मुलुकमा समेत विभेद (रंग) विरोधी आन्दोलन फैलियो । यो आन्दोलन सामाजिक सोचमा परिवर्तनको कारक हुने अमेरिकी आगामी चुनावका डेमोक्रेट उमेदवार जो वाइडेनको भनाइ यसैबीच आएको छ ।
नेपालमा राजनीतिक परिवर्तन खुबै भए पनि आर्थिक र सामाजिक क्षेत्रमा आन्दोलनको प्रभाव सुस्त र कम सकारात्मक छ । उदाहणका लागि माओवादी कम्युनिस्टले विभेदको अन्त्य र समानताको नारा दिएर गरेको दशक लामो हिंसात्मक आन्दोलनले विभेदको अन्त्य पनि गरेन छ र समानता पनि ल्याएन । बरु अर्को एउटा ठूलो सामन्ती समूह जब्बर बनायो ।
माओवादीको हिंसाले राजनीतिक परिवर्तन पनि गरेन, परिवर्तनका लागि शान्तिपूर्ण आन्दोलनमा आउन बाध्य भयो । माओवादीलाई अकुत कमाउने अवसरबाहेक हिंसाले गरेको असीमित ध्वंशको ठूलो अनुपातमा सकारात्मक रुपान्तरण न्यून रह्यो । माओवादीको प्रभाव क्षेत्र मानिने जिल्ला रुकुम, जाजरकोट (सोती–भेरी) को घटना सामाजिक मनःस्थितिको यस्तै निर्मम उदाहरण हो । माओवादी हिंसाले गहिरो गरी समुदायगत विभेद र घृणा बढाउने दुष्कर्म भने गर्यो ।
रुकुम सोतीको घटना प्रेमलाई वैवाहिक जीवनमा रुपान्तरित गर्ने उद्देश्य उत्पन्न हो । प्रश्न, प्रेमी कथित उपल्लो जातिका हुन्थे भने सायद् यो दुःखद घटना हुन्थेन कि ? । नवराज बिक दलित समुदायका युवक र युवती मल्ल थरकी । यहाँको निर्मम घटनामा छजना युवा मारिए र त्यति नै युवा गम्भीर घाइते छन् ।
माओवादी मिसिएर बनेको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सरकारले आजको मितिसम्म मृतकका परिवारलाई कुनै सहयोग र सहानुभूतिसम्म दिएको छैन । घाइतेहरु, ती मानसिक भय ग्रसितसमेत भनिन्छन्को उपचारमा पनि कुनै वास्ता गरेको छैन । राज्यको तर्फबाट निष्पक्ष छानवीन र न्याय हुने विश्वाससमेत पीडितलाई लागेको छैन । किन ?
सोती भेरीको घटनाले विभेद र समुदायमा घृणा अझ घनीभूत बनाउने देखिँदैछ । विभेदलाई राजनीतिक संरक्षण भएपछि विभेद हट्ने भएन, संरक्षित हुने भयो । यस घटनाको राजनीतिमा सरकारी कम्युनिस्ट र आरोपित समुदायमा एउटै थरका धेरै व्यक्तिहरु देखिएका छन् । रचित भयानक घटनालाई यी दुवैथरी सामान्यीकरणमा लागेका छन् । दोषी बचाउन सरकारी कम्युनिस्टहरु नै रक्षाकवच बनेको राजनीतिले अन्यायी विभेदलाई बचाई रहने भयो ।
राजनीतिले बचाएको विभेदमा विभाजित नभएको समुदाय पनि छ भन्ने उदाहरणसमेत यो घटना हो । अनुसन्धानका लागि घटनास्थल पुग्नेहरुका अनुसार जाजरकोटबाट नवराज बिककी प्रेमिका लिन रुकुम सोती गएको १९ जनाको टोलीमा मारिने र घाइते गरी नौजना अन्य समुदायका रहेछन् । यो कुनै समुदाय लक्षितभन्दा पनि प्रेमी दलित समुदायको हुनु घटनाको कारक हुनुपर्छ । राजनीतिक संरक्षणले विद्यमान निन्दनीय विभेदलाई अरु जब्बर चाहिँ बनाउने भयो ।
युद्धको नाममा दलितहरुलाई मारकाटको अघिल्लो मोर्चामा उभ्याएर विभेद अन्त्य गर्ने उद्घोष गरेका नेता तत्कालीन ‘प्रचण्ड’ यस विषयमा किन मौन छन् ? कम्युनिस्ट सरकारका प्रधानमन्त्रीदेखि यो पार्टीका कुनै पनि शीर्ष नेताको मुख स्पष्ट खुलेको छैन रुकुम घटनामा । एमसीसीमा चाहिने नचाहिने तर्क व्यक्त हुने मुखहरु रुकुम, भेरीको जघन्य घटनामा किन चुप हो ?
घटनाको ११ दिनपछि मात्र, त्यो पनि सामाजिक टिप्पणीले बाध्य भएर निकालिएको नेकपाको विज्ञप्तिले नै विभेदको संस्कार बोकेको देखायो । ‘सोलोडोलो’मा यस्ता घटनादेखि भ्रष्टाचारसम्मको छानबिन हुने र कारबाही गरिने प्रधानमन्त्रीको भनाइ सुनिन्छ तर परिणाम हत्याहिंसा बढेको छ, विभेदजन्य घटना थपिएका र भ्रष्टाचार सरकार संरक्षित भएको छ ।
भ्रष्टाचारमा मन्त्री वा सरकारका अधिकारी लागेका घटना छन् । तिनकै संरक्षणको लागि प्रधानमन्त्री बोल्छन् । राज्यको चरित्रमा भ्रष्टाचारलाई संस्थागत गरिएको र हुँदाहुदा नेपाली सेना समेत आर्थिक अनियमिततामा मुछिएको समाचार सार्वजनिक भएका छन् । समाचारमात्रै होइन, स्वयं सेनाको संयन्त्रले गरेको छानवीनमा पूर्व वा वर्तमान सैनिक अधिकारी दोषी भेटिएका र दण्डित गरिएका घटनाले पनि सेनाभित्रको भ्रष्टाचारलाई सतहमा ल्याएको छ । जुन नकारात्मक परिवर्तनका उद्घाटित दृश्य हुन् ।
समुदायमा विद्यमान विभेदलाई राजनीतिक संरक्षणले र भ्रष्टाचारले धनी र गरिबबीचको खाडलको दूरी अझै फराकिलो पार्ने भयो । समुदायहरुमा समानता बोध गर्न, गराउन चाहनेको प्रयास विभेद वा वैमनश्य कायम गर्नेहरुको बलमा दमित हुँदैछ । माओवादी हिंसामा दिइएको नाराले उत्प्रेरित भएका माओवादी बुद्धिजीवी (माबुजी, वाबुजी)हरुले भारतीय स्वतन्त्रताको संग्रामी इतिहासमा प्रयोग भएका शब्दहरु नेपाली प्रचलनमा खुब ल्याए । पश्चगामी यस्तै शब्द हो भने अर्को शब्द ‘ब्राह्मणवाद’ जोर लगाएर स्थापित गर्न खोजे ।
जसरी दलित शब्द सम्बोधन अस्वीकार्य हुनुपर्ने हो त्यसरी नै ब्राह्मणवाद पनि अस्वीकार्य छ । दलित स्वयं हीनतासूचक शब्द हो भने ‘ब्राह्मणवाद’ कुनै समुदायलाई होच्याउने वा घृणा गर्ने विभेद द्योतक शब्द हो । आफूलाई दलित नेता भन्न रुचाउनेहरुले नै दलित शब्द किन सहर्ष स्वीकार गरे ? के अन्य राम्रो शब्द फेला परेन ? यस्ता शब्दहरुको सहाराले विभेद कम गर्न सहयोग पुर्याउँदैनन् । शब्दको विभेदजन्य नाकारात्मकता सोती–भेरीको घटना लक्षित सामाजिक सञ्जाल लगायतमा आएका धारणाको पक्ष विपक्षले पनि देखायो ।
ब्राह्मण समुदायका मानिसहरुको प्रगति र पढाइले जन्माएको ईष्र्या र केहीको शोषणले उत्पन्न आक्रोशजन्य शब्द ‘क्वाइन’ गरिएको हो– ब्राह्मणवाद । यस्तो शब्द प्रयोगकर्तालाई आक्रोशको कीरा मरेको अनुभूति दियो होला भने केहीलाई आधुनिक वा समदर्शी भएको ढोंग गर्न मिल्यो । समुदायगत यस्ता कुनै पनि लघुताबोधक शब्द विभेद अन्त्य र सहिष्णु संस्कार कायम गर्न सहायक हुने छैनन् ।
विरोधपछि ब्राह्मणवादका रचयिताले यसलाई समुदाय होइन, प्रवृत्ति बोधक हो भनेर सफाइ दिने कोसिस गरेका छन् । सामन्ती र शोषक वा उचनिच प्रवृत्ति बुझाउने शब्द भन्ने उपाय यिनले निकालेका छन् । यसो भए त्यस्तो प्रवृत्ति कुन चाहिँ नेपाली समुदायमा छैन ? र ब्राह्मण समुदायलाई नै लक्षित गरी किन शब्द प्रयोग वा ‘क्वाइन’ गरियो ? यो शब्दभित्रको मानसिकता के हो ? समुदायहरु नेपाली यथार्थ हुन् र हाम्रो खोजी समुदायबीच र समुदायभित्रै हुने विभेदको निवारण हो । त्यसका लागि के यी शब्द सहायक बन्छन् ?
नेपालको सबै समुदायमा विद्यमान (आंशिक) कुप्रवृत्तिलाई बुझाउन वा त्यसको दोषभारी जति सबै ब्राह्मण समुदायलाई बोकाउन गरिएको यो शब्द चयन अहिलेको युगमा दुःखद र विभेदकारी द्योतक छ । त्यस्तो प्रवृत्तिलाई–सामान्तवाद, ठालुवाद, उचनीचवाद वा (कथित) उपल्लो जातिवाद जस्ता शब्द प्रयोग गर्न सकिन्थ्यो र यो प्रवृत्तिको अंश को, कुन समुदायमा के कसरी प्रभावी र हिस्सा बाँडिन्छ भन्ने समीक्षा गर्न मिल्थ्यो ।
अपराधलाई दिइने राजनीतिक संरक्षणले अन्ततः विभेदलाई पोषण मिल्छ — जस्तै रुकुम घटना । शब्द प्रयोगले समानता बुझाउने र कतिपयले विभेद वा पक्षपात प्रतिरोपणगर्ने हुँदा रहेछन् । दलित र ब्राह्मणवाद यस्तै नकारात्मक शब्द हुन् । सामाजिकलगायत जुनसुकै विषयमा पनि न्याय र समानता बोध गर्न चाहनेहरुलाई होच्याउने, तल्लो बुझाउने र दुत्कार्ने बोली मान्य छैन ।
शब्दले पनि परिवर्तनको संकेत गर्छ तर सूक्ष्म र गहिरो । विचार गरौँ – दलित र ब्राह्मणवाद जस्ता होच्याउने शब्दले सामाजिक वा वैयक्तिक सोचमा कस्तो प्रभाव राखेको होला ? सामाजिक अभियन्ताहरु सजग हुनुपर्छ र शब्द मानवीय सन्देश दिने सकारात्मक प्रयोग गरिनुपर्छ । शब्दको सकारात्मक वा नकारात्मक विभेद ख्याल नगरी गरिने ‘कुण्ठा प्रयोग’ नै सामाजिक विभेदको पूजक हो ।