काठमाडौं । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण अझै कायमै छ । विगत लामो समयदेखि नेपाली खेल क्षेत्र लकडाउकै कारणले स्थगित छन् । लकडाउन भएको करिब तीन महिना पुग्न लाग्दा खेलाडीले आफ्नो खेल यात्रालाई थाती राख्नुपरेको छ । यो समय खेलाडीहरूले खेललाई मात्र नभएर आफ्नो फिटनेसलाई पनि ध्यान दिन आवश्यक छ । तर, यो समय खेलाडी आफ्नो फिट्नेसलाई ध्यानमा राख्दै घरमै भए पनि सामान्य प्रशिक्षण गरिरहेका छन् ।
लामो समय खेल र प्रशिक्षणभन्दा बाहिर रहँदा खेलाडीहरू आफ्नो फिटनेस र लय गुम्नेमा चिन्तित छन् । अहिले खेलाडीहरूलाई राखेप र क्यान मिलेर सामान्य प्रशिक्षणसम्म गराउने माध्याम मिलाउने योजनामा छन् । लकडाउन खुल्नलगत्तै खेलाडीहरू सोही अवस्थामा भने आउन सक्ने अवस्था छैन । लकडाउनपछि एकैचोटि खेलाडीले खेल खेल्नुपर्यो भने उनीहरूलाई आफ्नो फिटनेसले साथ भने दिने छैन । त्यसका लागि खेलाडीहरूले आफ्नो फिटनेसमा एक महिना समय दिनुपर्ने हुन्छ ।
राष्ट्रिय क्रिकेट टोलीका फिजियोथेरापिस्ट विक्रम न्यौपाने खेलाडीको फिटनेसलाई कसरी छोटो समयमा पुरानै लयमा ल्याउन सकिन्छ भन्ने विषयमा सोचिरहेका छन् । उसो त उनले अलिहेको अवस्थामा पनि खेलाडीलाई सामान्य रूपमा प्रशिक्षण गर्न सुझाइरहेका छन् । न्यौपानेले खेलाडीलाई फिटनेस मात्र होइन खानेकुराको विषयमा पनि जानकारी दिइरहेका छन् ।
“लकडाउन भएको करिब तीन महिना भइसकेको छ । यो समयमा खेलाडीहरूले आफ्नो फिटनेसमा त्यति ध्यान दिन सक्ने अवस्था छैन । कतिपय खेलाडीले घरमै सामान्य प्रशिक्षण गरिरहेका छन् । केहीले नजिकै रहेको मैदान तथा खुला स्थानको साथ लिएका छन्,” न्यौपानेले बाह्रखरीसँग भने, “सबै खेलाडीलाई आफ्नो फिटनेसको चिन्ता भने यो समय धेरै छ । मैले अनलाइनका माध्यमबाट खेलाडीको फिटनेसको विषयमा जानकारी लिइरहेको छु । उनीहरूलाई कसरी यो समयमा उपलब्ध सामग्री प्रयोग गर्दै फिट सहन सकिन्छ भन्ने पनि सुझाएको छु ।”
न्यौपानेलाई अहिले खेलाडीको लकडाउनपछिको खेल यात्राको विषयमा चिन्ता छ । खेलाडीहरूले लकडाउनपछि पनि पुरानै अवस्थामा खेल खेल्न सक्ने वातावरण कसरी बनाउने भन्ने विषयमा उनी जुटेका छन् । खेलाडीहरू पुरानै अवस्थामा खेल खेल्न सक्ने बनाउन करिब एक महिनाको समय आवश्यक पर्ने उनी बताउँछन् ।
सातै प्रदेशमा प्रशिक्षक नियुक्त गर्ने क्यानको तयारी
“लकडाउन सकिएलगत्तै खेलाडीहरूको फिटनेसमा प्राथमिकता दिइनेछ । खेलाडीहरू पुरानै अवस्थामा आएर खेल्न सक्ने वातावरण बनाउन करिब एक महिनाजति लाग्छ होला,” उनले भने, “त्यसपछि खेलाडीहरू पुरानै अवस्थामा खेल्न सक्ने हुनेछन् । अहिले घरमै सामान्य प्रशिक्षण गरिरहेका खेलाडीहरूलाई भने त्यो समयमा धेरै फाइदा हुनेछ । त्यसलै बसै खेलाडीलाई मैले व्यक्तिगत रूपमा पनि सेल्फ प्रशिक्षणका लागि सुझाइरहेको हुन्छु ।”
न्यौपानेले हाल खेलाडीहरूलाई फिटनेस मात्र नभएर खानपिनको विषयमा पनि सतर्कता अपनाउन सुझाउँछन् । उनले यो समयमा खेलाडीले कस्तो प्रकारको खानपिन गर्दा सहज हुन्छ र शरीरलाई फाइदा हुन्छ भन्ने विषयमा पनि ध्यान दिन्छन् ।